–हुमाकान्त पोखरेलगुल्मी । रेसुङ्गा नगरपालिका–६ गुरुङ गाउँकी पवित्रा मरासिनीका श्रीमान भारतमा बिजुलीको काम गर्छन् । केहीदिनका लागि भदौमा श्रीमान घर आए । पछि बिरामी परे । ज्वरो आएपछि औषधि खाइरहेका थिए । दशैँ आउन केही दिन बाँकी छ । भारतबाट साहुको फोन आयो, ‘बिदा सकियो, काममा आउनू ।’
न त उनको जागिर सरकारी हो, न त ठूलै कम्पनीको हाकिम नै । सामान्य तलबमा काम गर्ने उनका श्रीमान नगए पनि हुन्थ्यो तर घरमा रहेको चरम गरिबीले उनलाई घरमा बस्नै दिएन । अन्ततः आँगनमा आइपुगेको दशैँमा आँखाबाट आँशु झार्दै उनले परदेशको बाटो तताए ।
‘बिरामी हुनुहुन्थ्यो, साहुको फोन आयो, यतै आएर आराम गर्ने भन्यो,’ पवित्राले भनिन्, ‘साहुको कुरा काट्न सकिएन, बिरामी मान्छेले पीडा मनभित्रै राखेर हिँड्नुभएको छ ।’ पवित्राका पाँच छोरी र एउटा छोरा छन् । चार छोरीको बिहे भइसक्यो दुई छोराछोरी पढ्दै छन् । २०७२ को भूकम्पले घर आधा भत्काइदियो । पूरै घर बनाउन नसकेर जेनतेन निर्वाह गरिरहेका छन् । तर आइपुगेको दशैँले भने उनको मन खुशी छैन ।
‘छोरा पखँदा पाचँवटी छोरी पुगे, लालनपालनमा समस्या छ, दुःख देखाएर पनि केही नहुने,’ उनले भनिन्, ‘दशैँ कसरी मनाउने भन्ने चिन्ता छ ।’ भर्खर भारत हिँड्नु भएका श्रीमानले पनि खर्च पठाउने सम्भावना नदेखेर समूहबाट पाँच हजार रुपैयाँ ऋण लिएर दशैँ मनाउन भनेको उनले बताइन् । ‘सबैतिर महँङ्गी छ, आएकालाई टीकाटाला गर्नै प¥यो, थोरै दक्षिणा पनि दिनुप¥यो ।’ पवित्राले गहभरि आशुँ झार्दै भनिन्, ‘पाँच हजारले दशैँ कसरी मनाउनु ?’