दाङ । प्रदेश नम्बर–५का मुख्यमन्त्री शंकर पोखरेलले थारु समुदायको सहभागिता बिना मुलुकको समृद्धि अधुरो हुने बताउनु भएकाे छ ।
थारु पत्रकार संघ नेपालले शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले थारु समुदाय बुद्ध सम्प्रदायको एउटा अंश भएको उल्लेख गर्नुभयो । ‘महेश चौधरीले आफ्नो पुस्तकमा थारु समुदाय बुद्धिजम परम्पराबाट आएको भनेर लेख्नु भएको छ’ उहाँले भन्नुभयो, ‘पूर्वमहान्याधिवक्ता रमानन्दप्रसाद सिंहले पनि थारु बुद्धका सन्तान हुन भन्ने ऐतिहासिक पुस्तकबाट लेखिसक्नु भएको छ। थारु नेपालको पुराना बासिन्दा हुन भन्ने उनीहरुले औलो पचाएर प्रमाणित गरिसकेका छन । यहाँ प्रकृतिसँग उनीहरुको धेरै पुरानो सम्बन्ध छ ।’
मुख्यमन्त्री पोखरेलले पत्रकारितामा थारु भाषालाई प्रवर्द्धन गर्नु पर्नेमा बताउनुभयो। ‘स्थानीय एफएमले थारु भाषामा समाचार प्रसारण गर्न थालेका छन्’ उहाँले भन्नुभयो, ‘त्यसलाई स्थानीयकरण हुँदै नेटवर्किङको माध्यमबाट राष्ट्रिय प्रसारणको माध्यमको रुपमा विकास गर्नुपर्छ।
मुख्यमन्त्री पोखरेलले भाषा आयोगको प्रतिवेदनले दिएको रिपोर्ट पश्चात मात्रै प्रदेशमा भाषिक कार्यान्वयन गरेर लैजाने प्रतिवद्धता जाहेर गर्नुभयो। उहाँले थारु समुदायको प्राकृतिक बस्तीको अध्ययन गरेर पर्यटकीय गन्तव्यको विषयमा छलफल गरिरहरहेको जानकारी गराउनुभयो।
जनताकर्मी पुरस्कृत
थारु पत्रकार संघ नेपालले जनता टेलिभिजनकी समाचार सम्पादक प्रतिमा चौधरीसहित चार पत्रकारलाई सम्मान गरेको छ ।
यसवर्षको सुष्मा चौधरी महिला पत्रकारिता पुरस्कार जनता टेलिभिजनकी समाचार सम्पादक चौधरीलाई प्रदान गरिएको छ । पुरस्कार राशि १२ हजार १ सय ५१ रुपैयाँ रहेको छ । यस्तै, जोखन–जगत रतगैया पुरस्कारबाट थारु पत्रकार संघ दाङका कार्यबाहक अध्यक्ष अन्जना चौधरी, ओएसिस पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कृष्णराज सर्वहारी पुरस्कृत भएका छन् ।
सतौन ट्रष्ट पत्रकारिता पुरस्कार थारु पत्रकार संघ, चितवनका अध्यक्ष कारी महतोलाई प्रदान गरिएको छ ।