काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको ५९ औंँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रस्तुत गरिएको प्रतिवेदनमा २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म आयोगबाट सम्पादित कार्यको विवरण छ । गोरखापत्र दैनिकमा समाचार छ ।अध्यक्ष मैनालीले राष्ट्रपतिसमक्ष प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, ‘निष्पक्षताको जगमा उत्कृष्टता, सुरक्षाको कवचमा नवीन प्रविधि र योग्यताको आधारभित्र नवीन परीक्षण विधि’ आयोगको गन्तव्य हुनेछ ।’
महिलामा आकर्षणलोक सेवा आयोगबाट सञ्चालित परीक्षामा महिलाको आकर्षण निरन्तर बढिरहेको छ । विगत एक वर्षमा स्थायी नियुक्तिका लागि सिफारिस भएका महिलाको संख्या ३२ प्रतिशत पुगेको छ । पुरुषको संख्या ६८ प्रतिशत छ ।दरखास्त दिने महिलाको संख्यामा पनि निरन्तर वृद्धि भइरहेको आयोगले जानकारी दिएको छ । कुल सात हजार ७१८ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएकोमा महिला दुई हजार ४६५ र पुरुष पाँच हजार २५३ छन् । यस वर्ष पनि सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २७ वर्ष नै छ ।
दरखास्त दिने महिला ४० प्रतिशतसुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फका विज्ञापनमा कुल तीन लाख ६९ हजार ८५७ दरखास्त सम्बन्धित निकायमै सङ्कलन भएको आयोगले जनाएको छ । ती विज्ञापनको लिखित परीक्षामा कुल एक लाख ५९ हजार ४२६ जना उम्मेदवार सम्मिलित भएका छन् । तीमध्ये ४० महिला र ६० प्रतिशत पुरुष छन् ।
दरखास्त छ गुणागत १० वर्षको अवधिमा दरखास्त दिनेको संख्या करीब ६ गुणाले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा भने यस वर्ष दरखास्त संख्यामा ३३ प्रतिशतले कमी भएको छ । नेपाल वन सेवातर्फका श्रेणीविहीन पदहरूमा समेत गत वर्ष विज्ञापन भएको हुँदा दरखास्त सङ्ख्या बढी देखिएको हो । एक वर्षको अवधिमा कुल पाँच हजार ९७० पदका लागि एक हजार २०४ वटा विज्ञापन र सूचनाहरू प्रकाशन भएका छन् । जसअन्तर्गत समावेशी प्रतियोगितातर्फ कुल एक हजार ८०७ पदका लागि विज्ञापन भएका थिए ।
खरिदारमा बढी दरखास्तगत वर्षजस्तै यस वर्ष पनि खरिदार पदमा सबैभन्दा बढी एक लाख ४६ हजार चार सय दरखास्त परेका छन् । यसैगरी, बढी दरखास्त परेका अन्य पदमा क्रमशः नायब सुब्बा, अहेव, अनमी, शाखा अधिकृतलगायत छन् । औसत दरखास्त धेरै परेका पदमा विद्यालय निरीक्षक, नायब प्राविधिक सहायक, नायब सुब्बा, खरिदारलगायत छन् ।
प्रदेश २ अगाडिउम्मेदवारको स्थायी ठेगानाका आधारमा प्रदेश २ बाट कुल दरखास्तको २५ प्रतिशत दरखास्त प्राप्त भएका छन् । यस अवधिमा सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लामा क्रमशः सप्तरी, धनुषा, सिरहा, सर्लाही, महोत्तरी र रौतहट छन् । त्यस्तै, सबैभन्दा कम दरखास्त परेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु जिल्ला रहेका छन् ।
गत वर्षजस्तै यस अवधिमा पनि सबैभन्दा बढी सङ्ख्यामा २१ देखि २५ वर्ष उमेर समूहका उम्मेदवारले दरखास्त दिएका छन् । दरखास्त दिने उम्मेदवारको औसत उमेर २६ वर्ष रहेको छ । प्रकाशित विज्ञापनमध्ये १९३ पदका लागि गरिएका ११४ वटा विज्ञापनबाट कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् । त्यस्तै, २७२ पदका लागि भएका विज्ञापनमा माग भएभन्दा न्यून अर्थात् १३८ जना मात्रै उम्मेदवार उत्तीर्ण भएको जानकारी अध्यक्ष मैनालीले दिनुभयो ।
आयोगका अनुसा परीक्षामा अनियमितता गर्ने २७ महिलासहित १३८ जना उम्मेदवारलाई कारबाही भएको छ । कुल ९२ वटा सङ्गठित संस्थामा आयोगको प्रतिनिधित्व छ । प्रतिवेदन अवधिमा सुरक्षा निकाय र सङ्गठित संस्थाका गरी कुल ४१ वटा निकायका एक हजार ६७१ विज्ञापनबाट १६ हजार ५० पद संख्याको पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्न सहमति प्रदान गरिएको छ ।
आठ वर्षको अवधिमा ६ समावेशी समूहमा १६ हजार ९३९ जना उम्मेदवार सिफारिस भएका छन् । आयोगको कार्यसम्पादनका लागि ७५ करोड ८२ लाख बजेट खर्च भएको छ भने १४ करोड राजस्व सङ्कलन भएको छ । आयोगका अध्यक्ष मैनालीले सार्वजनिक सेवाका लागि दक्ष मानव संशाधन सिफारिस गर्न आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
सरकारप्रति आयोगको गुनासोआयोगको क्षेत्राधिकारभित्र पर्ने विषयमा आयोगसँग परामर्श नै नलिइएका विषय एवं आयोगबाट दिइएका परामर्शको अनादर गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगले प्रतिवेदनमार्फत सरकारलाई सुझावहरू दिइएको छ । ती सुझावलाई गम्भीरतापूर्वक लिई नीति निर्माण एवं कानून तर्जुमा हुने अपेक्षा गरिएको आयोगले जनाएको छ । त्यसैगरी, आयोगसँग सम्बन्धि ऐन नबन्दा आयोगलाई काम गर्न समस्या भएको प्रतिवेदनमा उल्लेख छ । सहसचिव एवं प्रवक्ताका किरणराज शर्माका अनुसार, आयोगबाट यस अवधिमा कमर्चारी सेवाका शर्तसम्बन्धी कानूनलगायतका विषयमा विभिन्न २२ वटा परामर्शहरू दिइएको छ ।