भूमिराज पराजुली दमक । सुन्दा अचम्म लाग्न सक्छ । एउटै बिद्यालयमा १० जोडी बिद्यार्थी पढ्छन् भनेर । बिद्यालयले जिल्लभरीका जुम्ल्याहा बिद्यार्थी पढाएर आफ्नो छुट्टै पहिचान पो खोजेको हो कि भन्ने कतिले अनुमान पनि गर्न सक्छन् । तर झापाको लक्ष्मीप्रसाद देवकोटा माविले न जिल्ला भरीका जुम्ल्याहा बिद्यार्थी खोजेर ल्याएर पढाएको हो न कुनै पहिचान नै बदल्न खोजेको हो । संयोगले यसै गाउँमा १० जुम्ल्याहा बालबालिका रहेको र सबैले बिना योजना नै यहाँ भर्ना गराएका रहेछन् । न कसैले बिद्यालयको पहिचानका लागि भनेर यहाँ भर्ना गरेका हुन् न ठाउँको पहिचानका लागि । तर अहिले भैदियो यस्तै । झापाको कचनपवल गाउँपालिका वडा नं २ सुकुनाडिकीमा रहेको यो बिद्यालयमा १० जोडी जुम्ल्याहा बिद्यार्थी पढिरहेका छन् ।
पूर्वपश्चिम राजमार्गमा पर्ने विर्तामोडबाट करिव ३५ किलोमिटर दक्षिणमा रहेको यस विद्यालयमा अनौठो संयोग जुरेको हो । २०२७ सालमा स्थापित यस विद्यालयमा १० जोडी जुम्ल्याहा अध्ययन गर्छन् । यही विद्यालयमा हाल कक्षा–५ मा अध्ययनरत गंगा र जमूना गौतम अहिले पाँच कक्षामा पढ्छन् । अनुहार, शारीरिक बनावट ठ्याक्कै एउटै छ । उनीहरुलाई एक दुई पटक देखेका र बोलेकाले फेरी देख्दा पहिचान गर्न नसक्ने मात्र हैन । हरेक दिन आएर कक्षा कोठामा पढाउने र एउटै बेञ्चमा बसेर बढ्ने साथीहरुले समेत अझैसम्म अनुहार हेरेर गंगा र जमुना छुट््याउन सक्दैनन् । साथी र शिक्षकहरुले समेत यसरी यकिनका साथ छुट्याउन नसकेपछि गत वर्षको परिक्षामा प्रथम भएकी गंगा पुरस्कार लिन जाँदा बहिनीलाई पठाईन । दिदीको भन्दा ३ अंक कम ल्याएर दास्रो भएकी जमुना दिदी गंगाको पुरस्कार थापिन् भने दिदीले बहिनीको दास्रो भएको पुरस्कार थापिन् ।
बहिनी भन्दा दिदीले अन्य केही बिदामा समेत प्रथम भएका कारण अन्य पुरस्कार पाउने भएकोले बहिनीलाई उक्त पुरस्कार लिन भनेको दिदी गंगाले बताईन् । तर दिदीको पुरस्कार लिन बहिनी मञ्चमा पुग्दा न पुरस्कार दिनेले थाह पाए न सँगै बस्ने साथीहरुले नै । त्यसै गरी कक्षा–१ मा अध्ययनरत गंगा–जमूना मूर्मू मध्ये प्रायः एक जनामात्रै विद्यालय आउँछन् । एक आउँदा अर्कोले घरको काम गर्छन् । परिवार विपन्न र आमा पनि नभएकाले उनीहरु पालैपालो विद्यालय आउँछन् । तर कुन दिन को आयो, कुन दिन को आयो शिक्षकहरुले छुट्याउँदैनन् । प्रधानाध्यापक हेमलाल आचार्य भन्छन्–‘विद्यार्थी नआए पछि हिजो किन नआएको भनेर सोध्नु प¥यो, तर कहिले मत आँए दिदीपो नआएको भन्छन्, कहिले बहिनी पो नआएको भन्छन्, छुट्याउनै गाह्रो ।’ अनुहार नछु्ट्एिकै कारण यस्ता संयोग यो विद्यालयमा भई रहन्छन् । नहुन् पनि कसरी १÷२ जोडी होईन, १० जुम्ल्याहा अध्ययन्रत छन् यस विद्यालयमा ।
चिन्ने माध्यम रोल नं.सवै भन्दा बढि समस्या त कक्षा–५ मा पर्छ । यहि कक्षामा ३ जोडी जुम्ल्याहा अध्ययरत छन् । लुगा,बोली, बानी, उचाई, वर्ण सवै उस्तै भए पछि साथी र शिक्षकहरुले छुट्याउन सक्दैनन् । त्यसैले उनीहरुलाई छुट्याउने आधार भनेकै रोल नम्बर हो । शिक्षक मेघनाथ दाहाल भन्छन्–‘जति गरे पनि झुक्किहालिन्छ, त्यसैले जुम्ल्याहालाई चाँहि नामा होईन, रोल नम्बरका आधारमा बोलाईन्छ ।’ कक्षा–५ पढ्ने गंगाको ४८ र जमुना गौतमको ४९ हो रोल नम्बर । यस्तै लक्ष्मीको ३ र पूजा गणेशको १ अनि भिष्मको २२ र भिम सुवेदीको २४ रोल नम्बर हो । यहि रोल नम्बरले मात्र उनीहरु छुट्टिन्छन्, नत्र एक व्यक्तिका दुई आकृति जस्तो लाग्छ सवैलाई ।
बिना योजना जुम्ल्याहाको जमघट
यस विद्यालयले जुम्ल्याहा सन्तान विद्यालय भर्ना गराउनकै लागि कुनै योजना चलाएको भने होईन । संयोगबसनै यहाँ १० जोडी जुम्ल्याहाको जमघट भएको बताउँछन्, विद्यालयका प्राथमिक तहका प्रमुख शिक्षक शेरबहादुर थापा । ‘कहाँ कसको घरमा जुम्ल्याहा छन् हामीलाई थाह हुने कुरा त भएन’ उनले भने–‘तर फाट्ट फुट्ट आउँदा आउँदै अहिले त १० जोडीपो भई सके ।’ १० जोडी जुम्ल्याहा मध्ये ५ छोरी छात्राहरु छन् । ५ जोडी मध्ये ४ जोडीको नाम गंगा जमुना छ भने एक जोडी लक्ष्मी पूजा छन् । यस्तै ४ जोडी छात्र छन्, छात्रहरुको नाममा भने विविधता छ । यस्तै एक जोडी छात्र चाँहि दिदी भाई छन् ।
धेरै समानता, केहि फरकपना
जुम्ल्याहा मध्ये धेरैजोडीमा समानता पाईन्छ । तर केहिमा भने फरकपना पनि छ । ३ वर्षका छोरी गंगा–जमूनाकी आमा कल्पना भन्छिन्–‘गंगा अलिक चञ्चले छ, जिद्धि स्वभावको पनि छ । जमुना ज्ञानी छ।’ एलकेजीमा पढ्ने युजन र नुजन मध्ये पनि दाजु निक्कै चञ्चले छन् तर दाजु गम्भिर स्वावका । शिक्षिका लक्ष्मी भण्डारी भन्छिन्–‘धेरैजसो जुम्ल्याएका स्वभाव मिल्छन् तर केहि केहि स्वभाव भने फरक पनि पाईएको छ।’
२०५७ साल असोज २५ गते ५ मिनेटको फरकमा जन्मिएका गंगा–जमूना श्रेष्ठको भने स्वभाव र रुची मात्रै होईन स्वास्थ्य अवस्थामा मिल्छ ।‘मलाई रुघामर्की लाग्यो भने उसलाई पनि लागि हाल्छ’ गंगाले भनिन–‘कहिले मलाई निको हुने वित्तिकै उसलाई शुरु हुन्छ, कहिले उ ठिक भए पछि म बिरामीहुन्छु । तर प्राय सँग सँगै बिरामी हुन्छौ।’ समान उमेरका भए पनि पढाईमा धेरैजसो एउटै कक्षामा छन् । तर केहि फरक फरक पनि कक्षामा पढि रहेका छन् । २०६० जेठ–७ गते जन्मिएका गायत्रा–गंगा सागर खड्का मध्ये २ मिनेटले गायत्रा दिदी हुन् । तर अध्ययन्मा भने भाइ भन्दा २ कक्षा माथि छन् । ‘दिदीले शिशू कक्षा नपढी एक कक्षा पढ्नु भयो, अनि म चाँहि शिशूदेखिनै पढेँ र कक्षा ३ मा फेल पनि भएँ त्यसैले २ कक्षा पछि परेको हुँ’–गंगासागरले भने ।
उनीहरु रुचीमा पनि फरकपना छ । गायत्राले भनिन्–‘अरु त त्यस्तो खासै फरक छैन तर भाइलाई गुलाबि रङ्गको कपडा मन पर्छ, मलाई चाँहि सेतो मन पर्छ।’ २०६० मंशिर १३ गते जन्मिएका प्रेमलाल र प्रेमप्रसाद राजवंशी मध्ये १ मिनेट पछि जन्मिएका प्रेमप्रसादले प्रेमलाललाई १ कक्षा उछिनेका छन् । प्रेमलाल कक्षा ८ र भाई प्रेमप्रसाद कक्षा ९ मा अध्ययरत् छन् । उनीहरुमा लुगा रोजाईमा भने फरक पर्छ । दाजुले रातो मनपराउँछन्, भाइले चाँहि पहेलो छान्ने गरेका छन् । पढाईमा पनि जुम्ल्याहरुको स्तर फरक फरक छ । कुनै जोडीका जेठो सन्तान तगडा छन् भने कुनै मध्ये कान्छो तेजिला छन् । कक्षा ३ मा पढ्ने गौरव र गगन खतिवडा मध्ये गौरव अलिक तवडा लाग्छ शिक्षक जीवन भट्टराईलाई । अन्य कुरामा समान भए पनि बिभिन्न बिषयमा जिज्ञासा राखि रहन्छन गौरव तर गगन अलिक मौन बस्ने गरेका छन् ।
आमाको अनुभव
अरु जतिनै झुक्किए पनि वा ३ वर्षिया गंगा–जमुनालाई कुन दिदी–कुन बहिनी भनेर नछुट्याए पनि आमा कल्पना राजवंशी भने आज सम्म झुक्किएकी छैनन् । हेर्दा, बोल्दा दुरुस्तै लाग्छ अरुलाई तर उनी भने सजिलै छुट्याउँछिन् । विद्यालयमा आएर दुवै छोरीलाई काखमा लिएकी उनले भनिन्–‘अलि अलि हिँडाई नभए बोलीले गर्दा म चिन्छु, तर अरुलाई पनि चिन्ने गरि फरक के के छ चाँहि भन्न सक्दिन, म बुझ्छु मात्र।’ २०७२ भदौ २४ गते उनीहरु दुवै जना एक मिनेटको फरकमा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा जन्मिएका हुन् । दुवै छोरी जन्मने बेलामा श्रीमान कुवेत पुगेका थिए, अझै उतै छन् । उनले अझै सम्मे छोरीहरुलाई देखेका छैनन् । विभिन्न माध्यमबाट कुराकानी हुने र फोटो हेर्ने क्रम चाँहि चलिरहेको छ । उनको पहिलो गर्भबाटै जुम्ल्याहा छोरी जन्मिए । निरन्तरको स्वास्थ्य जाँचका क्रममा जुम्ल्याए भन्ने थाह भए पछि उनी भद्रपुर देखि धरान पुगेकी थिईन् । सरीता खड्काका जेठा छोरा भिम भने २०५८ सालमा जन्मिएका थिए । दोश्रो गर्भबाट २०६० जेठ ७ मा गायत्रा र गंगासागर छोराछोरी जुम्ल्याहा भए । तर उनलाई गर्भमा भईन्जेल जुम्ल्याहा सन्तान छन् भन्ने अनूभूतीनै भएन । ‘भिडीयो सिडीयो गरिएन, पेट चाँहि अलिक ठुलै थियो तर दुईटा नानी होला जस्तो चाँहि लागेन’ जुम्ल्याहा दिदी भाइकी आमा सरीताले भनिन्–‘एउटा नानी चाँहि बढि खेल्दो रहेछ, अर्को चाँहि तेति खेलेन क्यार त्यहि भएर जुम्ल्याहा होलान् जस्तै लागेन ।’ उनले दुवै सन्तान घरैमा जन्माएकी हुन् ।