काठमाडौं । चलचित्र प्रचारप्रसारको लागि निर्माता–निर्देशकहरुले नयाँ–नयाँ तरिकाहरु अपनाइरहेका हुन्छन् । यस्तैक्रममा नयाँ उपाय अनपाउँदै चलचित्र ‘छक्का पञ्जा ३’ले प्रचारप्रसारको नयाँ काईदा सुरु गरेको छ । निर्माता तथा कलाकार त्रय दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले झगडा गरेको भिडियो सार्वजनिक गरेका छन् ।
भिडियोको सुरुवातमै चलचित्र ‘छक्का पन्जा ३’का निर्माता मध्येका एक जितु नेपालले जहिले मिटिङ बस्ने भन्यो अनी मोबाइल चलाएर बस्छन् भन्दै दुई निर्माता दिपकराज गिरी र केदार घिमिरेसँग आक्रोश पोख्छन् । यहीविचमा, केदार घिमिरे मिटिङ बस्ने भन्ने अनी २ घन्टा ढिलो आउने भनेर जितु नेपालसँग आक्रोश देखाउँछन् ।
यता, निर्माता दिपकराज गिरी आफूले एकछिन मोबाइल चलाउँदा के को रिस गरेको भन्दै जितु र केदारसँग रिसाउँछन् । घटस्थापनाको दिनमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’का मुख्य निर्मातात्रय दिपकराज गिरी, केदार घिमिरे र जितु नेपाल विचको झगडाको एउटा भिडियो अहिले युटुबमा हिट बनिरहेको छ ।
केदारले चलचित्र घटस्थापनामा रिलिज हुन्छ भन्ने नै दर्शकलाई थाहा नभएको भन्दै दीपकलाई प्रदर्शन मिति सार्नु अगाडि आफूहरुसँग सल्लाह नगरेको भन्दै गुनासो गरेका छन् । दीपकले भने आफू वार्ता बस्ने कि अरु पनि काम गर्ने भन्दै जितु र केदारले केही काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
दिपक, केदार र जितुको यो भिडियो हेर्दै जादा सुरुमा उनीहरुविच ठूलै विवाद भएको जस्तो लाग्छ । तर, भिडियोको अन्त्यमा आफूहरुले रमाइलो गरेको भन्दै उनीहरुले दर्शकलाई भिडियोको वास्तविकता खोलेका छन् । दिपाश्री निरौला निर्देशित यो चलचित्र असोज २४ गते घटस्थापनाबाट रिलिज हुँदैछ ।