काठमाडौं । सरकारले ८ भदौमा मन्त्रिपरिषद् निर्णय गर्दै सोमप्रसाद पाण्डेको नेतृत्वमा उच्चस्तरीय अधिकारसम्पन्न राजनीतिक वार्ता टोली बनायो । १४ भदौदेखि काममा लागेको टोलीले केही विद्रोही समूहसँग वार्ता पनि गरेको छ । ‘ट्र्याक टु’ वार्तामा रहेको एउटा पक्ष हो मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा । मोर्चालाई वार्ता टोलीले ४ असोजमा वार्ताका लागि पत्र पठायो भने १५ असोजमा मोर्चाले पूर्वसहमति कार्यान्वयन, जेलमा रहेका कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको शर्त राखेर पत्र पठायो ।
तराईमा विद्रोही संगठनका रुपमा पुरानो संगठन हो जनतान्त्रिक तराई मुक्ति मोर्चा । जयकृष्ण गोइत नेतृत्वको मोर्चा फुटेर टुक्राटुक्रा भयो । केही अस्तित्वमा छन् । केही छैनन् । रहेको मध्ये मनोज मुक्ति नेतृत्वको मोर्चासँग सरकारले वार्ता पहल गरेको छ । के भन्छन् त मनोज मुक्ति ?जनता समाचार डटकमसँग फोन सम्पर्कमा आएका मनोज मुक्तिका धारणाहरुः
क्रान्तिकारीहरु आसावादी हुन्छन्सरकारले बनाएको वार्ता टोलीसँग फोनमा र भेटमा वार्ता भएका छन् । अहिलेसम्म कुनै उपलब्धी हासिल हुने छाँट छैन । २०६१ देखि हामी तराईमा विद्रोह गरिरहेका छन् । संगठन छिन्नभिन्न भए पनि मुद्दा छाडेका छैनौँ । रामचन्द्र पौडेल वार्ता समितिमा रहेर माओवादीसँग जसरी वार्ता गरियो । त्यसरी नै त्यही दफामा उभिएर वार्ता भयो । सम्झौता भयो । तर, कार्यान्वय भएन । अनेक वार्ता भएन, सफल भएन । अहिले पनि कुरा चलिरहेको छ । हाम्रा मुद्दाहरु राखेका छौँ । वार्ता टोलीले बन्दी रिहाइ र मुद्दा फिर्ता हुन्छ भनेका छन् । हामी कुरिरहेका छौँ । हामी क्रान्तिकारीहरु आसावादी छौँ । अरु के भनौँ र ? सरकार अलि नश्लीय सोचको पनि बन्यो भन्नेलाग्छ । देशका कुरा उठाउनेहरु जेलमा छन् ।
निर्वाचन आयोगमा दल दर्ता गर्न चाहन्छौँराजनीतिक अवसरहरु अहिले केही पनि छैन । निर्वाचनहरु भएका छन् । शान्तिपूर्ण राजनीतिमा होमिने र तराईका जनताको मुद्दा उठान गरेर पार्टी गतिविधि चलाउने हाम्रो चाहना हो । तराईका ससाना समूहरुबीच वार्ता पनि भइरहेको छ । वार्ता सार्थक भयो भने हामी पार्टी दर्ता गर्छौँ । राजनीति नै गर्छौँ । दशैँपछि यो काम हुनसक्छ कि भन्ने आसामा छौँ ।
कम्युनिष्ट कांग्रेसमा जाँदैनौँअहिले वार्तामै जाँदा एकीकृत शक्ति भएर प्रस्तुत हुने कि भनेर ५–६ समूहसँग कुरा गरिरहेका छौँ । वार्ता सफल भए निर्वाचन आयोगमा जाँदा सबै मिलेर एउटै पार्टी बनाउने कुरा पनि चलेको छ । नाम अहिलेलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा नै ठीक छ । त्यतिखेर अर्को राख्न परे पनि राखौँला । तर मूलधारको राजनीतिमा आउने कामसँगै हामी नेपाल कम्युनिष्ट पार्टी वा नेपाली कांग्रेससँग मिसिन चाहँदैनौँ । विलय हुँदैनौँ । फरक शक्तिका रुपमा रहन्छौँ र राजनीतिक गतिविधि गर्छौँ ।
२ हजार बन्दी छन्हामी त पुरानो शक्ति हौँ । २०६१ देखि राजनीतिमा छौँ । विभिन्न समूह गरेर हाम्रा २ हजार कार्यकर्ता आस्थाका बन्दी छन् । मुद्दा लगाइएको छ । प्रशासनको पनि नश्लीय सोच छ । उनीहरुको रिहाइको माग गरेका छौँ । वार्ता टोलीले हुन्छ पनि भनेको छ । ६ सय जति होनहार कार्यकर्ता सरकारको निशानामा परेको छ ।
जयकृष्ण गोइतले अब सक्नुहुन्नजनतान्त्रिक तराई मुक्ति मोर्चाका पहिला कमाण्डर हुन जयकृष्ण गोइत । उहाँका थुप्रै कमजोरी थिए । अहिले त १२ वर्ष भयो नभेटेको । कता पो हुनुहुन्छ ? अत्यन्त व्यक्तिवादी हुनुहुन्थ्यो । जातीयवादी हुनुहुन्थयो । विखण्डनकारी मत राख्नुहुन्थ्यो । अरु निजी कमजोरी नभनौँ । उहाँ भूमिगत हुनुहुन्छ रे भन्ने सुनेको छु । तर तराईमा उहाँको राजनीतिक भविष्य छैन । अब उहाँले सक्नुहुन्न ।
सिके राउत किन जन्मियो ?नेपालको संविधानले सिके राउतलाई विखण्डनकारी भनेको छ । तर अन्तर्राष्ट्रिय नजीरमा हरेक दिन एउटा देश जन्मेलाजसरी विद्रोह भइरहेको छ । राउतको मुद्दा ठीक या बेठीक भनेर बस्ने होइन राज्यले । राज्य त यसमा गम्भीर हुनुपर्छ कि, किन यस्तो मुद्दा उठान भयो ? यस्तो मुद्दा उठान हुनै नदिन राज्य कसरी प्रस्तुत हुनुपर्छ ? राउतका पक्ष विपक्षमा मेरो केही धारणा छैन । राज्यले को र के होइन, किनको जवाफ दिन सक्नुपर्छ ।
राजपा थोक पसलमधेसवादी मुद्दा उठाएर शक्तिकेन्द्र बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मधेसका जनताको भावनामा ब्लाक मेल गर्छन् । पहिला यिनीहरु खुद्रा पसल थिए, अहिले थोक व्यापारी भएका छन् । यिनीहरु दल नै होइनन् । व्यापारी हुन् राजनीतिका नाममा व्यापार गर्छन् । यिनीहरु तराई मधेसका मुद्दाको नक्कली उठान गरेर आफूहरुको ‘प्रालि’ ठान्छन् तराईको राजनीति । यिनमा राजनीतिक संस्कार छैन । सिंहदरबारमा टाँसिने अर्को कमजोरी छ ।
उपेन्द्र यादव र फोरमचुनावताका आन्दोलन गर्छन् । जनता झुक्याउँछन् । राज्यसत्तासँग टाँसिइरहन पर्ने रोग छ । नगदनारायण संकलन गर्नैपर्ने बाध्यता पनि होला । राज्यसँग र अरुसँग पनि । यिनीहरु तराई मधेसको मुद्दा उठाउँदैनन् । वश् सत्ता र सिंहदरबार पुग्न आन्दोलन गरेजस्तो गर्छन् । साँच्चै भन्नुपर्दा राजपा र संघीय समाजवादी फोरममा गुण, दोष, विशेषता केही फरक छैन । खुद्रा पसलेहरु थोकमा बढुवा भएका छन् ।
यो पनि पढ्नुहोस्ःhttps://45.77.241.73/2018/10/68899