हुमाकान्त पोखरेल
गुल्मी । स्तरोन्नति भइरहेको रिडी–तम्घास सडकमा अनियमितता भएको पाइएको छ । लुम्बिनी परिक्रमा सडकअन्तरगत रिडी–रातामाटा सडक खण्डमा अनियमितता भएको पाइएको हो ।
काममा भएको अनियमितता एवम् लापरवाहीप्रति गुल्मीका निर्माण व्यवसायी अनुगमन गरी आपत्ति जनाएका छन् । रिडी–तम्घास सडक जिल्लाको प्रवेशद्धार हो । सबैभन्दा पहिले कालोपोत्रे गरिएको सडकको अहिले रिडीदेखि रातामाटासम्म तीन किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ ।
कुनै पनि सडक ग्राभेलिङ्ग गर्दा सबैभन्दा पहिले कच्ची माटो फल्नुपर्छ । त्यसपछि भाइब्रेटिङ्ग गर्ने, रोलिङ्ग गर्ने र बल्ल ग्राभेलिङ्ग गर्नुपर्छ । यसो गर्दा ८ इन्चसम्म एकै प्रकारको गिटी बाटोमा विच्छ्याउनुपर्ने व्यवस्था छ । ८ इन्चसम्मको गिटी विच्छ्याउदा जमिनमा पहिले रहेको माटो पुरै पुरिन्छ । अर्थात बाहिर देखिनुहुँदैन । तर गुल्मीको रिडि सडक खण्डमा बन्न लागेमा बाटोमा भने भाइब्रेटिङ्ग र रोलिङ्ग नगरिकन ग्राभेलिङ्ग गर्न थालिएको छ ।
बाटोको नालीमा पनि कमसल खालको सामान प्रयोग गरिएको निर्माण व्यवसायी नवराज श्रेष्ठले जानकारी दिनुभयाे । नालीमा गाहे उठाउनुभन्दा पहिले १० सेन्टी पिच गर्नुपर्छ ।
तर सडकमा २ सेन्टी पनि पिच नगरि पर्खाल उठाइएको छ । ‘सडक निर्माण गर्दा नालिमा कम्तिमा १० सेन्टि पिच हुनुपर्छ, ८ इन्चसम्म एकै प्रकारको माल राख्नुपर्छ ।’ उहाँले भन्नुभयाे, ‘तर यहाँ त पुरै मापदण्ड विपरित सडक बन्न लागेको छ ।’ त अर्का व्यवसायी धनिश्वर गौतमका अनुसार साइडमा बनाउन लागिएको नालिमा तेर्सो बनाएर लगाउनुपर्ने ढुङ्गा सिधा ठाडो बनाएर लगाइएको छ ।
‘नालिका ढुङ्गा पनि मिलेका छैनन, त्यसैमाथि बालुवा र सिमेन्टको अनुपात पनि मिलेको छैन, एकदमै कमसल खालको सामान प्रयोग गरिएको छ ।’ गौतमले भन्नुभयाे, ‘ठेकेदारले ठग्न खोजेको छर्लङ्ग हुन्छ ।’ यसरी कमसल सामाग्रीको प्रयोग गरी सडक निर्माण गर्दा धेरै फाइदा हुने भएकोल इन्जिनियरकै मिलेमतोमा यस्तो अनियमितता भएको उहाँले आरोप लगाउनु । ‘कच्चि र थोरै माल राख्दा एकातर्फ धेरै फाइदा हुन्छ भने अर्कोतर्फ सडक छिट्टै भत्किने सम्भावना पनि धेरै हुन्छ ।’ उहाँले भने, ‘निर्माण कार्यमा इन्जिनियरको पनि मिलेमतो छ ।
किनकि इन्जिनियरले चाहेमा सडकलाई राम्रो बनाउन सकिन्छ ।’ सडकमा यतिसम्म हेलचक्राई हुँदा पनि स्वयम् नियमनकारी निकाय कार्यालय र त्यसका कर्मचारी इन्जिनियर नै मिल्नु दुखद पक्ष भएको बताउनु भयाे ।
गल्ती भयो, सुधार्छौसडक स्तरोन्नतीको जिम्मा एसियाटिक प्रदिप जिभिलाई दिइएको छ । कम्पनीका प्रतिनिधि विक्रम राईले सडकमा गल्ती स्वीकार गर्दै विग्रेका केहि कुरा सुधार्ने प्रतिवद्धता जनाउनु भएकाे छ । ‘नियमित रुपमा आफै सडकमा आई हेर्न पनि पाइएन, तर सडकमा अनियमितता भएकै हो । केही हदसम्म काम विग्रिएको छ ।’ उहाँ भन्नुभयाे, ‘बिग्रेका धेरै स्थानमा हामी सुधार्ने प्रयास गर्छौ ।’ निर्माण कार्यमा आफ्नो कम्पनीको पनि प्रतिष्ठा रहेको भन्दै उनले सकेसम्म छिटो नै बाटोलाई थप मजबुत बनाउने प्रतिवद्धता जनाउनु भयाे ।
रकम रोक्का गर्छौ
सडक ग्राभेलिङ्ग गर्न भ्याटसहित चार करोड २२ लाख बजेट विनियोज गरिएको छ । प्राविधिकका अनुसार दुई सेन्टी मात्र पिच गरी बनाइएको नालिको स्टिमेट गरी रकम भुक्तान गर्न पाइदैन । यसरी हेर्दा पनि निर्माणाधिन सडकमा न रकम भुक्तान दिने अवस्था छ, न त त्यसलाई भत्काएर फेरी बनाउने सम्भावना नै । तर सडक कार्यालय भने अनेक कुरा गरेर उम्किन खोजिरहेको छ ।
ठेकेदारसँग मिलेका भनिएका सडक डिविजन पाल्पाका सव इन्जिनियर कामेश्वर मण्डलाले भने काम नै नभएको सडकको भुक्तान रोक्का गर्ने बताउनु भयाे । तर उनले निर्माण ब्यवसायीेले भनेजस्तै आफू ठेकेदारसँग मिले वा नमिलेको भन्ने सन्दर्भमा कुनै प्रतिक्रिया दिएनन् । ‘सडक निर्माण गर्दा धेरै ठाउँमा गल्ति देखिएको छ ।’ उहाँले भन्नुभयाे भने, ‘जत्तिको काम भएको छ, त्यत्तिको मात्र भुक्तान दिन्छौ ।’