गोरखा । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित भएका हुन् ।
दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दूरी ५८ मिनेट २५ सेकेण्डमा पार गरे । प्रतियोगितामा बाग्लुङ जिल्ला घर भएका भारतीय सेनामा कार्यरत तीर्थ पुन मगर दोस्रो भए ।लम्जुङ बेसीशहर नगरपालिका घर भई हाल नेपाली सेनामा कार्यरत रामजी बस्नेत तेस्रो भए । गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिंकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई लिगलिगे राजा घोषणा गरिने परम्पराअनुसार थापामगरलाई आजदेखि एक वर्षसम्मका लागि लिगलिगे राजा घोषणा गर्दै श्रीपेच पहि¥याइएको आयोजक लिगलिग विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।
प्रतियोगिताका विजेतालाई ६० हजार १०० रुपैयाँ, श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको व्याच प्रदान गरिएको थियो ।महिला स्थानीयतर्फको दौडमा सुनिता गिरी, खुला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका छन् । नेपाल एकीकरण अघिका बाइसे चौबिसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो ।
विक्रम सम्वत् १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई २०६७ बाट निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।