अनिल यादवपरासी । नवलपरासीको सरावल गाउँपालिका–६ गडौरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा अबैध तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गरिएकोे छ । शुरुमा गठन भएको ४ सदस्यीय समितिले आफुहरुलाई कुनै जानकारी र संलग्न नगराई प्रधानाध्यापकको मिलोमत्तमा ब्यवस्थापन समितिको अध्यक्ष तोक्ने कार्य भएको आरोप लगाएको छ ।
विद्यालयमा असोज ३ गते शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीका विद्यालय निरिक्षक पशुपति भट्टराई तथा स्रोत ब्यक्ति दधिराम शर्माका रोहबरमा अभिभावक भेलाबाट विन्देश्वर हरिजन, अबुलकलाम खान, उर्मिला सहानी र मंगिता हजाम सदस्य रहेको ४ सदस्सीय समिति बहुमतले गठन गरिएको थियो । उक्त समितिमा विद्यालयका शिक्षक तबारक हुसैनलाई शिक्षक प्रतिनिधिमा चयन गरिएको थियो । शिक्षा नियमावलीको नवौं संसोधनको नयाँ प्रावधान अनुसार अहिले विद्यालयहरुमा ९ सदस्सीय विद्यालय व्यवस्थापन समिति गठन भईरहेको छ । जुन प्रावधान अनुसार शुरुमा अभिभावक भेलाबाट ४ सदस्सीय समिति गठन गर्नुपर्ने, तत्पश्चात विद्यालय रहेको वडाबाट वडाको समितिबाट मनोयन भएको एकजना वडा सदस्य, विद्यालयका संस्थापक स्थानीय बुद्धिजिवी, शिक्षा प्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि सहयोग गर्दै आएको वा १० लाखभन्दा बढी सहयोग गरेको एकजना महिला सहित २ जनामनोनित सदस्य, विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी ९ सदस्यीय समिति रहने शिक्षा ऐनको दफा १२ मा उल्लेख छ ।
तर गडौरीको महेन्द्र जनता माध्यमिक विद्यालयमा भने शुरुमा अभिभावक भेलाबाट गठन भएका ४ सदस्यीय समितिलाई बाइपास गर्दै विद्यालयका प्रधानाध्यापक हरिपाल यादवले ३ जना ब्यक्तिलाई बोलाएर स्थानीय हरि यादवलाई शिक्षा ऐनलाई मिच्दै अध्यक्ष तोकेको जनाईएको छ । उक्त कार्यको शुरुमा अभिभावक भेलाबाट गठन भएको ४ सदस्सीय समितिका सदस्यहरु र शिक्षक प्रतिनिधि तबारक खानले जनाएका छन् । असोज ११ साँझ साढे ५ बजे गते प्रधानाध्यपक यादव, वडा नं.४ का वडाध्यक्ष छोटेलाल यादव, ५ का वडाध्यक्ष दिनेश सहानी र ६ का वडाध्यक्ष कैलाश यादको संल्गनतामा ब्यवस्थापन समितिको अध्यक्षमा हरि यादवलाई तोकिएको छ । अभिभावक भेलाबाट गठन भएको ४ जना सदस्य र शिक्षक प्रतिनिधिद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा अवैध तरिकाले तोकिएको अध्यक्ष खारेज गर्न र शिक्षा ऐनको प्रावधान अनुसार समिति गठन गर्न माग गरिएको छ ।
यस बारेमा सरावल–५ का वडाध्यक्ष दिनेश सहानीले विद्यालयका प्रधानाध्यक हरिपाल यादवले अरु सदस्यहरुबाट पछि हस्ताक्षर गराउने बताउँदै आफुलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएको प्रतिक्रिया दिएका छन् । यद्धपी अध्यक्ष सहानीलाई भने विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया भने पूर्ण रुपमा जानकारी छ । यता शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीका विद्यालय निरिक्षक पशुपति भट्टराईले भने शुरुमा गठन भएको ४ सदस्सीय समितिको सहमति बिना कुनै पनि काम अगाडी बढाउन नसकिने बताउनु भएको छ । उहाँले त्यसरी गठन भएको समिति अबैद्ध हुने प्रतिक्रिया दिनुभयो । असोस ३ गते भएको अभिभावक भेलामा १ सय ९८ जना अभिभावकहरुको उपस्थिति रहेको थियो । तर जनप्रतिनिधि र प्रधानाध्यापक नै ऐनलाई मिच्दै अबैध तरिकाले विद्यालय ब्यवस्थापन समिति गठन गर्न शुरु गरेका छन् ।