काठमाडौं । गायक मुस्कान मुकारुङको पहिलो गीति एल्बम “प्रारम्भ” सार्वजनिक भएको छ । गत आईतबार बागबजारस्थित होटेल हार्दिकमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजना गरिएको उक्त समारोहका प्रमुख अतिथी कवि, गीतकार तथा साहित्यकार वैरागी काईला , अतिथीहरु गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, संगीतकार बुलु मुकारुङ, गायिका कुन्ती मोक्तान र समाजसेवी तथा संगीतकर्मी भक्त राईले एल्बमको विमोचन गरेका हुन् ।
विमोचित एल्बममा कूल ५ वटा गीतहरु संग्रहित छन् जसलाई सेवा रेकर्डिङमा रेकर्ड गरिएको हो । जसमध्येको “चिया बारीको पातैपात” गीतको भिडियो समारोहमा सार्वजनिक गरिएको थियो । गायक मुस्कानको स्वर, वसन्त मुकारुङको संगीत र जीवन मुकारुङको रचना रहेको उक्त गीतमा मन्दिप मुकारुङ र सिम्रन श्रेष्ठको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=Ug1xV9qRtpc
कार्यक्रममा प्रमुख अतिथी वैरागी काइलाले गायक मुस्कानसंगै परिवार नै सांगितिक क्षेत्रमा निपुर्ण रहेको बताउँदै मुस्कानको पहिलो एल्बम राम्रो बनेको बताए । तर उत्कृष्ट बन्न अझै धेरै मेहेनत गर्न पनि उनले सुझाव दिए ।
मुस्कानका गुरु समेत रहेकी गायिका कुन्ती मोक्तानले शिष्यको पहिलो एल्बम विमोचन भईरहँदा आफ्नो एल्बम विमोचन भए झैं अव्यक्तनीय खुसी महसुस गरेको बताईन् । साथै प्रतिभावान भएर पनि नयाँ पुस्ताले विभिन्न अभाव तथा आर्थिक कमजोरीका कारण अघि आउन नसकेकोमा चिन्ता व्यक्त गरिन्।
गायक मुस्कानले विमोचनको उक्त क्षणलाई जीवनभर विर्सन नसकिने बताए । साथै जीवनको पहिलो रेकर्डेड गीत पनि आफ्नो एल्बममा समावेस भएकाले एल्बमको नाम नै प्रारम्भ राखिएको प्रष्ट पारे ।
सोहि कार्यक्रममा एल्बममा समावेश नभएको अर्काे गीत “चैते दशैंलाई” पनि सार्वजनिक गरिएको थियो।