धनगढी । सुदूरपश्चिम प्रदेश अब केरामा आत्म निर्भर बन्ने भएको छ । प्रदेशलाई केरामा आत्मनिर्भर बनाउने बारेमा आज दिउसो १२ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २ घण्टा लामो छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गरिएको छलफल कार्यक्रममा प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन दिर्घकालिन योजना बनाउने बारे छलफल भएको हो । छलफलपछि केरा खेतीलाई प्रदेशका अन्य जिल्लाहरुमा बिस्तार गर्न किसानलाई अनुदान उपलब्ध गराई प्रोत्साहन गर्ने,कंचनपुरको गड्डाचौकी,कैललीको त्रिनगर र खक्रौलामा तीन वटा बिषादी मापनयन्त्र राख्ने,केरा उत्पादन बृद्धि गरी परनिर्भरता हटाउन भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाउने भएको छ । छलफलमा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रबिन्द्र प्रधान र कृषि महाशाखाका प्रमुख यज्ञराज जोशीले केरा खेतीमा आत्मनिर्भर बनाउन मन्त्रालयले तयार पारेको आगामी योजना बारे जानकारी गराएका थिए ।
सचिव प्रधान र कृषि महाशाखा प्रमुख जोशीले जानकारी गराएपछि प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद बिडारी,कैलाली र कंचनुपरका प्रजिअ र किसानहरुले भारतबाट आउने केरालाई निरुत्साहित गरी प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन सम्बन्धित मन्त्रालयले आबश्यक रणनितिहरु अबलम्बन गरी अघि बढ्नु पर्ने बताएका थिए । नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषी पेसामा संलग्न किसानहरुको ईज्जत नगरेका कारण मुलुकको कृषि क्षेत्र फस्टाउन सकेन अब प्रदेश सरकार कृषकको ईज्जत बढाउने काममा लागि परेको मुख्यमन्त्री भट्टले बताउनु भयो । कृषि खेती तर्फ बेरोजगार युवाहरुलाई आकर्षित गरी प्रदेशको बेरोजगारी समस्या समाधान गर्ने प्रदेश सरकारको योजना रहेको बताउदै मुख्यमन्त्री भट्टले कुनै पनि उत्पादित बस्तुको कृतिम अभाव गरी मूल्यबृद्धि गरेर जनतालाई मर्कामा पार्ने काम ब्यवसायीहरुले गर्न नहुने समेत मुख्यमन्त्री भट्टले बताउनु भयो ।
कृषिजन्य बस्तुको ब्यवसायीकरण गरि स्वदेशमानै रोजगारीको अबसर सृजना गरी राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष अनुरुप सुदूरपश्चिम प्रदेश बिगत केही बर्षदेखी केरामा आत्मनिर्भर उन्मुख छ तर बिश्व व्यापार संगठनको मापदण्ड बिपरित भारतबाट निर्वाध रुपमा केरा आयात गरिएकाले आफूहरुले उत्पादन गरेको केरा बिक्रि बितरण गर्न नसक्दा कृषकहरुको बैंक रिण डुब्ने खतरा बढेसंगै कैलाली र कंचनपुर जिल्लामा ब्यवसाय धरासयी बनेको भन्दै केरा खेतीमा संलग्न किसानहरुले गत १४ गते मुख्यमन्त्री भट्टलाई ६ बुदे मागसहितको ज्ञापन पत्र बुझाएका थिए । कैलाली र कंचनपुर जिल्लामा रहेका केरा कृषक संघर्ष समिति,केरा विकास संजाल,केरा उत्पादन तथा प्रबद्र्धन कृषि सहकारी संस्था लिमिटेड,कैलाली केरा उत्पादन तथा प्रबद्र्धन कृषि सहकारी संस्था लिमिटेड,राष्टिय कृषक समूह महासंघ नेपाल र राष्टिय कृषक समूह महासंघले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । केरा खेतीमा संलग्न किसानहरुको मागलाई सम्बोधन गर्न मुख्यमन्त्री भट्टले आज उच्च स्तरिय छलफल कार्यक्रम गर्नु भएको हो ।
छलफल कार्यक्रममा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी,प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद बिडारी,भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रबिन्द्र प्रधान,कृषि महाशाखाका प्रमुख यज्ञराज जोशी,कैलाली र कंचनपुरका प्रजिअ,कैलाली र कंचनपुर जिल्लाका केरा खेतीसंग सम्बद्ध कृषक समूहका पदाधीकारी,केरा खेतीमा संलग्न किसानहरु,गड्डाचौकी र त्रिनगर क्वारेन्टायन चेकपोष्टका प्रमुख सहभागि थिए । हाल कैलाली र कंचनपुर जिल्लामा २ हजार ५ सय कृषकहरुले १ हजार ५ सय हेक्टरमा ब्यवसायीक रुपमा केरा खेती गर्दै आएका छन् । केरा खेतीबाट बार्षिक ७८ हजार मेटिकटन उत्पादन हुदै आएको छ ।