काठमाडौं ।मितिः सेप्टेम्बर २८, स्थानः लखनउ, भारत । घटनाः अपहरण शैलीमा सुनव्यापारी किशोरीलाल सोनी कब्जामा ।
स्कुटीमा आइरहेका व्यापारीलाई कब्जामा लिएर कारमा हालेर ल्याइएको सिसिटिभी फुटेज देखाउँदै भारतीय सञ्चारमाध्यमले नेपाल प्रहरीको गुण्डागर्दी शैली भन्दै लगातार समाचार प्रसारण र प्रकाशन गरेको छ । ६५ वर्षीय सोनीलाई अपहरण शैलीमा पक्राउ गरिएको, विना अनुमति नेपाल प्रहरी भारत आएर व्यापारी उठाएको भन्दै नेपाल प्रहरीको खेदो खनिरहेको भारतले समाचार र सूचनालाई नै गलत ढंगले प्रस्तुत गरेको छ । यो घटनाले नेपाल र भारतबीच दरार ल्याउन सकिन्छ कि, नेपाल भारतसँग झुक्छ कि भन्ने भारतीय सञ्चार माध्यमको आसय देखिन्छ । पछिल्लो ४८ घण्टा भारतका सञ्चारमाध्यम (टिभी, अनलाइन, पत्रिका)ले नेपाल प्रहरीले भारतीय व्यापारी अपहरण गरेर घटना लुकाएको आरोप लगाइरहेको छ । अमर उजालाले त नेपाल प्रहरीद्वारा भारतीय व्यापारी ‘अगवा’ लेखेको छ ।
के हो घटना ?२८ सेप्टेम्बरमा किशोरीलाल पक्राउ परेको घटनालाई नेपाल प्रहरीले असोज १४ गते नै पुष्टि गरेको छ । १४ असोजमा नेपालगञ्जमा पत्रकार सम्मेलन गरी सुन व्यापारी किशोरीलाल नेपाल आउने क्रममा सीमाबजारबाट पक्राउ परेको र अनुसन्धान भइरहेको जनाएको छ । यो घटनामा लुकाउनु पर्ने केही कुरै छैन । सुन कारोबारी किशोरीलाल समातिएको कुरा नेपाल प्रहरीले लुकाएको छैन । लखनउ प्रहरीमा पनि २९ सेप्टेम्बरमा नेपाल प्रहरीले किशोरीलालको खोजीमा आएको र समातिएको जानकारी दिइसकेको छैन ।
तर भारतीय सञ्चार माध्यमले नेपाल प्रहरी जतिखेर पनि भारत छिरेर मान्छे उठाउने काइदा के हो, लखनउको सुरक्षा गम्भीर भयो भन्दै प्रश्न खडा गरेको छ । नेपाल प्रहरी र नेपालकै स्वाभिमानमै प्रहार गरेको छ । किशोरीका छोरा विकासले लखनउका मुख्यमन्त्री, प्रधानमन्त्रीलाई पत्र लेखेर मानवखधिकारको पाटोबाट घटनालाई अरु सनसनीखेज बनाएका छन् भारतीय सञ्चारमाध्यमको सहयोगमा ।
[caption id="attachment_69579" align="alignright" width="150"]
किशोरीलाल[/caption]
को हुन् किशोरीलाल सोनी ?भारतीय सुन व्यापारी किशोरीलाल सोनी पछिल्लो १३ वर्ष नेपाल आउजाउ गरिरहने सुन व्यापारी भएको नेपाल प्रहरीको सिआइबी टोलीको प्रतिवेदनमा उल्लेख छ । उनी सुन कारोबारी हुन् । लखनउका सुन कारोबारीमा चलेका व्यापारी हुन् । उनकी छोरी दीपाको २०६० सालमा नेपालगञ्जका नाम चलेका सुन व्यापारीसँग विवाह भएको थियो । तर विवाहको दुई वर्षमै दीपा लखनउ गएकै दिन दीपाका सासुससुरा, पति, परिवारका सदस्य र कामदारसमेतको हत्या भयो । दीपा नेपाल फर्केर आइनन् । दुईवर्षपछि कागजात मिलाएर नेपालगञ्जको घर बेचिन् । अहिले भारतमै विवाह गरेकी छिन् । पाँचजनाको हत्या भएको १३ वर्षसम्म प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।
संकटकालको डरलाग्दो हत्यामितिः २०६२ फागुन २२ गते राति । मुलुकमा संकटकाल थियो । सेनाको गस्ती थियो । नेपालगञ्जको चर्चित चोक त्रिभुवन चोकमै थियो दीपक ज्वेलर्स । मालिक थिए दीपक हेमकार । भारतीय सुन व्यापारी किशोरीलालका छोरी विवाह गरेका थिए । नाम पनि मिलेको थियो दीपा । दीपकको परिवारको खुशी २ वर्ष पनि टिकेन । अर्थात् विवाहको दुई वर्षमै २२ फागुनमा दीपा लखनउ हिँडिन् । त्यही रात दीपक, दीपकका बुबा जगदीप, आमा सीतादेवी, हजुरआमा गुलाबदेवी र कामदार भोल्टे थारुको एकै प्रकृतिमा घाँटी रेटेर हत्या भयो । संकटकाल, सेनाको गस्तीमा नेपालगञ्जको मुख्य बजारमा भएको त्यो हत्यामा संलग्न आजसम्म फेला पर्न सकेको छैन ।
त्यसपछि के भयो ?माइत गएकी दीपा फर्केर आइनन् । घटनाको भोलिपल्ट बिहानै घटना भएको घरमा पुगेका नेपालगञ्जका अग्रज पत्रकार जे पाण्डे भन्छन्, ‘घर सबैतिरबाट बन्द थियो, पछाडिबाट धोती पटुकाको सहारामा माथि गएर हत्या गरेर ओर्लेको जस्तो देखिन्थ्यो ।’ हत्यारा पत्ता नलागेको एउटा रहस्यमय घटना थियो ।
दीपाले के के गरिन् ?धेरैको आशंका थियो, यो घटनामा दीपाकै हात छ । तर उनी फर्केर नेपाल आइनन् । पाँचजनाको हत्या मात्र भएको थिएन, २९ लाख रुपैयाँ बराबरको लुटपाट भएको थियो त्यो राति । कुनै सुराक पाएन प्रहरीले । बरु दुई वर्षपछि ८७ लाख रुपैयाँमा दीपाले त्यो घर पनि बेचिन् । नेपालगञ्जका केही राजनीतिक दलका नेताहरुको पनि यसमा दीपालाई साथ थियो भन्ने गाइँगुइँ छ । बालबच्चा नभएकी दीपाले हत्यारा पत्ता लगाउनुको सट्टा चुपचाप घर बेचेर भारत गइन् । उतै अर्कै विवाह गरिन् । भारतीय सञ्चारमाध्यमले किशोरीलालको अपहरणमा समाचारमा भनेका छन्, दीपाका परिवारको हत्या मामलामा किशोरी समातिएको हुनसक्छ । दीपाको घरबार राम्रो नभएपछि भारत फर्किएको बताएका छन् ।
किन तोडमोड हुँदैछ सूचना ?नेपाल प्रहरीको दाबी छ, सुन कारोबारी नेपाल आउने क्रममा नेपालगञ्जबाट समातिएका छन् । इन्टरपोलमा रहेको यो घटनामा इन्टरपोलका प्रहरीले समातेर नेपाल प्रहरीलाई सीमामा ल्याएर नेपाल प्रहरीलाई किशोरी बुझाएको हुनसक्छ । असोज १४ गते नै घटना नेपालगञ्ज प्रहरीले सार्वजनिक गरिसकेको छ । तर किन एक हप्तापछि पछिल्लो ४८ घण्टा भारतीय सञ्चार माध्यम नेपाल प्रहरीमाथि खनिइरहेको छ ? नेपालसँग बढ्दो दूरीलाई भारतीय सञ्चारमाध्यम किन आगोमा घ्यू थपिरहेका छन् ? संयुक्त सैन्य अभ्यासमा नेपाली सेना उपस्थित नभएपछि नेपालले भारतलाई हेप्यो, नेपालबारे नरेन्द्र मोदीको कुटनीति सफल हुन सकेन भन्दै नेपाली स्वाभिमानमाथि प्रहार गरिरहेको भारतीय सञ्चारमाध्यम किन यो घटनामा नेपाल प्रहरीलाई बदनाम गर्दै भारतप्रति टुटेको मन लिएर बाँचिरहेका नेपालीलाई अरु उत्तेजित पारिरहेका छन् ? नेपाल प्रहरीले गरेको काममा प्रश्न गर्ने उसको अधिकार रहला, तर एउटा सार्वभौम मुलुकको सुरक्षा संयन्त्रलाई गुण्डा किन भनिरहेको छ ? भिडियो सौजन्यः न्युज २४ भारत
[video width="398" height="224" mp4="https://45.77.241.73/wp-content/uploads/2018/10/43259451_317147935744775_3045286556240707584_n.mp4"][/video]