नेपाली समाजमा मनाइने महान् पर्वमध्ये शारदीय नवरात्र बडा दशैँं शुरु भएको छ । आश्विन शुक्लपक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म पूरै एक पक्षभर मनाइने यस पर्वको प्रथम दिनमा घटस्थाना गरी आद्यशक्ति भगवती दुर्गाभवानीको आराधना थालिन्छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति चसप्तम् कालारात्रिति महागौरीति चाष्टमम्नवम् सिद्धिदातृ च नवदुर्गाः प्रकीर्तिताः ।।
[caption id="attachment_69928" align="alignright" width="150"]
-नारायण भण्डारी[/caption]
अथवा,शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा,कुष्माण्डा,स्कन्दमाता,कात्यायनी,महासरस्वती,महाकाली, महागौरी र सिद्धिदात्री गरी दिनहुँ नवदुर्गाको पूजा गरिने हुँदा नौ दिनको अवधिलाई नवदुर्गा नवरथा,तथा नवरात्र भन्ने गरिन्छ । र दशौं दिन देवी सिद्धदात्री,विजया वा अपराजिताको पूजा गरी देवीपूजन विसर्जन गर्नुका साथै घटस्थापनाको जल अभिषेक गरी देवीको प्रसादस्वरुप टीका र जमरा लगाउने गरिन्छ ।
शारदीय पर्व आश्विनशुक्ल पक्षका १५ दिनसम्म मनाइने नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । मिठो खाने राम्रो लगाउने र आपसमा शुभकामना बाँडेर खुशी हुने यस पर्वमा देवीमन्दिर तथा दशैँंघरमा दुर्गा भवानीकापूजा र शक्तिको साधना,जौको जमरा, पिङको आनन्द,अक्षताको टीका मुख्य आकर्षण हुन् ।
अधिकाधिक देशवासीले मनाउने पर्व दशैँंका अवसरमा राज्य तथा राज्यमा सञ्चालित संस्थाका सारा कर्मचारीलाई दशैँपर्वको बोनसभत्ता दिने,देशभरका प्रमुख देवीमन्दिरमा राष्ट्रिय पूजा गर्न रकम पठाउने, राज्यले सबैभन्दा लामो पर्व बिदा दिने ,दशैँं मनाउन बहुसंख्यक नेपाली आफ्नो मूलथलो वा गाउँघर जाने र मातापिता आफन्तजन भटेर आशीर्वाद लिन ठूलो संख्यामा मानिस घर फर्कन्छन् ।
दशैँं पर्व राम्रो लगाउने र मीठो खाने चाड भएकाले सर्वसाधारणले आफ्नो कमाइको ठूलै अंश खाद्यपदार्थ, नयाँ लुगा,गरगहना किन्नमा खर्चन्छन् । यसले गर्दा बजारमा विशेष चहलपहल हुन्छ । दशैँका बेला शहरहरु सुनसान हुन्छन् भने गाउँघरमा हर्षोल्लास छाएको हुन्छ । मुलुकमा मात्र होइन, विश्वभर रहेका नेपालीमाझ यस पर्वको हर्षलहर चल्ने हुँदा यो पर्व नेपाली जातिको राष्ट्रिय पर्वका रुपमा रहेको पाइन्छ ।