काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नेत्र कार्कीको राजीनामा मागिएको छ । कार्कीले आफ्नो वडामा खादा प्रयोग निषेध भन्दै विज्ञप्ति जारी गरेपछि विभिन्न जनजातिका ११ संस्थाले उनको राजीनामा मागेको हो । कार्कीले गलत मनसायले विज्ञप्ति जारी नगरेको बताए पनि उनको निर्णयविरुद्ध ११ संस्थाले विज्ञप्ति जारी गर्दै अब उत्पन्न हुने विषम परिस्थितिको जिम्मा लिनु पर्ने र पदीय हिसाबमा जनप्रतिनिधि रहँदा अरु विवाद बढ्ने भएकाले राजीनामा मागिएको हो ।
वडाध्यक्ष कार्कीले ९ असोजमा विज्ञप्ति जारी गर्दै कात्तिक १ गतेदेखि खादा प्रयोग निषेध भनेपछि विवाद शुरु भएको हो । हेर्नुहोस् विज्ञप्तिः
तामाङ बाहुल्य रहेको वडाबाट निर्वाचित कार्कीले तामाङ बाहुल्य रहेको प्रदेश र जिल्लामा खादा निषेधको निर्णयमा विवाद शुरु भयो । उनले सम्मानमा अनावश्यक खर्च देखिएको र मितव्ययी हुन यस्तो निर्णय गरिएको तर जातिगत आँच पुगेकामा क्षमा माग्दै अर्को विज्ञप्ति जारी गरे १२ असोजमा । हेर्नुहोस् विज्ञप्तिः
तर कार्कीले जारी गरेको पहिलो विज्ञप्ति सामाजिक सञ्जालमा यति भाइरल भयो कि दोस्रो विज्ञप्तिमा उनले माफी मागे पनि पहिलो विज्ञप्तिले कार्कीलाई विवादमा तानिरह्यो ।
११ संस्थाको विरोधकार्कीले गलत नियतले खादा प्रयोग निषेध नगरेको बताउँदै क्षमा मागे पनि जनजातिका ११ संस्थाले कार्कीको विरोधमा विज्ञप्ति निकालेका छन् । नेपालमा तामाङ घेदुङ संघ, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, जिरेल संघ नेपाल, तमु ह्युल छोंज धिं, ह्योल्मो सेवा समाज, नेपाल थामी समाज, योल्मो काग्र्यु साङ्ङाग लाछोग, नेपाल माझी उत्थान संघ, दनुवार जागरण समिति र नेपाल मगर संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक हिसाबले पवित्र बस्तुमाथि निषेध गर्ने वडाध्यक्षको निर्णय फिर्ता लिन माग गर्दछौँ ।’ लेखिएको छ, ‘धार्मिक रुपमा अरुको संस्कृतिमाथि प्रहार गर्ने व्यक्ति जनप्रतिनिधिका रुपमा रहिरहँदा अरु अप्रिय परिणाम उत्पन्न हुन सक्ने भएकाले राजीनामा दिन अनुरोध गर्दछौँ ।’
को हुन् कार्कीसञ्चारकर्मी पनि रहेका कार्की सुनकोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । उनको वडामा तामाङ बाहुल्य छ भने सिन्धुपाल्चोक जनजाति र तामाङ बाहुल्य जिल्ला हो । कार्कीले भने, ‘कसैको भावनामा आँच पुग्न गएकामा क्षमा चाहन्छु, मितव्ययी बन्ने अभियानमा यो विज्ञप्ति जारी हुँदा भाषिक त्रुटि भयो, क्षमा चाहन्छु ।’
के हो खादा ?
खाः हिउँ, ताकः चिन्ह अर्थात लगाउने ।खाताक अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनी हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइदिनु हो ।
यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने चलन थियो । अहिले सजिलैसँग विभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ ।
यो विशेषतः ३ कार्यमा प्रयोग गरिन्छ ।मानव जीवनमा विशेषतः ३ महत्वपूर्ण कार्यहरु हुन्छन् ।जन्म, विवाह (शुभकार्य) र मृत्युविशेषतः खादा यी तीन कार्यमा प्रयोग गरिन्छ । बोद्धमार्गीहरुले हरेक शुभ कार्यमा यो प्रयोग गर्ने प्रचलन सदियौँदेखि चलिआएको छ । यदि खादा नभएमा बौद्धमार्गीको कुनै पनि कार्य गर्न सकिँदैन ।
यसमा टाशी ताकगे अर्थात अष्टमंगलको चिन्ह हुन्छ र चार शुभआशीर्वादको हरफ लेखेको हुन्छ ।
१. ङिन्मो देलेग छेन्देलेगः दिनमा पनि शुभमंगल होस् र रातमा पनि शुभमंगल होस् ।२. ङिन्मोइ गुङ्याङ् देलेगसिंः दिनमा पनि त्यसैगरी शुभमंगल भइरहोस् ।३. ङिन्छेन् तकतु देलेक्पाः दिनरात सदा शुभमंगल होस् ।४. कोन्छ्योग् सुमगी टाशीस्योगः त्रिरत्न (बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।
अष्टमंगलः यो बौद्धमार्गी र हिन्दुधर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ । यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्दछः१. छाताः शिर २. बिजयध्वजः शरीर, ३. माछाः आँखा, ४. कलशः घाँटी, ५. कमलको फूलः जिब्रो, ६. श्रीवत्सः छाती, ७. शंखः ध्वनि, स्वर, ८. चक्रः पैताला, यसले बुद्ध भगवानको पूरा शरीरलाई जनाउँदछ ।
खादा पाँच रंगको हुन्छयो रंगको अर्थ लामा अर्थात् तिब्बती भाषा र नेपाली तथा हिन्दुधर्मीलम्बीहरुले मान्ने भाषामा फरकफरक छ ।
सेतोः वैरोचन बुद्ध, पहेलोः रत्नसम्भव, रातोः अमिताभ बुद्ध, निलोः अक्ष्योभ्य बुद्ध, हरियोः अमोघसिद्दि बुद्ध ।
नेपाली भाषामा सेतोः पवित्र, पहेँलोः शान्ति, रातोः शक्ति, नीलोः प्रगति, हरियोः सौभाग्य
पाँच रंगले पञ्चतत्वलाई पनि जनाउँछ ।रातोः अग्नि, पहेँलोः पृथ्वी, नीलोः आकाश, हरियोः जल, सेतोः वायु ।