काठमाडौं। त्रिशूलीका रामकृष्ण तामाङ १८ असोजमा मनाङबाट काठमाडौं आए । उनी काडमाडौं आउँदा नौबिसेदेखि सुरु भएको जाम कलंकीसम्म थियो । ट्राफिक प्रहरी बल्लतल्ल जाम खोल्न सफल भयो ।
गोरखाकी सीता ढकाल काम विशेषले धादिङ गएकी थिइन् । उनलाई काठमाडौं फर्कन घण्टौं लाग्यो । तामाङ र ढकाल मात्रै होइन, यतिबेला थानकोट हुँदै उपत्यकाबाहिर जाने र भित्रिने यात्रुहरूले घण्टौं जामको सास्ती बेहोर्नुपरेको छ । पृथ्वी राजमार्गको यो सडकखण्डमा हरेक दिन जाम पर्ने भए पनि दशैँ, तिहारलगायतका चाडपर्वमा अझै जामको सामना गर्नुपरेको छ, सर्वसाधारणले । सो सडकखण्डमा बढी जाम भए पनि सरकारले त्यसको दीर्घकालीन विकल्प दिन सकिरहेको छैन । तर तत्काल समस्या समाधान गर्न भने प्रयास गरेको देखिन्छ ।
दैनिक ६ सयभन्दा बढी सवारी ओहोरदोहोर गर्ने राजमार्गमा जामको यस्तो अवस्था छ कि एम्बुलेन्ससमेत छिर्न नपाउँदा केही दिनअघि चितवनकी एक युवतीको मृत्यु भयो ।
ठूला सवारी प्रतिबन्धसरकारले दसैं यात्रालाई सहज बनाउन नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला मालबाहक साधनलाई प्रतिबन्ध लगाएको छ । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधनहरू काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा छठलगायतका चाडपर्वमा काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले २४ असोज (घटस्थापना)देखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारीमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट खारेज गरेपछि प्रालि निकट सवारीहरू थपिएपछि यात्रा सहज हुने दाबी गर्दै थप सवारी नथप्ने विभागले जनाएको छ
यात्रु सहायता कक्षदसैंमा आआफ्ना गन्तव्यतर्फ जाने यात्रुका लागि उपत्यकाका विभिन्न १३ स्थानमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएका छन् । उपत्यकाको नयाँ बसपार्क, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, सातदोबाटो तथा बल्खुलगायतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालित छन् । ती सहायता कक्षहरूले बाटोमा अलपत्र परेका यात्रुलाई सहयोग गर्ने, सवारीसाधनले बढी भाडा लिए भाडा फिर्ता लागि पहल गर्नुका साथै त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने तथा दसैं यात्रालाई सहज बनाउन सहजीकरण गर्नेछन् ।
रूट परमिट खुलासरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गर्न देशैभरि रूट परमिट खुला गरेको छ । विभागका अनुसार देशैभरि लागू हुने गरी सार्वजनिक यातायातलाई रूट परमिट खुला भएको छ । गत १८ असोजमा दैनिक रूपमा चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ सकिएको छ । यस्तो अवस्थामा अप्ठेरो परेका यात्रुलाई ओसार्न सक्नेगरी विभागले रूट परमिट खुला गरेकोे हो । विभागले काठमाडौंबाहिर जाने यात्रुका लागि टिकट नपाए पनि उपत्यकाभित्र चल्ने सवारीसाधनले ती यात्रुलाई आफ्नो गन्तव्यसम्म पु¥याउन सक्नेछन् । विभागका अनुसार उपत्यकाभित्रका सार्वजनिक सवारी उपत्यकाबाहिर जान पाउनेछन् ।
बढी भाडामा कारबाहीसार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही गरिने विभागले जनाएको छ । सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न विभागले भनेको छ ।सरकारले ७ असोजमा सार्वजनिक यातायातको १० प्रतिशत भाडा वृद्धि गरेको थियो । सो भाडाभन्दा बढी भाडा दिनेलाई कडा कारबाही गरिने विभागको भनाइ छ । विभागका अनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रूपैयाँ, पाँच किमिसम्म १६, ६ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ र १९ किमिभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ । यो छोटो दूरीको नयाँ भाडादर हो ।
लामो दूरीको यात्रामा पनि दशैँको फाइदा उठाउँदै बढी भाडा दिनेलाई कारबाही गरिने विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ । विभागका सूचना अधिकारी उपाध्यायका अनुसार परिचालकले टिकट नदिए सवारी नम्बरसहित विभागको फ्याक्स नम्बरसहित ४४७४९२२, फोन नम्बर ४४७९६९० मा उजुरी गर्न सकिनेछ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्री नम्बर ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।
प्रहरीको टोल फ्री नम्बर १०१ र १०३ मा पनि बढी भाडा लिएको, दसैंमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रूपमा गर्न सकिनेछ ।
नयाँ सवारी छैनन्सरकार तथा यातायात व्यवसायी कसैले पनि यसपटक नयाँ सवारीसाधन नथप्ने भएका छन् । पुरानै सवारीले पुग्ने भएकाले नयाँ सवारी नथपिने विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले बताए । यस वर्ष हरेक टिकट काउन्टरमा पनि सहज रूपले टिकट बुकिङ भएकाले पनि नयाँ गाडी थप्ने योजना नभएको उपाध्याले राजधानीलाई बताए ।
सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट खारेज गरेको र प्रालिनिकट सवारीहरू थपिएपछि यात्रा सहज हुने दाबी गर्दै थप सवारी नथप्ने विभागले जनाएको छ ।
त्यस्तै, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले नयाँ गाडी नथप्ने बताए । सरकारले व्यवसायीलाई धेरै दुःख दिएको स्मरण गर्दै नयाँ गाडी नथपेको बताए । राजधानी दैनिकबाट । फाइल तस्बिर ।