काठमाडौं । चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा १ नम्बर प्रदेशका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ। ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्। यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन्। नागरिक दैनिकमा समाचार छ ।
विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ। चामल, तेल, दाल, चिनी तथा तरकारीजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन्।
विराटनगरमा बजार मूल्य अकासिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा ज्यादा बढेको छ । चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ।
खाने तेलमा पनि एक सातायता प्रतिलिटर १० रुपैयाँ मूल्य बढेको छ। काउली प्रतिकिलो एक सय २० देखि एक सय ४० रुपैयाँसम्म पर्छ। यस्तै गिनरी साग २० रुपैयाँ पाउ, आलु ६० रुपैयाँ किलो छ ।
पहाडी जिल्लामा पनि खाद्यान्नको भाउ बढाइएको छ। इलाम, पाँचथर र ताप्लेजुङमा तराई र भारतीय बजारबाट आउने खाद्यान्नको मूल्य बढेको हो। इलाम सदरमुकाम, फिक्कल, बिब्ल्याँटे, मंगलबारे, पशुपतिनगरलगायत सबै व्यापारिक केन्द्रमा तरकारीदेखि चिनीसम्मको मूल्य बढेको छ।
जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला गर्ने बजार अनुगमनले केही प्रभाव पारे पनि वर्षौंदेखि अनुगमनमा जे पाइन्थ्यो, अहिले पनि त्यही कमजोरी भेटिने गरेको छ। कार्टुन पनि नागरिक दैनिकबाट साभार गरेका हौँ ।