काठमाडौं । गीतकार बिजय शिवाकोटीको चौथो तथा गायक दीप श्रेष्ठको नवौं एकल सांगीतिक एल्बम 'संग्रह' सार्वजनिक भएको छ। गीतकार शिवाकोटीको एकल रचना तथा गायक श्रेष्ठको एकल स्वरमा एल्बम 'संग्रह' सार्वजनिक भएको हो । एल्बममा चर्चित संगीतकारहरु दीपक जंगम, प्रकाश गुरुङ, राजु सिंह, निर्वाण योञ्जन र दीप श्रेष्ठको संगीत सिर्जना रहेको छ ।
गत बिहिवार राजधानीमा भएको लोकार्पण कार्यक्रममा गायक दीप श्रेष्ठसंग सहयात्रा गर्ने लामो समयदेखिको सपना साकार भएकोमा गीतकार शिवाकोटीले खुशी व्यक्त गरेका छन् । शिवाकोटीले आफूले रचना गरेको शब्दमा गायक श्रेष्ठको आवाजलाई समेट्न पाउँदा आफ्नो शब्दको गरिमा बढेको बताए ।
एल्बममा तिम्रो यादमा जून टोलाउँदा टोलाउँदै, पारि थियो यौटा सल्लाको रुख, सबै आफ्नो भन्नु मात्रै, तिम्रो जस्तै अनुहार, फेरि तीनै खुशीहरु र मैले जीवन दिँदा गरी कूल ६ गीतहरु संग्रहित छन् । जसमध्ये फेरि तीनै खुशीहरु गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो। भिडियोको राजेश श्रेष्ठले निर्देशन गरेका हुन् । १/१ गरी रेकर्ड गरिएका कूल ६ गीतहरु तयार हुन १५ वर्ष लाग्यो ।
कार्यक्रममा अग्रज स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दीपक खरेल, गीतकार किरण खरेल तथा संगीतकारहरु दीपक जंगम र प्रकाश गुरुङलाई सम्मान पत्र सहित १० हजार ५ रुपैयाँ नगद समेत प्रदान गरिएको थियो ।
नेपाली संगीत क्षेत्रका लागि उक्त एल्बम उत्कृष्ट सिर्जना भएको संगीतकार दीपक जंगमले बताए । आधा शताब्दी नेपाली संगीत क्षेत्रमा बिताईसकेका गायक दीप श्रेष्ठले गीतकार सिवाकोटीका सिर्जनाहरु सशक्त तथा चर्चित भएपनि गीतकार भने ओझेलमा परिरहेकोमा गुनासो पोखे ।
कार्यक्रममा साहित्यकार डा.तारानाथ शर्मा, संगीतकार शक्ति बल्लभ, संगीतकार आलोक श्री लगायतका संगीतकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । एल्बमलाई म्यानहटन म्यूजिकले बजारमा ल्याएको हो । पेशाले आईटी ईन्जिनियर तथा जिआरई, जिम्याट तथा आईईएलटिएसका ईन्स्ट्रक्टर गीतकार शिवाकोटीका १६० बढि गीतहरु रेकर्ड भैसकेका छन् ।