काठमाडौं । असोज १९ गते शुक्रबार । कागेश्वर मनाेहरा नगरपालिकाकाे वडा नम्बर ७ स्थित मूलपानी बसपार्कनजिकै एउटा घरमा जुवा खाल बसिरहेको खबर प्रहरीमा पुग्यो । सेतो र हरियो रंगको चिटिक्क परेको साढे तीन तले घर । त्यसकाे दोस्रो तलामा जुवाको खाल बसेको खबर थियो । उसो त यो घर ‘मिनी क्यासिनो’ बनेको सूचना थियो प्रहरीमा ।
हेमा गुरुङले जुवाको कारोबार गराएकी थिइन्, घरधनी हुन् तेन्डु शेर्पा । दैनिक १० हजार रुपैयाँ भाडा । घरभित्र २५ जना भेला भएर दैनिक लाखौँको जुवा चल्थ्यो । सूचनापछि महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होमेन्द्र बोगटीको नेतृत्वमा सादा पोसाकका १६ जना प्रहरी मूलपानी पुग्यो ।
प्रहरीले चारैतिरबाट घर घेरा हाल्यो । जुवाखालमा लाखौँको जुवा चलिरहेको थियो भने २५ जनाभन्दा बढी जुवाडे थिए । घरको दोस्रो तलाको च्यानल गेटमा चाबी लगाइएको थियो । प्रहरी चाबी काट्न थाल्दा जुवाडेबीच भागदौड मच्चियो । भागदौडकै क्रममा काठमाडौँका ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक इन्द्रावती वडा नम्बर १ सिङ्पालका ३८ वर्षीय सोमलाल तामाङ गम्भीर घाइते भए । उपचारका लागि अस्पताल नपुग्दै उनीहरुको मृत्यु भयो ।
कहाँबाट आयो रगत ?प्रहरीले जुवाखालमा छापा हान्यो । जुवाडेलाई समात्यो पनि । जुवा खेलेको दोस्रो तलामा शनिबार बिहान पुग्दा केही रगत देखिएको छ । भूईँ तथा कोठामा रहेको दराजमा रगत लत्पतिएको छ । कोठामा रगत कसरी आयो ? के प्रहरी र जुवाडेबीच झडप भएको थियो । आखिर कसरी यस्तो अवस्था आयो ?
केही घाइते समेत छन् । तर, प्रहरीले जुवाघरमा छापा हान्दा मृत्यु भएकाहरुको के भागदौडकै क्रममा मृत्यु भयो त ? हो भने ज्यानकै परवाह नगरी हामफाल्ने कस्तो अवस्था आयो ?
जुवाघर चलाउने नै फरारघटनामा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिँदा एक महिला भाग्न सफल भइन् । भाग्न सफल महिला नै जुवा सञ्चालन गर्ने मुख्य नाइके थिइन् अर्थात् हेमा गुरुङ । सबै पक्राउ पर्दा महिला मात्रै भाग्न सफल हुनु भनेको पनि शंकाकै विषय हो ? कतै प्रहरीकै संरक्षणमा उनले जुवा खेलाउने गरेको त होइन ? सबै जना नियन्त्रणमा आउँदा उनी फरार हुनुले प्रहरीमाथि थप शङ्का उत्पन्न गराएको छ । अझ फरार महिलाले १० देखि १५ लाख रुपैयाँ लिएर भागेको पक्राउ परेकाहरूले प्रहरीमा बयान दिएका छन् । उनीहरूबाट प्रहरीले ४ लाख ५८ हजार रुपैयाँ पनि जफत गरेको छ । त्यस्तै मदिराका बोतल, कौडासमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद .गरेको छ । फरार महिलाको खोजी भइरहेको प्रहरीको दावी छ ।
अप्रेसनले उब्जाएको प्रश्नजुवा कानुनतः अपराध हो । अपराध नियन्त्रण प्रहरीको दायित्व हो । मुलपानी जुवातास काण्डमा प्रहरी जुवाडेलाई रङ्गेहात पक्राउ गर्न निस्केको थियो । तर प्रहरीको प्रयास असफलजस्तै देखिन्छ । जुवा खेलेपछि जीउज्यानै गुमाउनुपर्ने कारण रहस्यमय छ । घटनाबारे स्थानीय र प्रहरीको कुरा बाझिएको छ । नाइके कसरी उम्कन सफल भइन् प्रहरीको पञ्जाबाट ? प्रश्न छ ।
जुवा खेलेको अभियोगमा गिरफ्तारहरु अदालती प्रक्रियामा मुद्दा नै चलाइए दुई सय रुपैयाँ धरौटीमा रिहा हुन सक्छन् । दुई सय रुपैयाँ धरौटीमा रिहा हुन सक्ने मुद्दामा दुई जनाको ज्यानै जाने स्थिति कसरी बन्यो ? मुलपानीको जुवाखामा पनि प्रहरीले घरघेराउपछि माइकिङ गरेको भए यस्तो दुर्घटना नहुने स्थानीयबासी बताउँछन् । जनता टेलिभिजनको कार्यक्रम सिएमडब्लुको पूरा भाग हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=X1oQ-91CYQQ