लक्ष्मी काफ्ले झापा । फरक शैलीमा काम गरेर सधैँजसो चर्चामा आइरहने नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रत्येक दशैँमा नौलो कोसेली लिएर गृहजिल्ला झापा पुग्नुहुन्छ । यसपटक उहाँ झण्डै १२ लाख रुपैयाँको औषधि र आठ जना डाक्टरको टोली लिएर आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभयो ।
प्रवक्ता शर्माको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने बुद्धशान्ति गाउँपालिका–१ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । शर्माको ‘कन्सेप्ट’को स्वास्थ्य शिविर झापा कांग्रेसको १ नम्बर क्षेत्रीय समिति र बुद्धशान्ति गाउँसमितिले आयोजना गरेको हो । त्यहाँ कुनै औपचारिक कार्यक्रम गरिएन । न अध्यक्ष, न प्रमुख अतिथि, न त राष्ट्रिय गान नै । कसैले भाषण पनि गरेनन् । ब्याच वितरण, चियापान लगायत कार्यक्रम पनि गरिएन । कतै कांग्रेसको झण्डा देखिएन । वीपीको तस्बिरमा माल्यार्पण भने गरियो । डाक्टरको टोली शिविर आयोजना गरिएको स्थल पुग्नेबित्तिकै कांग्रेस प्रवक्ता शर्माले फूलमालासहित स्वागत गर्नुभयो । लगत्तै डाक्टरको टोलीले बिरामी चेकजाँच गर्न सुरु ग¥यो । ९० वर्षका उजिरमान दाहाल र ८६ वर्षकी टंकमाया दाहालको स्वास्थ्य जाँच गर्दै शिविर उद्घाटन गरियो ।
शिविरमा नाक, कान, घाँटी, फिजिसियन, स्त्री तथा प्रसूति, छाला तथा यौन रोगका गरी ८ जना डाक्टरले सेवा दिए । शिविर स्थलमा ल्याब र छुट्टै एचआइभी परीक्षण गर्नेसमेत व्यवस्था थियो । यस स्थानमा स्वास्थ्य शिविर यसअघि कहिल्यै पुगेको थिएन । शिविर गाउँमै पुग्दा स्थानीयसमेत हर्षित थिए ।
प्रवक्ता शर्माले मेचीनगरस्थित आफ्नै घरमा परिवारसँगै यसपटकको दशैँ मनाउँदै हुनुहुन्छ । त्यसबाहेक आफन्त भेटघाट र अन्य केही महत्वपूर्ण काम पनि दशैँमै सम्पन्न गर्ने उहाँको योजना छ ।
२ वर्षअघि पनि शर्माले झापामा प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव गराउनुभएको थियो । ७ दिनसम्म चलेको स्वास्थ्य महोत्सवमा २७ वटा हस्पिटलका दुईसय स्वास्थ्यकर्मीले सेवा दिएका थिए । प्रवक्ता शर्मा यस्ता फरक खालका कार्यक्रम गरेर सधैँ चर्चामा आइरहनुहुन्छ ।
तस्बिरः शर्माको फेसबुक पेजबाट ।