भिम चौधरीकैलाली । कुनै समय एक हजार रुपैया जुटाउन समेत प्रेमराज भट्टलाई गाहे थियोे । तर, अहिले प्रेमराज भट्टलाई करोडौं जुटाउन कुनै समस्या छैन । पढ्दापढ्दै च्याउ खेती थालेका प्रेमराज भट्टले छोटो समयमै कृषि फर्ममा अब्बल किसानको पहिचान बनाउँन सफल भएका छन् ।
कक्षा नौ को अध्ययन पश्चात थप अध्ययनका लागि कैलाली झरेका प्रेमराजलाई पढाई खर्च जुटाउन समेत धौधौ थियो । कैलालीको गोदावरी नगरपालिका–४, बसन्तपुरस्थित दिदीको घरमा बसेर एसएलसी उतीर्ण भएपछि कृषि जेटिए र इन्टरको पढाई संगसंगै बढाएका प्रेमराज भट्टलाई आर्थिक अवस्थाले गाँज्न थाल्यो । समस्याले गाँज्न थालेपछि प्रमराज भट्टले जुक्ति निकाले कृषि कर्म गर्ने । तर, प्रेमराज भट्टसंग मन हुँदाहुँदै धनले त्यति साथ दिएन । आर्थिक अवस्थामा कमजोर परिवारका भट्टले जसोतसो एक हजार रुपैयाको जोहो गरे अनी शुरु गरे च्याउखेती । एक हजार रुपैयाको च्याउको बीउ किनेर च्याउ खेती थालेको भट्टले ६ वर्षमै कृषिबाटै करोडौको कारोबार थालेका छन् । घरको पछाडी सानो छाप्रो बनाएर २०६८ सालमा च्याउ खेती शुरु गर्नुभएको युवा व्यवसायी प्रेमराज भट्टले अहिले कैलालीको चुरे गाउँपालिका–३, खानीडाँडामा २० टनेल र गोदावरी नगरपालिका–२, तेघरीमा ६ टनेलमा च्याउ खेती गरिरहनुभएको छ ।
भट्टले च्याउ खेतीबाट मात्र बार्षिक १० लाख बढी आम्दानी गरिरहनुभएको छ । वि.स. २०७१ सालमा एक बिघा क्षेत्रफलबाट शुरु गरिएको कुरिलो खेती अहिले ७ बिघामा फैलिएको छ । भट्टले अहिले कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा एक बिघा र लालपुरमा ६ बिघामा कुरिलो खेती गरिरहनुभएको छ ।
के.पी. कृषि फर्म दर्ता गरेर च्याउ खेती, कुरिलो खेती, कुखुरापालन, बंगुर पालन गरिरहनुभएका भट्टले सबै व्यवसायमा सफल भएका छन् । २०७० सालमा घरको पछाडी सानो खोर बनाएर पाँच सय कुखुरा पालनबाट व्यवसाय शुरु गर्नुभएको भट्टले अहिले आठ हजार कुखुरा पालन गरिरहनुभएको छ । भट्टले कैलालीको गोदावरी नगरपालिका–२, तेघरी, गोदावरी नगरपालिका–५, लालपुर र अत्तरिया बजारमा जग्गा लिजमा लिएर कुखुरा पालन गरिरहनुभएको छ ।
प्रत्यक्ष ११ जना र अप्रत्यक्ष एक सय बढीलाई रोजगारी दिईरहनुभएका भट्टले बंगुरपालन व्यवसाय समेत गरिरहनुभएको छ । २०७२ सालमा आफ्नो घर रहेको स्थान गोदावरी नगरपालिका–२, तेघरीमा २० वटा बाट शुरु गरेको बंगुर पालन व्यवसाय अहिले बढेर ५० बढी पुगेको छ । कृषिमै हात हालेको छोटो समयमै सन्तोषजनक भएको बताउँनुहुने प्रेमराज भट्टले तरिका जाने कृषि कर्ममा घाटाको व्यापार नहुने नहुँदो रहेछ ।
जेटिए अध्ययन गरेका प्रेमराजले शिक्षा संकायमा स्नातकोत्तर गरेका छन् । कृषिलाई निरन्तरता दिनकै लागि जेटिए पढेका प्रेमराजले पढेलेखेकाले कृषि पेशा अंगाल्दैनन् भनेर देखाउँनकै लागि शिक्षा संकायमा स्नातक गरे । च्याउ खेतीबाट व्यवसाय सुरु गरेका प्रेमराजले बिभिन्न कृषि कर्मसंगै पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्स पनि संचालन गरिरहनुभएको छ । प्रेमराजले कुखुरा पालनका लागि चाहिने सम्पूर्ण सामाग्री सप्लायर्सबाट कृषकलाई उपलब्ध गराउँदै आउँनुभएको छ । २०७४ मा १५ लाख रुपैयाबाट शुरु गरिएको पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्स अहिले करोडमाथी छ । पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्सबाट मात्र बार्षिक पाँच करोड बढी कारोबार गरिरहेका प्रेमराजले कृषि पेशाबाट मासिक लाखौ कमाई गरिरहनुभएको छ । कृषि पेशालाई आँगालेदेखि नै जीवन परिवर्तन भएको भनाई छ प्रेमराजको । जाने कृषिमै पैसा तमाम रहेको प्रेमराजको तर्क छ । कृषि कर्मसँगै कुखुरा पालक, बंगुर पालक तथा च्याउ खेती र कुरिलो खेती गर्न चाहने किसानका लागि समय समयमा तालिमहरु सञ्चालन गर्दै आइरहेका प्रेमराजले तालिम बापत पैसा भने नलिने गरेको बताउनुहुन्छ । मैले यसैवाट एउटा तेघरी र अर्को धनगढीमा गरेर २ ओटा पक्कि घर बनाए । तराईमा एक घूर जमिन थिएन तर आज २ बिगाहाको मालिक भए , जमिन खरिद गरे । सामानहरु ओसार पसार गर्न गाडीहरु किने ।
कृषि कर्म थालेको ६ वर्षकै अवधिमा गोदावर नगरपालिकाको तेघरी र धनगढीमा पक्की घर बनाउँन सफल भएका प्रेमराजले गोदावरी नगरपालिकाको लालपुरमा दुई बिघा जमिन जोडिसक्नुभएको छ भने सामान तथा कुखुरा ओसारपसारका लागि गाडी समेत किन्न सफल हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट च्याउ खेतीका लागि तीन लाख रुपैयाँबाट कुनै सहयोग नपाएको बताउँने प्रेमराजेले वास्तविक किसानलाई सरकाले नहेर्ने दुःखेसो छ । पहुँचका आधारमा कृषिको अनुदान दिईने परम्पराले आफूजस्ता वास्तविक किसान मारमा परेको प्रेमराजको गुनासो छ ।