आनन्द गुरुङकाठमाडौं । नेपाली कांग्रेसको शक्तिशाली भ्रातृसंगठन नेपाल विद्यार्थी संघको बाह्रौं महाधिवेशन अनिश्चित र जटिल बन्दै गएको छ ।
नेपाली कांग्रेस पार्टीले नेविसंघ केन्द्रीय समितिको विधान पारित नगरिदिँदा नेविसंघको अधिवेशन विवाद पार्टी शिर्ष तहमा पुगेको हो । नेविसंघको महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्देशन समितिले विवाद टुंग्याउन नसक्दा नेपाली कांग्रेस केन्द्रीय समिति बैठकसम्म प्रभावित भएको छ । नेविसंघको विधान पारित गर्न असोज १९ गते बैठक तोकिएको थियो ।पार्टी महामन्त्री शशांक कोइरालाले नेविसंघको विवादबीच बैठक बस्न नहुने भन्दै महामन्त्रीको आग्रहमा पार्टी बैठक सारिएको छ । नेविसंघको विधानबारे निर्देशन समिति संयोजक प्रकाशशरण महतको समितिमा विवाद टुंग्याएर मात्र केन्द्रीय समितिमा पेश गर्न निर्देशन दिएर बैठक स्थगित भएको हो ।
नेविसंघ केन्द्रीय समितिले कात्तिक १६, १७ र १८ गते गर्ने कार्यतालिका प्रकाशन गरेको थियो । महाधिवेशनका लागि सर्वसहमतिमा विधान पारित गरी जिल्ला र क्याम्पस अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत गरेको थियो । तर अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगर्न विजयकुमार गच्छदार समूहलाई विधान विपरित र छलफल र सहमति विपरित पन्ध्र जनालाई केन्द्रीय समितिमा मनोनित गरी महाधिवेशनको वातावरण बिगारेको नेपाल विद्यार्थी संघका सदस्यहरुको आरोप छ ।
महाधिवेशन विवाद टुंग्याउन र विधान पारित गराउन छाडेर अध्यक्ष महर दक्षिण कोरिया भ्रमणमा निस्किएका छन् । । पछिल्लो समय पार्टीका महत्वपूर्ण भ्रातृ संगठनमा सभापति शेरबहादुर देउवा पक्षले एक पछि अर्को गर्दै नेविसंघको महाधिवेशन नगराउने षड्यन्त्र गरेको आरोप पनि छ ।
निर्देशन समिति संयोजक डा. प्रकाशशरण महत नेविसंघ विघठन गर्न लागिपरेको पौडेलपक्ष विद्यार्थी नेताको आरोप छ । नेविसंघमा बत्तीस वर्षे उमेर हदका कारण महाधिवेशन नहुने हो कि भन्ने चिन्ता व्यापक छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षीय विद्यार्थी नेता उमेर लगाएर होस् वा नलगाएर होस् महाधिवेशन गर्नुपर्छ भन्नेमा छन् । ‘उमेर देखाएर महाधिवेशन भाँड्न पाइँदैन,’ पौडेल पक्षीय अध्यक्षका आकांक्षी विद्यार्थी नेता मोतीलाल भण्डारीले बताउनु भयो । देउवापक्ष पार्टी महाधिवेशनसम्म वृहत एकता गरी जाने तयारीमा छ । पार्टीको विधान संशोधन, महासमिति बैठकदेखि भ्रातृसंगठनको महाधिवेशन गर्नेसम्मको साझा धारणा निर्माण गर्ने कसरतमा जुटेको छन् ।
देउवा पक्ष भने पार्टी कब्जा गर्ने रणनीतिमा छ । नेविसंघ केन्द्रीय समितिको मनोनयनमा दलितको प्रतिनिधित्व नभएको भन्दै दलित विद्यार्थी नेताले अनिश्चित समयका लागि कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नेमा नेविसंघ केन्द्रीय सदस्य पवन नेपाली, ललिता सुनार, पम्फा गान्धारी, रेखा परियार छन् । नेविसंघको आगामी अधिवेशनमा अध्यक्षका लागि देउवा पक्षबाट सरोज थापा, राजीव ढुंगाना, शुभराम बस्नेत छन् भने पौडेल पक्षबाट दीपक भट्टराई, मोतीलाल भण्डारी र हिमाल श्रेष्ठ छन् । त्यसैगरी सिटौला पक्षबाट कुन्दनराज काफ्ले र युवराज पाण्डे दाबेदार हुन् ।
प्रेस युनियनमा पनि विवाद
उता, नेपाल प्रेस युनियनको अधिवेशन मिति नजिकिँदै गर्दा प्रेस युनियन भित्र पनि विवाद बढेको छ । देउवा पक्ष र पौडेल–सिटौला पक्ष आरोप प्रत्यारोपमा खुलेरै उत्रिएका छन् । अहिले धमाधम जिल्ला अधिवेशन भइरहेको छ । जिल्लामा आप्mनो पकड बलियो बनाउन दुवै पक्षका उम्मेद्वार लागिपरेका छन् भने कतिपय आप्mनो पद बार्गेनिङका लागि प्रायःजसो सबै जिल्ला अधिवेशनमा सहभागी भएर गुठबन्दी गरिरहेका छन् । जिल्लास्तरमा पकड कमजोर महसुस भए केन्द्रीय अधिवेशन भॉडने तानाबाना बुन्नेसमेत तयारी रहेको देखिन्छ ।