हुमाकान्त पोखरेलगुल्मी । सदरमुकम तम्घासको एक महत्वपूर्ण सरकारी भवन संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । भवन दुई तल्ले चिटिक्क परेको छ । सदरमुकामको माथिल्लो भागमा भएकाले बस्नको लागि निकै आनन्द छ । यो भवनबाट सदरमुकामका प्रायः बजार देख्न सकिन्छ । तत्कालिन यो भवनको जस्तो सुन्दर सजावट भएका भवन जिल्लामा कम थिए । जुन भवनमा कुनै समय बिशिष्ट अतिथि राखिन्थ्यो । अतिथीलाई राख्नकै लागि बाग्लुङ्गका ठेकेदार मार्फत बहुमुल्य काठ र ढुङ्गाबाट भवन निर्माण गरिएको छ । अहिले यो भवनलाई भुत बंगाला भन्ने गरिएको छ । संरक्षण र सम्बर्धनको अभावमा यो भवन नाम नै भुत बंगालो बन्न गएको हो । भुत बंगालोमा परिणत भएको अतिथि गृहमा भान्सा कोठा, हल र अन्य अतिथि गरी आठ वटा कोठा रहेका छन् ।
राज्यकै ठूलाबडा बसे तर हेरेनन्
भवनमा वि.स. ०४२ सालमा हेलेन शाहादेखि नेपालका विभिन्न मन्त्री तथा अन्य बिशिष्ट पाहुनाहरु आएर बस्ने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा लामो समय कार्यरत नायब सुब्बा भुवन बस्नेतले बताउनुभयो । बस्नेतका अन्ुसार आवास गृह निर्माण भएयता ०४९ सालमा पुनः निर्माण गरिएको थियो । राज्यबाट मर्मत संभारमा कुनै पनि रकम नआएपछि ०५४ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले स्टेशनरी खर्च कटाएर मर्मत गरेका थिए । त्यो बाहेक अहिलेसम्म थुप्रैले यो भवन प्रयोग गरेपनि कुनैले पनि मर्मत गरेनन् । नत राज्यले नै बजेट पठायो । जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको यो भवन छ आना तीन पैसा क्षेत्रफलमा रहेको छ । आवास गृह रहेको स्थानमा अन्य खाली ठाउँ समेत रहेको छ ।
संरक्षण नभएपछि नामको अपव्याख्या
पछिल्लो समय यो भवन प्रयोग बिहीन बन्दै गएपछि तारबार गरेर राखिएको छ । तर भवन भत्किने अवस्थामा छ । प्रयोगमा नआउनु, जिर्ण बन्दै जानु र वरिपरी घरहरु पनि नभएर डराउने अवस्थामा रहेकाले धेरैले भूत बंगला भन्ने गरेका छन् । ‘यो तम्घासको इतिहास हो, संरक्षणमा राज्य र नागरिक दुवै चुकेका छन्,’ स्थानीय तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थीले भने, ‘बुढो भएपछि मान्छेले मात्रै हैन, भौतिक पुर्वाधारले पनि दुख पाउने रैछन् ।’ उनले यसको अस्तित्व हुने बेलासम्म सबैले अतिथि गृह भने पनि जिर्ण बन्दै गएपछि संरक्षणको साटो नामको समेत अपव्याख्या गरेर भूत वंगालो भन्ने गरेको बताउनुभयो ।
क्याम्पसदेखि गाविस कार्यालयसम्म
अतिथिको लागि निर्माण गरिएको आवास गृहमा केही समय विभिन्न कार्यालयहरु पनि बसे । ०२९ सालमा गुल्मी इन्टर क्याम्पस पनि त्यहि भवनमा राखिएको पूर्व क्याम्पस प्रमुख पन्थीले बताए । हाल उक्त क्याम्पस बन्द भएको छ । पछि केही समय तत्कालीन तम्घास गाविसले पनि सोही भवनमा कार्यालय संचालन गरेको थियो । त्यस्तै केही समय रेसुङ्गा नगरपालिकाको कार्यालय र सेतो गुँरास भन्ने संस्थाले कार्यालय संचालन गरे । अहिले ती संस्थाहरु पक्की भवनमा छन् । तर त्यो अतिथी गृह एक्लिदै र जिर्ण बन्दै गएको छ । अहिले आवास गृहको केही भाग चर्किएको छ ।
मर्मत के का लागि गर्ने ? प्रजिअ
भवनको तल पट्टी प्रमुख जिल्ला अधिकारीको सरकारी निवास छ । अहिले बिशिष्ट पाहुना राख्न सदरमुकाम तम्घासमा थुप्रै होटल छन् । प्रमुख जिल्ला अधिकारीकै भवन पनि आधुनिक छ । जसका कारण यो भवन साँच्चिकै भूत बंगालो भएको छ । त्यसैले जुन भवन धेरैको नगरमा गिरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पहिलेदेखि नै प्रयोग बिहीन, मर्मत र संरक्षण नहुँदा जिर्ण बन्दै गएको बताए । ‘म जिल्ला आउने बित्तिकै हेरेको हुँ, अहिले मर्मत गर्न पनि खर्च पनि धेरै लाग्ने भएछ,’उनले भने,‘मर्मत गरेपनि कसका र केका लागि ?’। तत्कालीन समयमा यो भवनको महत्व धेरै भएपनि समयले धेरैलाई आधुनिक बनाएको उनले बताए । आवास गृह प्रयोगबिहीन र वरिपरी घरहरु नबनुन्जेल त्यस स्थानमा प्रेमी प्रेमीकाहरु भेट हुने स्थलको रुपमा पनि परिचित मानिथ्यो । स्थानीय तह कार्यान्वयनसंगै जिल्लाका धेरै कार्यालय गाउँ गएपछि जिल्लाका झण्डै एक दर्जन कार्यालय सुनसान भइरहेका छन् ।