आनन्द गुरुङ
मनाङ । सरकारले हवाई सेवा सञ्चालनका लागि विमानस्थल थप्ने, मर्मतसम्भार गर्ने क्रम बढ्दो छ । त्यसो त, हवाई यात्रुको संख्या पनि बढेको छ । तर, हिमालपारिको जिल्ला मनाङको हुम्डे विमानस्थल भने पूर्वाधारयुक्त भए पनि प्रयोग विहीन बनेको छ ।
नेपाल वायु सेवा निगमले उडान नभर्दा विमानस्थलले ५ वर्षदेखि जहाज देख्न पाएको छैन । जिल्लामा विमान संचालन नहुँदा बासिन्दा र पर्यटक कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । समुद्री सतहबाट ३ हजार ३ सय ३० मिटर उचाईमा अवस्थित् विमानस्थल २०३९ सालमा स्थापना भएको हो ।
पोखरा–हुम्डे, र काठमाडौ‘–हुम्डे दैनिक ३ उडान गर्ने विमानस्थलमा पर्यटक बढेसँगै धावनमार्ग कालोपत्रे पनि भयो । तर ५ वर्षयता एउटा पनि विमान उडेको छैन ।
पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ सरकारसँग विमानस्थल सञ्चालनको प्रयास भइरहेको र नेपाल भ्रमण वर्ष–२०२० लाई लक्ष्यित गरी सञ्चालन गर्नु पर्ने बताउनु हुन्छ ।
कम्तीमा साताको दुईवटा उडान तत्काल शुरु गर्ने तयारी छ । पूर्वाधार हुँदाहुँदै पनि लामो समयदेखि हवाई जहाज नआउने र सरकारसँग अनुरोध गर्दा पनि बेवास्ता भएको स्थानीयको गुनासो छ ।
हुम्डे दुर्गम जिल्लाका विमान स्थलमध्येकै उत्कृष्ट विमान स्थल हो । सञ्चालनमा आउन सक्ने पूर्वाधार भएको विमानस्थल एक जना कुरुवाले कुरिरहेका छन् ।
https://www.youtube.com/watch?v=sozYDvOOSKU&feature=youtu.be