-टिप्पणीराधिका जोशीकाठमाडौं ।
–भदौ २६ गते रौतहटको चन्द्रपुरमा सम्झनाकुमारी दास र बहिनीमाथि एसिड प्रहार । उपचारक्रममा सम्झनाको आइतबार मृत्यु ।
– असोज २ गते अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकमाथि एसिड प्रहार गरी हत्या ।
– असोज ८ गते सोमवार राति ८ बजे नवलपरासीको कावासोती–१६ की वसन्ती परियारमाथि एसिड प्रहार ।
मुलुकमा एसिडको मदतमा प्रतिशोध साँध्ने अपराध बढ्दो छ । सम्झनाकी बहिनी सुस्मिता कीर्तिपुर अस्पतालमा ‘निको भएको दिन’ घोषणा कुरिरहेकी छिन् । तीजको दरखाने दिन सम्झनाले यौन प्रस्ताव नमानेको प्रतिशोधमा छिमेकी रामबहादुर पासवानले एसिड छर्के ।
अछाममा स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई काकी जानकी बयकले हत्या गरेको खुलासा भएको छ । मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी कराएको सुनेर हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्य चौकी लगियो । त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पु¥याइयो । मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदा बुधबार बालकको मृत्यु भयो । आरोपीले बालकमाथि गरेको कसुर स्वीकार गरिसकेकी छिन् ।
सोमबार राति ८ बजे नवलपरासीको कावासोती–८ की वसन्ती परियारमाथि एसिड प्रहार भयो । बजारबाट फर्किँदै गर्दा वसन्तीमाथि छुरा प्रहारपछि एसिड हानिएको हो । छिमेकी ३७ वर्षीय बिमल श्रीपालीले बसन्तीसँग विवाह प्रस्ताव राख्दा नमानेको भन्दै एसिड प्रहार गरेका थिए । प्रहरीको अनुसन्धानमा श्रीपालीले केही साताअगाडि नै भारतबाट एसिड किनेर ल्याएको खुल्न आएको छ । पक्राउ परेकाले तीजको समयमा भारत गएको बेला एसिड किनेर घरमा ल्याएको प्रहरीको भनाइ छ ।
उसो त पीडित महिला र अभियुक्त दुवै विवाहित हुन् । अभियुक्त श्रीपालीको श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि बसन्तीसँग विवाह प्रस्ताव राखेका थिए । तर उनको प्रस्ताव सफल हुन नसकेपछि बसन्तीलाई नै सखाप पार्ने सोच बनाए र खन्याए एसिड । चितवनस्थित भरतपुर अस्पतालमा उपचारार्थ बसन्तीको अवस्था गम्भीर छ । र, अभियुक्त नवलपरासी प्रहरीको हिरासतमा छन् । उसो त तीन ओटै घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्रेर हिरासतमा राखेको छ । तर पनि यस्ता जघन्य अपराधका घट्ना बढ्दो छ ।
मुलुकी अपराध संहिताको १ सय ९३ को उपदफा २ मा (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारे पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाखरुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । त्यस्तै, शरीरको अन्य अङ्ग कुरुप पारे वा जिउमा पीडा गराए तीनदेखि आठ वर्ष कैद र पचास हजारदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गरिने र जरिवाना बापतको पूरै रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ । तर ऐन कानुनले जे जस्तो भने पनि हाम्रो समाजमा अपराधीलाई उन्मुक्ति दिने क्रम पनि बढ्दो छ ।
कानुनको धज्जी उडाउने गरी ठाउँको ठाउँ प्रमाण नष्ट गरिन्छन् । घट्नामा दोषी ठहरिएका मुख्य अभियुक्तलाई ढाकछोप गरिन्छ । हुदै नभएको अभियुक्त भनेर बलीको बोका बनाएर सार्वजनिक गरिन्छ । अनि कसरी रोकिन्छन् हत्या र हिंसाका घटनाहरु ? कसरी रोकिन्छन् बलात्कारका घट्नाहहरु ? कसरी सजग हुन्छन् अपराधीहरु ? हामीले हाम्रो समाजलाई यो कस्तो नैतिक शिक्षा दिइरहेका छौँ, एकपटक सोच्नै पर्ने देखिन्छ ।