हुमाकान्त पोखरेल
गुल्मी । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ गृहजिल्ला गुल्मी आउने भएका छन् । थापासँग शशस्त्र प्रहरीलका आइजिपी शैलेन्द्र खनाल, श्रीमती नैनाकला थापा, प्रेस सल्लाहकार सुर्य सुवेदी, स्वकिय सचिव पनि गुल्मी आउने कार्यक्रम छ ।
तम्घासमा शुक्रबारदेखी चल्ने स्वास्थ्य शिविरको अवलोकन तथा निरिक्षण र त्यसबारे जानकारी गृहमन्त्रीले लिनुहुने छ । त्यस्तै जन्मथलो मुसिकोट बडागाउँ जाने र त्यसपछि तम्घासमा जिल्लाको शान्ति सुरक्षाको स्थितिका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको नेकपा गुल्मीका प्रस्तावित सचिव बुद्धि जिसिले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालयमा शुक्रबारदेखि निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । शिविरमा मुटु, गाइनेलगायतका धेरै रोगको उपचार गरिने र शिविरको गृहमन्त्री थापाले निशिक्षण गर्ने संस्थाका कोषाध्यक्ष तारा भुसालले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिका वडा नम्बर ४ साविकको वडागाउँ वडा नम्बर २ तल्लो दर्जाकोट गृहमन्त्री थापाको जन्मथलो हो । मुसिकोट नगरपालिकामा जन्मथलो भएको ब्यक्ति राजनीतिक हिसाबमा सबैभन्दा उच्च ओहोदामा पुग्ने बादल पहिलो ब्यक्ति हुन् । मुसिकोटमा उनलाई नागरिकको तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ । त्यसपछि गृहमन्त्रीले त्यहाँ भएका आफन्त भेट्ने र दर्जाकोटका अगलागि पीडितको अवस्थाका बारेमा पनि जानकारी लिने कार्यक्रम रहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयाे । दर्जाकोटमा अगालागि भएका कुल ५७ घरमध्ये ३० घर पूर्णरुपमा बनिसकेका छन् । बाँकी २७ घर यो वर्षभरीमा बनिसक्ने नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकामा हालसम्म पनि इलाका प्रहरी कार्यालय छैन । यसै कुरालाई मध्यनजर राख्दै नगरपालिकाको तर्फबाट गृहमन्त्रीसमक्ष इलाका प्रहरी चौकीको माग गर्ने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयाे ।
को हुन् गृहमन्त्री बादल ?
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् रामबहादुर थापा ’वादल’ माओवादी सचिवालय सदस्य एवं माओवादीमा सैन्य कौशलका सबैभन्दा प्रख्यात ब्यक्ति हुनुहुन्छ । ५३ वर्षीय वादल भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा हुनुहुन्छ । थापा इन्जिनियर पढ्न तत्कालीन सोभियत युनियन जानुभएकाे थियाे । नेपालबाट आइएस्सी एजी गरेर थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर आए र लगत्तै भूमिगत राजनीतिमा होमिनुभयाे । २०३७ देखि राजनीतिमा होमिएका थापा २०६३ सालसम्म भूमिगत भएपछि माओवादी सरकार वार्ता टोलीको सदस्यको रूपमा दोस्रो वार्तामा उहाँ सार्वजनिकहुनुभएकाे हाे ।
गृहमन्त्री थापा जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समयसम्म मात्र बस्नुभएन, जनयुद्ध थालनीका समयमा त्यसलाई नेतृत्व पनि प्रदान गर्नुभएकाे थियाे । रोल्पा, रुकुम, पूर्वी नेपाल, पश्चिम नेपाललगायतका क्षेत्रमा तत्कालिन समयमा उनी धेरै खटेका नेता थिए । पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुन: पोलिटब्युरोमा पुग्ने उनी पार्टीका एकमात्र नेता भएको पूर्व माओवादी स्रोतले जानकारी दिएको छ । जन्मथलो गुल्मी भएपनि उहाँको स्थायी घर भने भरतपुर महानगरपालिका १० नारायणटारमा छ । उहाँका १ छोरा र १ छोरी छन् । श्रीमती नैनकला महिला आयोगकी अध्यक्ष हुनुहुन्छ । नैनकला नेपालको राजनीतिक इतिहासमा मगर जातिबाट मुलुकको सबैभन्दा ठूलो दलको मुख्य नेतृत्वमा पुग्ने पहिलो मगर नेता भएको स्रोतले जनाएको छ ।