काठमाडौं । कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा फेरि नयाँ ट्विस्ट आएको छ । प्रहरीको अनुसन्धानलाई लिएर गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बुधबार सार्वजनिक गर्नुभएको भनाइप्रति धेरैलाई गम्भीर तुल्याएको छ । प्रहरी अधिकारीहरुकै लापरवाहीका कारण घटना अनुसन्धानमा त्रुटि भएको उहाँको संकेत थियो । घटनालाई दबाउन, तोडमोड गर्न नक्कली औँठाछाप समेत भएको तर्फ गृहमन्त्रीले ईंगित गर्नुभएको थियो । हत्या गरिएकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तको औँठाछाप कसरी प्रहरी मुचुल्कामा भेटियो भन्ने प्रश्नको जवाफ छानबिन समितिले खोजेको छ, भने यज्ञराज पन्तले आफू निर्मला हत्या भएको दोस्रो दिन मात्रै नेपाल आएको बताएका छन् ।
गृहमन्त्रीको नयाँ खुलासाः
बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले प्रहरीको अनुसन्धानमा भएको तोडमोडबारे समितिमा व्याख्या गरिरहँदा प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि त्यही हुनुहुन्थ्यो । घटनामा जे भयो, त्यो प्रहरीको कमाण्ड सम्हालेका खनाललाई पनि सही जानकारी नदिएर छानबिन भयो बी भन्ने प्रश्न पनि उब्जेको छ । प्रहरीले जतिबेला अभियुक्त भन्दै त्यहाँका स्थानीय दिलिप सिंह बिष्टलाई सार्वजनिक ग¥यो त्यतिबेलै कञ्चनपुरमा आन्दोलनले उग्र रुप लिइसकेको थियो । प्रहरीले अनुसन्धानका क्रममा दिलिपसिंहलाई सोधपुछका क्रममा बयान शंकास्पद लागेकाले बाँकी २४ दिन अनुसन्धान गर्नेगरी सार्वजनिक गरेको बताएको थियो । यता, कञ्चनपुरका स्थानीयले अभियुक्त अर्कै रहेको भन्दै आन्दोलन चर्काएका थिए । प्रहरीले त्यहाँको जनदबाब थेग्न नसकेर अभियुक्त सार्वजनिक ग¥यो तर, कञ्चनपुर बासीलाई त्यो स्विकार्य भएन , अन्ततः दिलिपसिंह बिष्टको डिएनए परिक्षणका क्रममा नमिल्दा सामान्य धरौटीमा छुटेपनि ।
अर्को छानबिन समिति
सरकारले यसअघि छानबिनमा खटाइएका सीआइवीको टीमलाई निलम्बित ग¥यो र कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुुख डिल्लिराज बिष्ट समेत त्यससअघि नै निलम्बनमा परिसकेका थिए । त्यस लगत्तै गृहमन्त्रालयले घटना छानविन गर्न भदौ ७ गते कारागार व्यवस्थापन विभागका महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समितिले बनायो । जसले गएको मङ्गलवार बुझाएको प्रतिवेदनमा – प्रहरीले जिल्ला प्रशासन कार्यालयको स्वीकृति नै नलिएर गोली चलाएको उल्लेख गरेको छ । अनुसन्धानले प्रहरीको गल्ती देखियो । आखिर प्रमुख जिल्ला अधिकारीको आदेशविनै प्रहरीले गोली किन चलायो त ? भन्ने प्रश्न समितिको प्रतिवेदनले मागेको छ ।
संसद्को राज्य व्यवस्था समितिको बैठकमा बुधवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नै निर्मला प्रकरणमा प्रहरीले गल्ती गरेको स्वीकार गर्नुभयो । महानिरीक्षक खनालले स्थानीय प्रहरीले गैरव्यवसायिक क्रियाकलाप गर्दा सिंगो प्रहरी चुकेको बताउनुभयो । एसपी डिल्लीराज विष्टसहित सिआइवीका डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरीलाई निलम्बित गरिसकेको छ । अहिले प्रहरीले एआइजी धिरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले उनीहरूमाथि नै अनुसन्धान र बयान लिइरहेको छ ।
के हुनसक्छ अब ?
मुलुकी अपराध संहिताको दफा ९९(२) अनुसार गलत अनुसन्धान गर्ने प्रहरीलाई ६ महिना कैद तथा पाँच हजार रुपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था छ । संहितामा उल्लेख भए अनुसार कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले वदनीयतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन । त्यस्तै उपदफा (१) बमोजिमको कसुरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानी, नोक्सानी भएमा निजले त्यस्तो कसुरदारबाट क्षतिपूर्ति भराई लिनसक्ने समेत व्यवस्था गरिएको छ ।
के गर्दैछन् निलम्बित प्रहरी ?
एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले घटनाको छानबिन गर्न निलम्बित प्रहरी सहित १७ जनालाई प्रहरी प्रधान कार्यालयमा नै झिकाएको छ । एसपी विष्टको प्रहरीले डिएनए परीक्षण समेत गरिसकेको छ । तर, प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन । केही दिनदेखि हेडक्वार्टरमा नै घटनामा संलग्न प्रहरीको बयान तथा अनुसन्धान भइरहेको छ । बिहान १० बजे उनीहरू हेडक्वार्टर पुग्छन् । छानबिन समितिले दिनभर बयान र अनुसन्धान गर्छ । दिउँसो ५ बजेपछि उनीहरू निस्किने गरेका छन् । उनीहरूको मोबाइल जफत गरी फोनदेखि म्यासेज समेत हेरिएको छ ।