काठमाडौं । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरे ।
२०७५ साल असोज १४ गते आइतबार राति १२ बजे । निश्चल फेसबुकमा आए । काङ्ग गुरुङ नामको फेसबुकबाट राति साढे नौ बजे फेसबुकमा अंग्रे्रेजीमा लेखेका थिए, ‘धेरै गम्भीर कुरा हुँदैछ, म राति १२ बजे लाइभ आउँदैछु, कृपया मेरो लाइभ रेकर्ड गर्नुस् ।’
राति १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखेः तपाईंहरुमध्ये कति जना लाइभ आत्महत्या हेर्न चाहनुहुन्छ ? यसमा भने उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेको कमेन्टहरु गरेका थिए । कसैले जोकको रुपमा लिएको प्रतिक्रिया दिएका थिए भने कसैले के गर्न लागेको प्रतिक्रिया दिएका थिए ।
आत्महत्याको संकेत गर्ने स्ट्याटस लेखेलगत्तै उनले थप तीन वटा स्ट्याटस लेखे । समय थियोः राति १२ बजे । प्रतीक्षा गर्नुस् । अझ उनले यतिसम्म भन्न भ्याए की सबैले लाइभ रेकर्ड गर्न नबिर्सनुस् है । राति ११ बजेर ४७ मिनेटमा उनी लाइभमा आउँछन् । ह्विस्की खाँदै लाइभमा बोलिरहन्छन् । लाइभ भिडियो काटिन्छ । उनी लाइभमा अङ्ग्रेजीमा केही भन्दै छन् ।
मध्यरात १२ बजेर १३ मिनेटमा उनी फेरी लाइभमा आउँछन् । मेरी आमाको यो स्कार्फले झुण्डिएर मर्छु भन्दै देखाउँछन् । डेढ मिनेटजति पछि फेरि लाइभ काटिन्छ । धेरैले उनलाई सम्झाउँछन् त्यसो नगर के हो समस्या भनेर भन हामी छौँ भन्छन् तर उनी कसैको कुरा सुन्दैनन् । लाइभ हेरेर कमेन्टमा उनको जवाफ फर्काउँछन्– ‘मेरो समस्या तपाईंहरुले सोचेजस्तो छैन, मर्नु नै मेरो समाधान हो । मेरो ममी सुतिसक्नु भएकाले यो निर्णय गर्दैछु ।’
भिडियो लाइभ भइरहँदा कोही आएको जस्तो देखिन्छ । निश्चलको जवाफ हुन्छ, तपाईं आरामले सुत्नु । दुई घण्टापछि तपाईँलाई कहिले पनि डिस्टर्ब हुने छैन । राति १२ बजेर २२ मिनेटमा उनी लाइभमा आउँछन् र झण्डै १७ मिनेट कुरा गर्छन् । लाइभ काटिन्छ, त्यसलगत्तै फेरि लाइभमा आउँछन् । लाइभमा देखाएरै उनी टेबलमा चढ्छन् र स्कार्फको पासो आफ्नो घाँटीमा लगाउँछन् । अनि, झुण्डिन्छन् । लगत्तै लाइभ भिडियो काटिन्छ ।
झुण्डिँदा झुण्डिँदै भिडियो काटिएकाले कसैले ठट्टा पो गरेको हो कि भनेर शंका गरे । कसैले लाइभ भइरहँदा कति खेर गर्ने हो, सुत्न ढिला भइसक्यो भनेरसमेत जिस्क्याएका थिए । तर, भोलि बिहान चितवनमा एकजना युवक फेसबुक लाइभमै झुन्डिएर आत्महत्या गरे भन्ने समाचार भाइरलजस्तै बन्योे । अघिल्लो दिन राति लाइभमा हेर्ने धेरै जसोमान्छेले उनीलाइ चिनेकासम्म पनि थिएनन् । तर केही समय पछि थाहाँ भयो अघिल्लो बेलुका फेसबुकमा लाइभ गरेर आत्महत्या गर्ने निश्चल तामाङ थिए । अहिले फेसबुकले झुण्डिएको भिडियो उनको प्रोफाइलबाट हटाइसकेको छ ।
निश्चलको परिवारले छोराले आत्महत्या गर्छन् भन्ने कल्पनासम्म गरेका थिएनन् । भदौ २३ गते निश्चल तामाङको परिवारले भव्यरुपमा उनको जन्मदिन मनाएका थिए । सरल स्वाभावका निश्चल अरुलाई छिटै विश्वास गर्ने विशेषताका थिए । अरुले भनेको कुरालाई गम्भीररुपमा लिने उनको बानी थियो । गाउँघरमा उनको धेरै साथी छन् । साथीबीच पनि उनी प्रिय थिए ।
ट्याटु आर्टिष्ट र कुकसमेत थिए । म्यूजिक सिक्ने उनको रहर थियो । सानैदेखि म्युजिकमा शोख थियो । गिटार बजाउन माहिर थिए, गीत गाउँदै रमाइलो गर्ने उनको बानीले उनको अघिपछि थुप्रै साथीहरु हिँड्थे । काठमाडौंमा जन्मिएका निश्चल तीनवर्ष अघि बुबा जीवन लामा र आमा कमलासँग चितवन आएका हुन् ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ७ मा सानो जस्ताले छाएको उनीहरुको घर छ । घरमा हजुरबुबा, हजुर आमा, बुबा आमा र निश्चलकी श्रीमती बिसुजा छिन् । निश्चल एक्लो छोरा । २५ वर्ष पूरा भएर भदौ २३ गतेदेखि २६ वर्षमा पाइला चालेका थिए । १२ कक्षासम्म पढेका निश्चल लागू औषध प्रयोग गर्थे । १० कक्षा पढ्दाखेरी साथीभाइको लहलहैमा लागूऔषध प्रयोग गर्न थालेका थिए । निश्चललाई सुधार गर्न उनको सानीमाले काठमाडौंमै दुईपटकसम्म सुधार गृहमा राखेका थिए । पछि सुधारगृहबाट निश्चल भागेर चितवन आए । निश्चलले दुईवर्ष अघि मात्रै झापाकी बसुजासँग मागी विवाह गरेका थिए ।
त्यो दिन निश्चलले बुबासँग बियर पिउन मन लागेको बताएका थिए । बियर किन्न बुबासँग तीनसय रुपैयाँ मागे । बुबाले आफूसँग खुद्रा पैसा नभएकाले फुपुको पसलवाट बियर ल्याउन पठाए । निश्चल फुपुको पसल पुग्दा पसल बन्द भइसकेको रहेछ । निश्चल त्यतिकै फर्किए र भोलि मात्रै बियर पिउनुपर्ला भन्दै कोठामा छिरे । रातको झण्डै ११ बज्न लागेको थियो । बुबाले पनि आफ्नो मोबाइल चलाउन थाले, छोरा कोठामा छिरेर अंग्रेजीमा बोल्न थाले । निश्चलको तामिल साथीहरु थिए । काठमाडौँ पढ्दाताका बनाएका तामिल साथीहरु एकदुईपटक चितवनको घरमै समेत पुगेकाले साथीसँग अंग्रेजीमा बोलेको बुृबा आमालाई भान भयो ।
निश्चल बोल्दाबोल्दै बुबाआमा निदाएछन् । पछि बुबाको मोबाइलमा तारन्तार फोन आउन थाल्यो । बुबाले फोन उठाए । निश्चलका साथीहरुले फोन गरेका रहेछन् । त्यस अघि पनि थुप्रै फोन आएको रहेछ । उनकै साथीहरुले फेसबुकमा निश्चलले आत्महत्या गर्न थालेको भिडियो हालेकोले कोठामा गएर हेर्न भने । निश्चलले भित्रबाट ढोकाको चुकुल लगाएका थिए । बाहिर सटर थियो । एउटा सटर खुलेन । अर्को सटर भने सजिलै खुल्यो । बुबाले सटर खोलेर हेर्दा आमाको सल घाँटीमा लगाएर झुण्डिरहेको अवस्थामा देखे । हतारमा सल काटेर भूइँमा झारे । त्यतिबेलासम्म उनको शरीर चिसो भइसकेको थियो ।
https://www.youtube.com/watch?v=PQANkMT79c0&t=288s