काठमाडौं । बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट गत शुक्रबारदेखि बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ ।
मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्नेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले जानकारी दिए । यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ ।आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको थियो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ७ र अधिकतम २७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी र मध्यका पहाडी भेगमा सोमबार अपराह्नपछि मेघ गर्जनसहित एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार राति मुलुकको पूर्वी र पश्चिम भू–भागमा आंशिक बदली रहने सम्भावना देखिन्छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै हुने महाशाखाले जनाएको छ ।
पछिल्ला तीन दिनमा काठमाडौंको न्यूनतम तापक्रमको दर घट्दै गएको विभागको तथ्यांक छ । बिहीबार न्यूनतम तापक्रम १५ दशमलव ५ रहेकोमा शुक्रबार र शनिबार १४ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । दसैंअघि नै मनसुन बाहिरिसकेकाले दसैंमा पानी पर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । बंगालको खाडी वा अरब सागरमा सामुद्रिक आँधी निर्माण भएमा त्यसको प्रभावमा नेपालमा पानी पर्ने सम्भावना हुन्छ । मौसमविद् प्रधानांगका अनुसार सामुद्रिक आँधी निर्माण हुने सम्भावना अहिलेको अवस्थामा छैन ।
पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यून चापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको तथ्यांक महाशाखासँग रहेको छ । वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष चाँडो चिसो सुरु भएको महाशाखाका मौसमविद् प्रधानांगले जानकारी दिए ।
धुलोको कणका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष २० असोजमा १५ दशमलव ३ डिग्री सेल्सियस रहेकामा यसपटक २ डिग्री सेल्सियस तापक्रम घटेको छ ।
‘सिजनल इफेक्टले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ,’ उनले भने, ‘दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ ।’ मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्नेछ ।
न्यून चापीय क्षेत्रको बादल सिरिया, इरान, अफगानिस्तान र भारतको जम्मु, काश्मीर तथा उत्तराखण्ड हुँदै नेपालको पश्चिमी भेगमा प्रवेश गर्दा अघिल्लो वर्ष यो समयमा वर्षा भइरहेको थियो । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । महाशाखाका अनुसार केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ । यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
‘तापक्रम घट्दो क्रममा छ, यो गर्मी र जाडोको ट्रान्जिक्सनल फेज हो,’ मौसमविद् प्रधानांगले भने, ‘अब चिसोबाट बच्न समान्य बाक्लो कपडा लगाउने समय आइसकेको छ ।’
विशेषगरी चिसोले छिट्टै प्रभाव पार्ने व्यक्तिले अब बिहान बेलुकी बाक्लो कपडा प्रयोग सुरु गर्नुपर्ने अवस्था छ । पूर्वानुमान महाशाखाका अनुसार पूर्वी वायुको प्रभावले केही ठाउँमा बादल देखिए पनि अब तत्काल पानी पर्ने सम्भावना नरहेको बताइएको छ । राजधानी दैनिकमा समाचार छ ।