-सत्तारुढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ नम्बरमा उपचिर्वाचन मार्फत् चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । कान्तिपुर दैनिकले अगाडि लेखेको छ– पार्टी भित्रकै तीव्र विरोध र क्षेत्रका स्थानीय नेता तथा सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहिबार स्थानीय नेताहरु समक्ष आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका हुन् ।
यता, राजधानीले लेखेको छ– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाव परिक्षण पद्धतिमाथि नै राष्ट्रिय मानव अधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरुको वैज्ञानिक परिक्षणका बिषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाव सुरक्षित राख्न निर्देशन दिएको छ ।
राजधानी दैनिकले अर्को साथीलाई विश्वास गर्दा सामुहिक बलात्कारको शिकार बनेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । रूपन्देहीको देवदहकी एक युवतीमा सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ । रूपन्देहीको देवदह नगरपालिकाकी १६ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा देवदह–१० कै ३५ वर्षकाका उदय थापा र बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ बस्ने २६ वर्षका कृष्ण थापालाई इलाका प्रहरी कार्यालय, बुटवलले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
उनीमाथि असोज २३ गते साँझ बलत्कार भएको बताइएको छ । बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनी घुमाएर बुटवल र देवदहको बिचमा रहेको शिवनगर वनमा मोटरसाईकलमा लगेर सामुहिक बलात्कार गरिएको प्रहरीमा पीडित युवतीले उजुरी दिएपछि घटना बाहिर आएको छ । प्रहरीले घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा, र ४ वटा खोल भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । सो घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए ।
यता, नागरिक दैनिकले पहिलो पृष्ठमा चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको समाचारलाई प्राथमिकता दिएको छ ।
लेखा समितिअन्तर्गत गठित उपसमितिले बिहीबार समितिमा प्रतिवेदन बुझाउँदै आर्थिक चलखेल भएकाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिनुपर्ने सुझावसमेत दिएको छ । सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनमा चिनी उद्योगले मूल्यमा कार्टे्लिङ गरेको र त्यसमा सरकारी निकायले सहयोग गरेको उल्लेख छ। ‘चिनीको मूल्यमा भएको मनपरीमा अर्थ मन्त्रालयबाट गडबढी भएको देखिन्छ,’ भट्टले नागरिकसँग भने, ‘सरकारले चिनी आयात रोक्ने र उपभोक्ताको हितमा रहेका सम्झौतासमेत कार्यान्वयन गरेको देखिँदैन।’ सरकारले चिनीको मूल्यका विषयमा गम्भीर रूपमा अनुगमन गर्न नसकेको र जथाभाबी रूपमा मूल्य बढेको विषयमा हस्तक्षेप गर्न नसकेको भट्टले बताए।
यता नयाँ पत्रिका दैनिकलेपनि वामदेवको चुनावी प्रसंगलाई छापेको छ । नेकपा नेता वामदेव गौतम काठमाडौं–७ को सम्भावित उपनिर्वाचनबाट पछि हटेका छन् । केन्द्रीय सचिवालय बैठकमा उनको उम्मेदवारीसम्बन्धी प्रस्ताव विचाराधीन रहेकै वेला गौतम ‘ब्याक’ हुने निष्कर्षमा पुगेका हुन् ।
पार्टी्भित्र र सामाजिक सञ्जालमा लगातार गौतमको उम्मेदवारी तयारीबारे नकारात्मक प्रतिक्रिया आउनेक्रम नरोकिएपछि पार्टीकै नेताहरू र शुभेच्छुकको सुझाबअनुसार गौतम पछि हटेका हुन् । महासचिव विष्णु पौडेलसहित उनीनिकट नेता–कार्यकर्ताले गौतम उम्मेदवार बन्ने तयारीबाट पछि हटेको पुष्टि गरेका छन् । ‘तपाईंहरूको सद्भावका लागि धन्यवाद । तर, अब काठमाडौं–७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो,’ गौतमले त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूलाई टेलिफोनमार्फत भने, ‘मैले अहिलेको यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु ।’