राजविराज । बाढीले भत्काएको घरमा आठ वर्षीय छोरा र दुई, चार र ६ वर्षीया छोरीबाहेक कोही छैनन् । काखमा अर्को तीनमहिने छोरो बोकेर हरेक दिन उर्मिला सदा न्याय खोज्दै टोल, समाज, संघ संस्था, न्यायिक समितिदेखि प्रहरी कार्यालयसम्म पुगिरहेकी छिन् ।
छिमेकीबाटै यौन हिंसाको सिकार भएको भन्दै पीडकलाई कारबाही माग्दै उनले जताततै उजुरी पनि दिएकी छन् । तर सप्तरीको सुरुंगा नगरपालिका–१ चहका टोलकी ३१ वर्षीया उर्मिला सदाले अझै न्याय पाउन सकेकी छैनन् ।
राजधानी दैनिकका अनुसार, छोराछोरीको लालनपालन गर्न सम्पत्तिका नाममा केही नभएपछि त्यसको जोहो गर्ने आफूमाथि हिंसा गर्नेलाई कारबाही माग्दै चौतर्फी भौतारिने दोहोरो दिनचर्या छ, उनको ।
कतै सुनुवाइ नभएपछि साँझ निराश र थकित भएर घर फर्किन्छिन् । विगत एक वर्षदेखि यो उनको दिनचर्या नै बनेको छ । उर्मिलालाई न्याय दिलाउन शनिबार जनचेतना दलित संगम मधुपट्टी सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी सहयोगका लागि पहल गरिदिन सरोकारवाला सबैसँग आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा काखे बालकसहित उपस्थित भएकी पीडित महिला उर्मिलाको दुःख मार्मिक छ । छिमेकीबाटै यौन हिंसाको सिकार भएको बताएकी उनले न्यायका लागि स्थानीय नेता, जनप्रतिनिधि मानवअधिकारकर्मी र प्रहरीसम्म गुहार्दा पनि आश्वासनबाहेक केही नपाएको सुनाइन् ।
हालसम्म आधा दर्जनभन्दा बढी निकायमा उनले उजुरी दिइसकेकी छिन् । ‘तर मैले कुनै निकायबाट पनि न्याय पाइनँ,’ उनी भन्छिन्, ‘यताबाट उता जानुस् भन्दै फर्काउँछन्, न्याय माग्न सबै निकायमा पुगिसकें, अब कता जाऊँ ?’
उर्मिलाका पति छैनन् । दुई वर्षअघि पति नारायणको मृत्यु भएपछि चार सन्तानको भरणपोषण उनका लागि ‘फलामको चिउरा’ भयो । पति वियोगपछि सन्तानको लालनपालनकै लागि उनले छिमेकी ३५ वर्षीय ओमप्रकाश यादवको घरमा काम गर्न सुरु गरिन् ।
घरमा भाँडावर्तन माझ्ने र खेतीपातीसम्मको काम गर्ने जिम्मेवारी पाइन् । एक दिन घरमा कोही नभएको मौका छोपी यादवले आफूसँग जबर्जस्ती यौन सम्पर्क गरेको उर्मिलाको भनाइ छ ।
‘कसैलाई भन्यो भने तिमी र तिम्रो छोरा छोरीका लागि ठीक हुँदैन’ भनी धम्क्याउँदै ओमप्रकाशले पटकपटक यौन दुर्व्यवहार गरेको उर्मिलाको आरोप छ ।
आफू गर्भवती भएपछि विवाह गर्ने प्रलोभन देखाउँदै यौन शोषण गरे पनि दलित भएकै कारण आफूलाई स्वीकार गर्न नमानेको उर्मिलाको भनाइ छ । गाउँमा बसेको पञ्चायतीमा ओमप्रकाशले गल्ती स्विकार्दै विवाह गर्ने कबोल गरे पनि पछि गएर बोली फेरेको उनले सुनाइन् ।
हाल पाँचौं सन्तानका रूपमा काखमा रहेका तीन महिनाका छोरा ओमप्रकाशकै शारीरिक सम्बन्धबाट जन्मेको उनले दाबी गरेकी छन् ।
उनले बच्चा जन्मिनुअघि न्यायका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा पनि पुगेको बताइन् । त्यतिबेला प्रहरीका एक जिम्मेवार अधिकारीले ‘पहिले बच्चा जन्माऊ अनि बच्चाको डीएनए जाँच गरेर आरोपीमाथि कारबाही गर्छु’ भनेर आश्वासन दिएको उर्मिला बताउँछिन् । ‘अहिले बच्चा जन्मिएपछि जाँदा पनि कहिले जिल्ला प्रहरी त कहिले अदालत जाऊ भन्छन्,’ उनी भन्छिन् ।
आफू र आफ्ना पाँच सन्तानलाई दुई छाक खुवाउन पनि धौधौ परिरहेको अवस्थामा न्यायका लागि कताकता र कसरी जाने आफूलाई केही थाहा नभएको उनी बताउँछिन् ।
यता इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले पीडित महिलाका तर्फबाट ढिलो गरी उजुरी आउँदा पनि मानवीय आधारमा गर्नुपर्ने प्रयासहरु गरिएको बताउँछन् । उनले आरोपी भनिएका ओमप्रकाशलाई पक्राउ गरी एक रात थुनामा राखिएको तर उनले आरोप अस्वीकार गरेपछि छाडेको बताए ।