सुखीलाल चौधरी उदयपुर । कक्षा १० मा अध्ययनरत अर्थात् एसइई परीक्षा तयारी गरिरहेकी छात्रा मनमाया (नाम परिवर्तन) करणीमा परेपछि विद्यालयबाटै विस्थापित भएकी छिन् । वैशाख २८ गते कटारी नगरपालिका–४ सिम्ले पानीट्याङकी बस्ने ३५ वर्षीय दीपेन्द्र कोइरालाबाट जबर्जस्ती करणीमा परेपछि बालिका विद्यालयबाट विस्थापित भएकी हुन् ।
कटारी नगरपालिकाकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत मनमाया पढ्ने विद्यालयका प्रधानाध्यापकका अनुसार साढे चार महिनादेखि मनमाया विद्यालयमा अनुपस्थित छिन् । जेठ महिनामा ७ दिन मात्रै विद्यालय आए पनि त्यसपछिका नआएकी हुन् । एसइई परीक्षा फर्म भर्ने समय आए पनि उनी विद्यालयमा उपस्थित नभएको प्रधानाध्यापकले बताए । प्रधानाध्यापकका अनुसार, उनी प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामा समेत अनुपस्थित भइन् । पीडितका अभिभावकका अनुसार बालिकालाई मानसिक तनाव, विद्यालयमा जाँदा पनि त्यही घटना झल्को आइरहने, पढ्न मन नलाग्ने, त्यही घरमा बसेर पढ्दा राति आफैँ तर्सने लक्षण देखिएको छ ।
पीडितका बुबाका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका दीपेन्द्र कोइराला उदयपुर जिल्ला प्रहरी कार्यालय परिसरबाटै फरार भए । कोइरालाले आफनै घरमा डेरा गरी बस्ने बालिकालाई करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले असार १३ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमामा बुझाएका थिए । कोइरालालाई पक्राउ गरेर अनुसन्धान गर्ने र मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालय कटारीलाई हुँदाहुँदै सोही दिन जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउनु पर्नेमा असार १४ गते बिहान दुवै पक्षको अभिभावकलाई बोलाई छलफलक्रममा आरोपित कोइरालालाई प्रहरी कार्यालयबाट फरार गराइएको पीडितको भनाइ छ । पक्राउ परेकालाई मुद्दा दर्ता गर्न प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टलाई भन्दा सुनुवाई नै नगरेको अभिभावकको गुनासो छ । एसपी भट्टको कार्यकालमा अभियुक्त कोइराला फरार भएका हुन् । प्रहरी कार्यालयले त्यस समय मुद्दा दर्ता नगरी आलटाल गर्दै मिलापत्र गराउन खोजेको पीडित पक्षको गुनासो छ ।
एसपी भट्टलाई प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको सूचना बमोजिम २०६४ साउन १७ गते दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट उदयपुर सरुवा भएर आएका थिए भने उदयपुरबाट २०७५ साउन १६ गतेबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ४ पोखरामा सरुवा भएर गएका छन् ।
सिसी क्यामरा र बलियो सुरक्षा घेराभित्रबाट पीडक कोइराला फरार हुनु रहस्य लुकेको पीडितका बुबाले बताए । पीडितका आफ्न्तका अनुसार आरोपित कोइरालालाई प्रहरी कार्यालयबाट उनकै भाइ राम कोइरालाले प्रहरीकै सामुन्ने मोटरसाइकलमा चढाएर भगाएको आरोप छ ।
फरार कोइरालालाई पक्राउ गरी कारबाही गर्न उजुरी दिएर पटकपटक प्रहरी कार्यालय पुग्दा प्रहरीले कसरी अपराधी चिन्नु फोटो लिएर आउनु भन्दै टार्ने गरेको पीडितका अभिभावकले बताए । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयमा असार २१ गते नै मुद्दा दर्ता भएर आवश्यक प्रक्रियाका लागि पत्र आएको बताए ।