संयोग नेपालकाठमाडौं । चर्चित गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको जन्म पाल्पाको दुर्गमा गाउँमा भयो । मगर बस्तीमा जन्मिएका रायमाझीले सानैदेखि मगर समुदायको रीतिरिवाज र संस्कृति देख्न पाए । विभिन्न सांस्कृतिक रमझम र नाच्ने गाउने परम्परा मन पराउने मगर समुदायमा हुर्किएका रायमाझीमा पनि त्यो गुणले बास ग¥यो । बाल्यकालदेखि नै गीतसंगीतमा भिजिसकेका रायमाझीलाई सानैदेखि गीत गाउन खुब मनपर्थ्यो । उमेर बढेसँगै गाउँका रोधीघरमा रायमाझीले गाउन थाले । रोधीघरमा गाउँदै गर्दा राजधानी छिरेर रेडियोमा गीत गाउने भोक चढ्यो । त्यतिबेला नेपालमा गीत रेकर्ड गराउने र सुन्ने माध्यम रेडियो नेपाल मात्र थियो । रेडियो नेपालमा गीत गाउने रहर नारायणमा पनि जाग्यो । ‘खासमा गीत गाउनै काठमाडौं आउन मन लागेको हो,’ नारायण भन्छन्, ‘रेडियोमा जान्छु अनि गीत रेकर्ड गर्छु भन्ने सोचले काठमाडौं आएँ ।’ अध्यन लगायत अन्य सुविधा गाउँमा छँदाछँदै नारायण काठमाडौं आए, त्यो पनि गीत गाउन मात्र ।
पहिलो गीत रेकर्डःत्यतिबेला काठमाडौंमा एकमात्र गीत रेकर्ड गर्ने ठाउँ थियो, त्यो हो रेडियो नेपाल । राजधानी आएर अन्य काम गर्दै रायमाझीले रेडियो नेपालको स्वर परीक्षा दिए । स्वर परीक्षामा पास भएपछि गीत रेकर्डका लागि सेन्सरमा गीत पठाइयो । गीतले सेन्सर पास गरेपछि नारायणले पहिलो गीत रेकर्ड गराउन पाए २०४३ सालमा । गीत रेकर्ड गराउन पाएको खुसी एकातिर थियो भने अर्कोतिर गीत कहिले प्रसारण हुन्छ भन्ने तनावले पेट पोल्न थालिसकेको थियो ।
पहिलो गीत प्रसारण भएका दिन नारायणलाई खुब लाज लाग्यो । त्यसपछि उनले आफूले अझै संगीत सिक्न बाँकी रहेको महसुस गरे अनि संगीत सिक्न थाले । संगीत सिक्दै गर्दा उनले रेकर्ड गराएको पहिलो गीत ‘मलाइ सम्झी नरोऊ है आमा’ बोलको गीतले देशव्यापी चर्चा कमाउन थालिसकेको थियो । ‘गीतलाई रेडियो नेपालको केन्द्रीय प्रसारण मात्र नभएर पाँचै क्षेत्रीय प्रसारणबाट दिनमा २ पटकसम्म फर्माइस आउँथ्यो,’ नारायण खुसी हुँदै सुनाउँछन् । नारायणले पहिलो गीत रेकर्ड गराउने बेलासम्म नेपालमा क्यासेटको प्रचलन आइसकेको थिएन । त्यतिबेलासम्म कसैले गीत सुन्न चाहे प्रयोग गर्ने एकमात्र माध्यम रेडियो नेपाल मात्र थियो ।
२०५० पछि मात्र नेपालमा अडियो क्यासेट प्रचलनमा आयो । त्यसपछि नारायणका गीत क्यासेटमा आउन थाले । पहिलोपटक रेकर्ड गराएको गीत ‘मलाइ सम्झी नरोऊ है आमा’ लाई अलि लामो बनाए । अनि क्यासेटमा भरेर बिक्री गरे । ७ वर्ष पहिला रेकर्ड भएको गीतको क्यासेट, पछि पनि उत्तिकै बिक्री भएको नारायण सम्झछन् ।
यसरी खुल्यो रीमा इन्टरटेन्मेन्टक्यासेटमा गीतसंगीत बिक्री हुन थालेपछि नारायणलाई विभिन्न क्यासेट कम्पनीबाट गीत गाइदिन अफर आउन थाले । उनले भ्याए जति गीत गाउने गर्थे । गीत गाउँदै गर्दा नारायणको ख्याति देशमा मात्र नभएर नेपालीको बसोबास रहने अन्य देशमा पनि भइसकेको थियो । अब उनलाई विदेशका विभिन्न कार्यक्रमबाट पनि गीत गाउने अफर आउन थाल्यो ।
सांस्कृतिक कार्यक्रमका लागि तीनमहिना जापान गएका रायमाझीले त्यहाँबाट आएको पारिश्रमिकबाट रेकर्डिङका सामान किनेर ल्याए । नारायणले आफ्नै रेकर्डिङ स्टुडियो खोल्ने सपना पहिल्यैदेखि बुनेका थिए, जरुरत थियो एउटा उचित समयको । र, त्यो समय पनि आयो ।
आफ्नो गाउने रहर पूरा गर्न खोलेको रेकर्डिङ स्टुडियो विस्तारै व्यावसायिक हुँदै गयो । त्यतिबेला काठमाडौंमै एकदमै कम स्टुडियोमात्र भएकाले साथीभाइले पनि उनकै स्टुडियोमा आएर गीत गाउन थाले । स्टुडियो एकदमै व्यावसायिक हुँदा रायमाझीले आफ्ना गीतमा समय दिनै पाएनन् । स्टुडियोको काम उनी आफैँले सम्हाल्थे ।
नारायण रायमाझीले ४ सयभन्दा बढी गीत गाइसकेका छन् । त्यसमध्ये उनी आफैँलाई मनपर्ने र दर्शकले अत्यधिक रुचाएका गीतको संख्या भने जम्मा ३५–४० को हाराहारीमा छ ।
लाइछौ बेसन‘लाइछौ बेसन’ एक समयको चर्चित गीत । २०६१ मा गीत सार्वजनिक हुदाँ नेपालको शहरी इलाकामा भर्खर–भर्खर पाइन्ट लगाउन सुरु भएको थियो । गीत सार्वजनिक भएको छोटो समयमै एकदमै राम्रो व्यापार गरेको थियो । क्यासेट बिक्री हुने समयमा आएको गीतले गीतका स्रस्टाहरुले पनि राम्रो आम्दानी गरे । प्रायःजसो गीत भेगीय हिसाबमा चलिरहेको समयमा ‘लाइछौ बेसन’ले देशव्यापी रुपमा ख्याती कमायो । गाउँघर, मेलापात, रेडियो र टेलिभिजनमा पनि ‘लाइछौ बेसन’ले राम्रो स्थान पायो ।
‘लाइछौ बेसन’को रिमेकअहिले ‘लाइछौ बेसन’को रिमेक युट्युबमा सार्वजनिक भएको छ । गायक रायमाझीकै आफ्नै कम्पनी रीमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शकले पहिला जत्तिकै मन पराएका छन् । ५ दिनअघि सार्वजनिक भएको गीतको भिडियो युट्युब ट्रेन्डिङमा छ ।
आफ्ना गीत इन्टरनेटमा खोज्दा नपाएपछि धेरै दर्शकले गीतबारे चासो राखेको गायक तथा संगीकार रायमाझी सुनाउछन् । पहिला धेरै चलेका गीत फेरि सुन्न पाउँ भन्दै धेरै दर्शकको अनुरोधपछि ‘लाइछौ बेसन’को रिमेक बनाउने सोच आएको रायामाझीले बताए । गीतको रिमेक भएतापनि यसका शब्दहरुमा कुनै परिवर्तन नगरिएको राममाझीको भनाइ छ । ‘गीतलाई पुनः एरेन्ज गरिएको छ’ रायमाझी भन्छन्, ‘फेसनसँग सम्बन्धित गीत भएकाले केही बाजा परिवर्तन गरेका छौँ ।’
दर्शकबाट गीतलाई मिलेको प्रतिक्रियाबाट गायक रायमाझी एकदमै सन्तुष्ट छन् । यो गीत दर्शकहरुले यति धेरै माया गर्ने कुरामा रायमाझी विश्वस्त थिएनन् । ‘यो गीत यति धेरै चल्छ भन्ने नै लागेको थिएन,’ जनतासमाचारसँग रायमाझीले भने, ‘२०७५ को नयाँ वर्षमा सार्वजनिक गर्ने सोच थियो तर आफैँलाई चित्त नबुझेकाले सार्वजनिक गरेनौँ ।’ २०७४ को शुरुवातमा अडियो फाइनल भएको गीतलाई नारायणले गतवर्षकै चैतमा फाइनल गरिसकेका थिए । अहिले भने गीतका केही सिन परिवर्तन गरेर सार्वजनिक गरेको उनी बताउँछन् । अझै पनि भिडियोबाट आफू सन्तुष्ट नरहेको उनको भनाइ छ । धेरै मेहनत गरेर आफ्नो इमानदारिता निभाएर काम गर्दा त्यस्तो कामलाई सबैले मन पराउने नारायणको विश्वास छ ।
चलचित्र निर्देशकगायक तथा संगीतकार नारायण रायमाझी केही वर्षदेखि चलचित्र निर्देशकका रुपमा पनि चिनिए । उनले बनाएका दुई चलचित्र ‘गोरखा पल्टन’ र ‘परदेशी’ दुवै सुपरहिट भए । विशेषतः सामाजिक कथाबस्तुमा चलचित्र बनाउन रुचाउने रायमाझीले करिब ८ वर्षअघि चलचित्र ‘गोरखा पल्टन’बाट चलचित्रमा हात हाले । त्यतिबेला ‘इन्डियन आइडल’बाट खुब चर्चा बटुलेका प्रशान्त तामाङलाई लिएर रायमाझीले ‘गोरखा पल्टन’ बनाएका थिए । प्रदर्शनमा आउनुअघि नै चलचित्रको गीतको व्यापक चर्चा भइसकेको थियो । पछि चलचित्रले पनि बम्पर व्यापार गर्यो । त्यसको ४ वर्षपछि रायमाझीको दोश्रो चलचित्र ‘परदेशी’ प्रदर्शनमा आयो । ‘परदेशी’ले पनि दर्शकमाझ गज्जबको छाप छोड्यो र चलचित्रलाई एउटा ‘हाइप’ दियो ।
निर्देशन गरेका दुवै चलचित्र हिट भइसकेपछि उनलाई अब चलचित्र निर्देशनको पनि अफर आउन थाल्यो । ‘कुनै समय त एकैदिन ४ वटा सम्म चलचित्र निर्देशन गर्ने अफर आउँथ्यो’ रायमाझी भन्छन्, ‘मिटिङ हुन्थ्यो, कहिले स्क्रिप्ट चित्त बुझ्दैनथ्यो, कहिले निर्मातासँग कुरा मिल्दैनथ्यो ।’ यद्यपि रायमाझीले अझै पनि राम्रो स्क्रिप्ट आए अरुको चलचित्रमा काम गर्न सकिने सुनाए ।
अगामी योजनाःगायक, संगीतकार तथा चलचित्र निर्देशक रायमाझी चलचित्र र गीतसंगीत क्षेत्रमै लागिरहने बताउँछन् । ‘अहिले आगामी चलचित्रको स्क्रिप्टको काम र पुराना गीतलाई सार्वजनिक गर्ने सोचमा छु,’ रायमाझी भन्छन्, ‘अबको केही महिना रीमा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मेरो पहिलाको गीत र नयाँ गीत सार्वजनिक हुनेछन् ।’ आफ्नो च्यानलबाट प्रत्येक हप्ता नयाँ तथा पुराना गीत सार्वजनिक हुने रायमाझीको भनाइ छ । अब अर्को वर्ष मात्रै उनको नयाँ चलचित्र दर्शकले हेर्न पाउने भएका छन् ।
https://www.youtube.com/watch?v=PjrB4Xlbwv8