आशीषबहादुर सिंहबझाङ । छोराछोरी न आफन्त । एकल महिलाको बास त्रिपाल र प्लाष्टिकका टुक्रा अनि चाउचाउ र बिस्कुटका कार्टुनले बेरबार पारेको टहरामा । ओढ्ने ओच्छ्याउने पनि चाउचाउ र विस्कुटका कार्टुनको सहारा लिनु पर्ने बाध्यता । एक छाकका लागि गाउँ डुल्नु पर्ने बाध्यता । कसैले काम दिए एक छाक खान पाइने आसा । नत्र भोकभोकै । त्रिपालमुनि बासमा के दशैँ, के चाडपर्व ? अर्थात् केदारस्य गाउँपालिका–९ झोता बजारमा बस्दै आएकी बिस्ना बादीको दैनन्दिनी ।
गाउँगाउँमा सिंहदरबार भने पनि बिस्नाका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै छ । थलारा गाउँपालिका खोली माइत भएकी बिस्नाको यो वर्षौँ पुरानो नियति हो । सानै उमेरमा आमाबुबा बित्नु भयो । बुंगल नगरपालिकामा बसोबास गर्ने टीका वादीको जिम्मा लगाइदिए आफन्तले । विवाह गरेको केही महिना नबित्दै श्रीमानको निधन भयो । आफन्तले अलच्छिनी भन्दै घर निकाला गरिदिए । माइत घर जाउँ भने आफन्त छैनन् । अनि त्रिपालको झुपडीमुनि ओतिएको छ बिस्नाको जिन्दगी ।
पराल, ससाना चाउचाउ, बिस्कुटका कार्टुन र प्वालै प्वाल भएको पाल टाँगेर बनाइएको झुपडीलाई पक्की घर सम्झदै १२ वर्षदेखि बिस्नाको जिन्दगी बितिरहेछ । बिहान बेलुकाको छाक टार्न गाउँमा माग्दै हिँड्नु पर्छ । ‘एक सरो कपडा फेर्ने, मीठो खाने मन त हुन्छ नि तर मन भएर के गर्नु, धन छैन,’ बिस्नाले भनिन्, ‘मनका चाहना मनभित्रै लुकाएर राख्नु पर्छ ।’
फोटो खिचेर लैजान्छन्उद्धार गरिदिन्छु भन्दै धेरैले फोटो र झुपडीको फोटो खिचेर लगेको सुनाउँछिन् बिस्ना । ‘तपाइईं जस्ता धेरै आए फोटा खिच्ने,’ बिस्नाले भनिन्, ‘दुःखबारे सोधपुछ गर्छन्, अनि जान्छन्, सहयोग गर्ने कोही हुँदैनन् ।’ ५७ वर्ष पुग्न लागेकी बिस्नाले भनिन्, ‘अब त काम गर्न नसक्ने अवस्थामा पुग्दैछु, थलिएर मरेँ भने कसले फाल्ला मेरो लाश ?’