पुष्पराज अधिकारीहेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर ३ संसदीय दलको बैठकमा स्थायी राजधानी बारे छलफल भएको छ । प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले सोमबारको प्रदेश सभा बैठकमा स्थान पाउने बताउनुभयो । स्थायी राजधानीको विषयमा सबैको चासो रहेको भन्दै मुख्यमन्त्री पौडेलले यसबारेमा गम्भीर छलफल गरी निष्कर्षमा र्पुयाउनु पर्नेमा जोड दिनुभयो । अधिकाँश प्रदेश सांसद र प्रदेशका जनताको चाहना स्थायी राजधानीको विषय चाँडै टुङ्गीयोस् भन्ने रहेको बताउँदै राजधानीको बिषयले आज र भोलीमा संसदमा प्रवेश पाउने बताउनुभयो ।
प्रदेश ३ को प्रदेश सभाको बैठक आज ३ बजेबाट सुरु हुँदैछ । बैठक तीन दिन चल्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । तर प्रदेश सभाको बैठकमा छलफलमा नल्याईएको भन्दै सांसदहरुले आक्रोश पोख्दै आएका छन् । समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो ।
सभामुख सानुकुमार श्रेष्ठले सोमबारको प्रदेश सभा बैठकमा राजधानीबारे छलफल हुने प्रस्ट पार्नुभयो । आईतबार बस्ने बैठकमा भने बिशेष समयमा पार्टीगत प्रतिनिधि सांसदले धारणा राख्ने र विभिन्न ५ बिधेयकलाई कार्यसूचीमा राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ । हेटौंडाका अधिवक्ता धुब्रप्रसाद चैलागाईले असार २८ गते ३ नम्बर प्रदेश सरकार, मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख बिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतलाई विपक्षी बनाई पाटन उच्च अदालत ईजालस हेटौंडामा मुद्दा दायर गरेपछि थप अन्यौल छाएको थियो। नेपालको संविधानको धारा १ सय ९१ अनुसार प्रदेश सभामा प्रदेश राजधानीबारे बहसमा समेत कानूनी रुपमा बन्देज लागेको थियो । संविधानको उक्त धारामा ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन’ उल्लेख छ । तर १५ दिनभित्र जवाफ दिन अदालतको निर्देशनअनुसार मुख्यमन्त्री पौडेल, प्रमुख बिपक्षी दलका नेता बानियाँ लगायतले उक्त बिषय प्रदेश सभाको भएको जिकिर गर्दै लिखित जवाफ पेश गरीसकेका छन् ।
नेकपा संसदीय दलको बैठकका नेकपा ३ नम्बर प्रदेश संसदीय दलको प्रस्तावित विधान, संसदीय समितिका सभापतिहरुको प्रतिवेदन, प्रदेश मन्त्रीहरुद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। बैठकमा सत्तारुढ नेकपा प्रदेशका सांसदहरुले विधान, प्रतिबेदनहरुसँगै पार्टीको लेबी र स्थायी राजधानीका विषयमा समेत धारणा प्रस्तुत गरेका थिए ।