बाटोमा थोरै जरिवानाको चिट काटेका भरमा यस्तो बदमासी संरक्षित भइरहेको छ
कोजाग्रत पूर्णिमासँगै यो वर्षको दशैँ ‘छिमल’ सकिएको छ । ऋणपान गरेर देखासिकी समृद्धि प्रदर्शनसँगै समापन भएको दशैँमा यसपटक अनेकौँ अपराध भएका छन् । कतै दुईछोरा मारेर बाबुद्वारा आत्महत्या, कतै अष्टमीकै दिन पत्नी मार हानेर हत्या त सबैभन्दा विदारक बनेको दुर्घटनाका निरन्तर शृंखला । गन्तव्यमा सन्तान र परिवारका सदस्य हिँडेपछि पुगेर फोन नआएसम्म भगवान पुकारा गरिरहनु पर्ने बाध्यता बनेको छ यातायात सुविधा । यो दशैँमा पनि ४० को हाराहारीमा मानवीय क्षति भएको छ ।
बसको टिकट बुकिङ भएको २४ घण्टा नबित्दै टिकट सकिएको बताउँछन् यातायात व्यवसायी । टिकट काउन्टरमा नवमी, टीका र एकादशीका दिन ‘बस क्यु’ नै हुँदैन । आएका गाडीले सक्दो यात्रु ओसार्ने र यात्रुले पनि लमजुङमा लिगलिगे दौडमा प्रथम हुन कस्सिए झैँ बसभित्र छिरेर सिट कब्जा गर्नु पर्ने बाध्यता छ । अझ भनौँ भारतमा झ्यालबाट रेलभित्र छिरेर सिट लिएजस्तै । क्षमता भन्दा बढी यात्रु । भाडा दोब्बर । रुटका बस नभएर अरु रुटका बस हालेर यात्रुको सेवा गर्ने गाडी नै बढी दुर्घटनामा परेका छन् । बाटोमा थोरै जरिवानाको चिट काटेका भरमा यस्तो बदमासी संरक्षित भइरहेको छ । चिट काटेर दुर्घटना रोकिन्न ।
बडादशैँ नागरिकलाई ऋणको भार, सास्ती र कालको संस्करण पो बनेको छ
आफ्ना जनतालाई कति बस चाहिन्छ, राज्यको चिन्ता कहिल्यै बनेन । आलोचना गर्दा सरकारको तयारी उत्तर छ, ‘यो सब पुरानै सरकारको पालादेखिको चलन हो ।’ राज्य यसो भनेर उम्कन नपाउने हो । जनताले यातायात मन्त्री रघुवीर महासेठको राजीनामा होइन दशैँमा घर र आफन्तकहाँ जाने एक सिट मागेका हुन् । तर सरकार चाडपर्वमा सधैँ रमितेमा गन्ती हुन्छ । उपत्यकामा सेना र सशस्त्रका बस चलाएका भरमा नागरिक घर पुगे होलान् भन्ने अनुमानको रिपोर्टिङ गर्ने हनुमानका कारण पनि सरकारको कानमा नागरिकको दुःख लुप्त भएको हुन सक्छ ।
यातायात व्यवसायीको सिन्डकेट, दोब्बर भाडा, असुरक्षित यात्रा अनि यात्रुमाथिको दुव्र्यवहार पहिला चाडपर्वको किनमेलमै नागरिक ठगिन्छन् उपभोक्ता बजारमा । त्यहाँ मूल्यवृद्धि, गुणस्तरहीन र मिसावट अनि अखाद्य सामग्रीको किनबेचले धेरैलाई चाडपर्वमा अस्पताल पु¥याउँछ । उपभोक्ता अधिकार बजारमा निरीह छ । व्यापारी, दलाली, माफियाको कब्जामा छ बजार । त्यसैले अरु बेलाको भन्दा कम मूल्य पाउँछन् किसानले । दोब्बर मूल्य तिर्नुपर्छ उपभोक्ताले । म्याद नाघेका अखाद्य बस्तुको भोगले नागरिक महँगी र रोगको सिकार भएका छन् । नागरिकलाई चाहिने चामल, च्यांग्रा र भान्साकोठाका आवश्यक खिर्चीमिर्चीबारे सरकार जानकार नै छैन । विभागीय मन्त्री, सचिव र जिल्लास्थित कार्यालयहरु एकाध अनुगमनमा अतिथि बनेर आयु पार गरिरहेका छन् ।
दशैँलाई चाहिने कपडा, मासु, खाद्यबस्तु, रंग, फूल, पुजाको कारोबार पूर्णतयाः माफियाको कब्जामा छ । यातायात सेवा व्यवसायीको तजबिजमा चल्छ । चाडपर्वमा फस्टाउने एउटै व्यापार हो स्वास्थ्य सेवा । दुर्घटना या रोगव्याध अनि झैझगडा, जताबाट पनि पु्गिने गन्तव्य अस्पताल । त्यहाँ पनि भरपर्दो सेवा नहुने तर शुल्क उस्तै महँगो । लगत्तै तिहार छ । ऋण गरेर दशैँ मनाउँछु भन्दा जताजतै देखिएको यो माफियागिरी, दादागिरी, दलालीगिरीबाट नागरिकले कहिले पाउलान् उन्मुक्ति ? ठूलाबडाले टीकाटालो गरेका तस्बिरमा तर्क र कुतर्क गरेर सामाजिक सञ्जालका भित्ता पोतिएका छन् । नागरिकका विषयमा छलफल नै हुन्न । दादागिरीजडित दशैँभित्रका अरु दुर्दशाबाट नागरिकलाई मुक्ति दिलाउने काम राज्यको हो । आँखा चिम्लेर, नसुनेजस्तो गरेर, नबुझेजस्तो गरेर आफन्तीभोजमा राज्य र सरकार रमाइरहँदा बडादशैँ नागरिकलाई ऋणको भार, सास्ती र कालको संस्करण पो बनेको छ ।
नागरिकलाई चाहिने चामल, च्यांग्रा र भान्साकोठाका आवश्यक खिर्चीमिर्चीबारे सरकार जानकार नै छैन