तपाईंलाई के थाहा ? यो उज्यालो अनुहारभित्र कति पीडा लुकेको छ भनेर । के यसो हेर्दैमा मात्र मान्छेको भित्र के भइरहेको छ भन्ने थाहा हुन्छ र ?
तपाईं लोग्ने मान्छेहरु त केबल बाहिरी आँखाले मात्र मान्छेलाई हेर्नुहुन्छ । झट्ट हेर्यो, मजा लियो बस्....
बाहिरी आँखाले त बाहिरी संसार मात्र नियाल्छ, केबल । त्यो दोषी पनि हुन सक्छ । तर, भित्री मनले पो हेर्नुपर्छ त । तब मात्र देख्न सकिन्छ, असली संसार ।
एकाहोरो यति कुरा सुनेपछि केही नबोल्दा त लाटो भन्लान् भन्ने पीर छ । केही त बोल्नै पर्यो भन्ने लाग्यो । तै पनि मनभित्रबाट उर्लेर आएको भावना घाँटीमा आएपछि अड्कियो । किनभने बोल्नु अघि सोचेर बोल्नु रे । बोलिसकेपछि कतै त्यही बोलीको अधिनमा बस्नु नपरोस् ।
उसले कालो चस्मा निकाल्यो र लगायो ।फेरि अर्को डाइलग आयो ।हेरन..कुरा टारेको..बाहिर घाम लागेको छ । अलिकति आँखाको शान्तिका लागि पनि कालो चस्मा लगाउनु उचित हुन्छ । उसले त्यही प्रयास गर्यो । तर, जति आँखाले कालो चस्मा लगाएर शान्ति महसुस गरिरहेको थियो, मनमा अशान्ति भाव उर्लिरहेको थियो । अब बाध्यता आइलाग्यो । ऊँ अनी अरु...
उसले दोस्रो बिहे गरिछे । शायद जिन्दगीको आवश्यकता नै होला कि ? त्यो उसले बल्ल महसुस गरिछे । किनकी आज ऊ जुन रुपबाट र रंगबाट बाँचिरहेकी छे, त्यो उसको आफ्नो निजी प्रयासबाट सम्भव भएको हो । हिजोसम्म न ऊ कसैको आशमा बाँचेकी थिइ न कसैको सासमा । तर, जब उसले जीवनको परिभाषा बदली, तब लाग्यो मान्छे परिवर्तन हुन कति दिन पनि नलाग्ने रहेछ ।
सायद महिलाका लागि सबै भन्दा दुःखको कुरा एउटै क्षणमा हुन्छ । त्यो दिन उनीहरु सम्झन पनि चाँहदैनन् । उसले त्यो दिन देखी, भोगी । कक्षा ७ मा पढ्दै गर्दा कसैले उसलाई माया गरेछ ।
ऊ आफैँ भन्थी, कस्सम होला.. त्यो बेला मैले उसको कुनै कुरा नै बुझिनँ रहेछु । तर एकदिन यस्तो अवस्था पनि आइलाग्यो, मैले उसलाई अंगालेँ ।
यद्दपि, कुनै दिन यस्तो पनि आयो । उही मेरो मायाले मेरी आफ्नै बहिनीलाई प्रेम गरेछ । त्यसपछि मैले उसलाई त्यागेँ....आखिर लोग्ने मान्छे न हुन् । केबल बाहिरी संसार नियाल्न चाहन्छन् र क्षणिकतामा रमाउँछन् । उसले पनि त्यसै गर्यो । त्यसपछि मैले बिहे नगरी बस्ने निधो गरेँ ।
जवाफ फर्काउन करै लाग्यो । चिया पनि आइसकेछ । प्रकृतिसँग रमाउनुमा के को दोष ?
छोटो एक वाक्यको प्रतिक्रियाले यति धेरै उद्धेलन र उभार आउला भन्ने कसले सोचेका हुन्छ र ?
ए..यस्तो ? मान्छेको जीवनसँगको खेलबाडलाई चाहीँ कुन प्रकृतिसँग तुलना गर्ने नि ? सायद लाजवाफ प्रश्नको समुचित उत्तर दिने प्रयास गरेन उसले किनभने ऊ उसको कुनै सवालको जवाफदेहिता बोक्ने मान्छे होइन । ऊ न त सूचना अधिकारी नै हो, जसले खुरुक्क सबै जानकारी दिनै पर्छ ।
ऊ कालो चस्मा मिलाउँदै फेरि घामतिर हेर्ने प्रयास गर्छ । अ साँच्ची... तिमी यसरी आफूलाई कसरी तन्दुरुस्त राख्न सक्छौ हँ ? उसले एउटा सवाल बरु उल्टै गर्यो ।
ऊ हाँसी । हाँस्दा उसका दन्तलहर प्रष्ट देखिए । गन्न नभ्याएपनि उसका ३२ वटै दाँत हुनुपर्छ । किनकी झट्ट हेर्दा त्यस्तो देखिन्छ । दाँत मात्र होइन । दश वर्षजति अगाडि देख्दा पनि ऊ उस्तै थिर्इ, आज पनि त्यस्तै देखिन्छे ।
कारण ? कारण त उसले आफैँ कसरी पत्ता लगाउन सक्थ्यो र ? यो कुरा त सोध्नै पर्छ । नत्र कसरी पत्ता लगाउनु र ? फेरि अर्काको मन भित्र पस्न पनि त सकिँदैन नि ।
अँ...सुन्नुस् त । तपाईं रोजी भन्ने केटीलाई चिन्नुहुन्छ ? उसको थप प्रश्नमा के अर्थ र कारण लुकेको छ यसै अनुमान गर्न गाह्रो थियो । तर, यसको प्रश्नमा धेरैबेर घोत्लिनु परेन । तैपनि एकक्षण भएपनि कुरा लम्ब्याउनु पर्ला भन्ने ठान्यो उसले र भन्यो, किन... के भने र ?
हैन.. हैन.खास कारण त केही छैन, तैपनि ...
तैपनि भनेको के हो ? कस्तो तैपनि । कुनै पनि कुराको चुरो कारण हुन्छ । नत्र यो मानस्पटलले कसरी तँ यो कुरा भन भनेर अह्राउन सक्छ र ?उसले कुरा खोली ।ए... कारण त्यस्तो पो है ।
हन... केटीहरुमा कत्रो डाहा । अरुले के के गर्छन् ? को को के गर्छन् ? यो सबको चिन्ता र चासो किन लिन्छन् केटीहरु ?सँगै बसेकी उसकी साथी पनि हाँसी र भनी, होला नि..केही ? तँ किन अर्काको धेरै चासो र चिन्ता लिन्छेस् ?
त्यसपछि यसले कुरा मोडी । तर, उसले एउटा कुराको राज खोतल्न चाहिरहेको थियो । त्यही माथिको कुरा जुन कुराले आज पनि उसको मनमा खुल्दुली मच्चिरहेको छ ।
अँ.. तिमी आफ्नैबारे चाहीँ बोल न । भो अरुका कुरा धेर के गर्नु ।
तपाईंलाई यस्तो लाग्दैन । तपाईंलाई मैले देखेको, बोलेको कति वर्ष भयो । तर पनि म तपाईंलाई उस्तै देख्छु । किन ?सायद तिम्रो हेराइले होला, भन्न कर लाग्यो । किनभने आज उसको कुरा गर्ने शैली अलि भिन्न देखिरहेको छु । ऊ आज अलि खुलिरहेकी छ । किन हो ?
उसले अचानक कपालको प्रसंशा गरी । तपाईंको कपाल किन यसरी कालो देखिएको ? दश वर्ष अगाडि पनि जस्तो तपाईं उस्तै आज पनि । झन् यो कपाल पनि फुलेकै छैन त ।
उसको प्रसंसाको पात्र बन्नुपर्दा अलि कठिनाई महसुस गर्नु स्वाभाविकै हो । तर, त्यो दिन त्यस्तो भएन । बरु एउटा कुरा थप्न मन लाग्यो । त्यो के भने, अनि आफूलाई चैँ कसले भन्देओस् । दश वर्षअगाडि जस्तो देखेको आज पनि उस्तै कसरी ?
छ कारण । उसले कुरा चपाई ।ए.. उसो भा ।’ मेरो पनि उही कारण हो । उसले पनि त्यसै गर्यो ।किन आफूले चैँ कारण खोल्नु ।यसो भनेपछि मात्र ऊ बोल्न थाली ।भनी, म नि...खासै बूढी देखिन्नँ । हेर्नु त, मेरो गाला चाउरी परेको छ र ? छैन नि ।
हो, त्यही त भनेको नि.. अधुरो भनाइमाथि खासै टिप्पणी गर्नु आत्मप्रसंसाको भागिदार बन्नु भन्दा केही फरक होइन । तर, महिलामा त्यस्तो प्रसंसाको भोक जागेको हुन्छ भन्ने कसरी बुझ्नु ? कतिबेला उनीहरुको मन कमलो हुन्छ र कतिबेला ढुंगा बन्छ भन्ने कसलाई पो थाहा हुन्छ र ?
उसको पनि समस्या नै यही हो । आज ऊ यसरी मनको भाव पोखिरहेकी छे कि कुनै अनुमान लगाउन गाह्रो परिरहेको छ ।
उसको छेउमा बसेकी साथी धेरै बेर भो बोलिरहेकी छैन । सायद यस्ता वार्तालाप सुनेर ऊ मज्जा लिइरहेकी छे वा अल्छी मानिरहेकी छे त्यो पनि अनुमान गर्न सकिने स्थिति छैन । किनकी उसको मौनताले के भाव बोकेको छ भन्न सकिन्न । सायद ऊ फेसबुकमै जीवन खोजिरहेकी पनि हुन सक्छ ।
त्यत्तिकैमा ऊ बोली । भनी, दि.. एउटा केटालाई एउटी केटीसँग सेल्फी खिच्दा कस्तो महसुस हुन्छ ?त्यसपछि दुवै हाँसे । आफैँ तर्क गर्ने र आफैँ टिप्पणी गर्नेसँग के लाग्छ र ?उसले सोध्यो, कसलाई सोधेको...?त्यसपछि उनीहरु फेरि हाँसे । सायद के सोचे थाहा भएन ।००००अचानक नगरपालिकाबाट फोन आयो । प्रवक्ताको रहेछ, सर त्यो अस्ति नै पम्पहरुको अनुगमन गरेको थियो नि । त्यसबारे पम्प सञ्चालकहरुसँग सहमति भयो । त्यो सार्वजनिक गर्नु पर्ने भयो । कता हुनुहुन्छ ?अनुगमन...?हो, अनुगमन ।त्यसपछि हिँड्नु पर्ने भयो । जानै लाग्दा उसले मोबाइल मागी र नम्बर सर्च गरी । सायद उसको नम्बर सेभ छ छैन भनेर हेरी क्यार ।पक्कै नम्बर भेटिन । उसले आफ्नो नम्बर डायल गरेर मोबाइल दिइ र भनी नाम आफैँ राख्नु ।उसले सोध्यो, के भनेर सेभ गर्नु ?उसले भनी, अनु...उसले हुन्छ भन्यो र नम्बर सेभ गर्यो ।अनुगमन...