संयोग नेपालकाठमाडौं । बुधबारदेखि सिनेमा हलमा चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनरत छ । दर्शकहरुमाझ बहुप्रतिक्षित यो सिनेमाको बुकिङ आक्रामक रह्यो भने हलमा दर्शकहरुको पनि ब्यापक भीड देखिन्छ ।
चलचित्र हेर्न दर्शकको भीड लागेको देख्दा कमाईको बारेमा चासो हुनु स्वभाविक हो । हामीलाई पनि यस्तै खुल्दुली लागेर चलचित्रको तीन दिनको कमाईबारे बुझ्न खोज्यौँ । एकाबिहानै चलचित्रका कलाकार एवं कार्यकारी निर्माता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’लाई फोन घुमायौँ ।
कुराकानीको क्रममा हामीले चलचित्रको कमाईको बारेमा सोध्यौँ तर केदारले जवाफ दिनै चाहेनन् । ‘हामीले पैसाको बारेमा कुरै नगर्ने निर्णय गरेका छौँ ।’ केदारले हाँस्दै भने, ‘बरु कतिवटा हलमा लागेको छ, कतिवटा स्क्रिनमा लागेको छ, दर्शकहरुले के भन्नुभयो भन्नेबारेमा कुरा गरौँ न ।’
बिभिन्न अनलाइनमा सिनेमाको कमाईको बिषयमा आएका समाचारहररुको बारेमा हामीले बुझ्न खोज्दा केदारले अनविज्ञता प्रकट गरे । आफुहरुले कमाईको अनुमानित रकम समेत मिडियामा अहिले नै नभन्ने घोषणा गरेको केदारले स्पस्ट पारे । यद्यपी चलचित्रको कमााईको बारेमा भने आफुहरुलाई जानकारी भएको उनको भनाई छ ।
‘२ करोडको लगानी उठाउन कम्तिमा पनि ८ करोडको ग्रस कलेक्सन गनुपर्छ ’ केदार थप्छन्, ‘अरुले देख्नलाई ८ करोड कमाएछ ओहो !.... भन्छन् तर बल्लतल्ल लगानी उठेको हुन्छ ।’ चलचित्रले अहिलेसम्म लगानी उठाएको छैन । यद्यपी छिट्टै नै चलचित्रले लगानी उठाउनेमा निर्माणपक्ष आशावादी छ ।
हामीले केदारलाई कमाईको बारेमा कुरा गर्न निरन्तर जोड दिदाँ केदारले हाँसेर कुरा अन्त मोड्दे भने, ‘पैसाको कुराकानी चाँही नगरौँ बरु भन्नुस् दशैँमा घर कहिले जानुहुन्छ ?’ यति भन्दै केदार जोडले हाँसिरहेका थिए । आफुहरुलाई पैसाभन्दा दर्शकको माया र दर्शकहरुले के भन्नुभयो भने कुरा महत्वपूर्ण रहेको केदारले बताए ।
चलचित्रको कमाईको बारेमा खासै कुरा आउन नसकेपछि हामीले उनलाई दशैँको तयारीको बारेमा सोध्यौँ । अघिल्लो बर्षझैँ यसपालीको दशैँ पनि दर्शकहरुसँग हल–हलमा मनाउने केदारले बताए । अघिल्लो बर्ष ‘छक्का पञ्जा’ चलचित्रको दोश्रो सिरिज यानिकी ‘छक्का पञ्जा २’ प्रदर्शनमा आएको थियो । गतबर्ष भने ‘छक्का पञ्जा २’ फुलपातिको दिनदेखी प्रदर्शनमा आएको थियो ।
केदारले पैसाको कुरा नगरौँ भन्दैगर्दा नेपालकै सबैभन्दा धनी ब्यक्ति विनोद चौधरीले शुक्रबार साँझ राइजिङ मलको एउटा हल नै बुक गरेर चलचित्र हेरेका छन् । बिनोदले आफ्नो परिवार र आफन्तहरुको लागि एउटा हल नै बुक गरेका हुन् । बिनोद चौधरीको चलचित्रप्रति पनि राम्रै झुकाब छ । बिनोद चलचित्र ‘बासुदेव’का निर्माता समेत हुन् ।
आमा सरस्वती मुभिज र आइएमइको ब्यानरमा बनेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भाञ्जा’, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाइँ ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशब न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक गीत र ट्रेलरलाई पनि दर्शकहरुले खुब रुचाएका छन् । चलचित्रले देशको शैक्षिक अवस्थाको यर्थाथ चित्रण गरेको छ ।