अनु आचार्यरसुवा । वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङका पर्यटकीय क्षेत्रहरूमा विदेशीपर्यटकहरूको चहपहल देखिन थालेको छ । क्षेत्र घुम्नका लागि आए संगै काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन समेत गर्न सकिने हुँदा पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको हो ।
तीन वटा पदमार्गमा पर्यटकहरुले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग भित्र रहेको तामाङ कला र संस्कृति लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन गर्न सकिने भएकाले पर्यटकहरुको रोजाईमा यो क्षेत्र पर्ने गरेको छ ।
केही साता यता लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दैनिक एक सयको हाराहारीमा पर्यटकहरू प्रवेश गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।
गत आर्थिक बर्षमा यस क्षेत्रमा १३ हजार भन्दा बढी बिदेशि पर्यटकहरुले भ्रमण गरेका थिए भने सोहि हाराहारीमा स्वदेशिहरुले पनि भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षको चालु आर्थिक बर्षको साउनदेखि असोज २३ गतेसम्म १ हजार ९ सय ६५ जना पर्यटक निकुञ्जकको ब्राबल चेक प्वाइन्टबाट प्रवेश गरेको तथ्यांकमा देखिएको छ ।
लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्गका रूपमा चिनिन्छ । सिजनमा यस क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । लाङटाङ क्षेत्रको पर्यटनलाई २०७२ वैशाख १२ गते तथा २९ गतेको भूकम्पले तहसनहस बनाएको पदमार्गको तथाहोटलहरूको पुनर्निर्माण सम्पन्न संगै पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि बढदै गएका छन ।
यस क्षेत्रमा सार्क मुलुक लगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायत लगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन ।