स्वयम्भूराज डंगाेल
चराचुरूंगीको सुमधुर चिर्बिराहटसँगै निद्रा भंग भएपछि ओछ्यानमै पल्टेर केही सोच्न थालेँ । सोचाइसमेत अवरूद्ध पार्दै कहिल्यै नसुनेको अनौठो आवाज कानमा ठोकियो । हत्तपत्त उठेर पर्दा उघार्दै झ्याल खोलेँ, कोठा बाहिर बगैँचामा केही मयुर विचरण गर्दै रहेछ । अघि कानमा ठोकिएको आवाज तिनै मयुरको रहेछ । एकछिन एकटकले मयुर हेर्दै गएँ, उतिनै खेर एउटा मयुर उफ्रिँदै आफ्नो पखेटा फिँजाउदै नाच्न थाल्यो ।
मानौँ, त्यो मयुर म विदेशी पाहुनाको स्वागतमा नृत्य देखाउँदै छ । केही छिनपछि कलाकार पर्दाभित्र प्रवेश गरेजस्तै ती मयुर कोठासँगैको जंगलमा प्रवेश गरे । आँखा डुलाएँ वरिपरि । आहा कति शान्त, कति सुन्दर ! मनमोहक प्राकृतिक दृश्यले मनलाई काबु बाहिर लैजाने प्रयत्न गरेजस्तो लाग्यो । अघिल्लो साँझ ढिलो मात्रै आइपुगेकाले त्यहाँको सुन्दरता र रमणीयतालाई त्यति राम्रोसँगै नियाल्न पाएको थिइनँ । हतारहतार रिसोर्टमा चेक इन गरी नुहाइधुवाइतिर लागेकाले बाहिर निस्कँदा झिसमिसे साँझ भइसकेको थियो । उता रूमको अर्कोे बेडमा खेलाडी भाइ सूर्य बुढाथोकी आङ तन्काउँदै बोल्न थाल्यो, ‘ए दाइ, कति बज्यो ?’ उनको प्रश्नले फेरि एकपटक प्रभातकालीन ताजा हावामा नौलो ठाउँको सौंन्दर्यपानमा ध्यानमग्न हुँदै मारेको डुब्लुकी भंग गरिदियो । भनेँ, ‘बे्रकफास्टको समय भयो, आज हल्का आयोजकसँग खेल नियमबारे छलफल पनि छ ।’ जुरूक्क उठेर बाहिर निस्कने तयारीमा जुट्यो । प्राचीन मानव सभ्यताको विकासको उद्गमस्थल हो ग्रीस । ऐतिहासिकता बोकेको दक्षिणी युरोपियन देश ग्रीसको एउटा सुन्दर र प्राचीन सम्पदाका रूपमा रहेको समुद्री टापु हो रोडेस । प्रसंग त्यही रोडेसमा हालै सम्पन्न विश्व एमएमए प्रतियोगितामा सहभागिताका दौरानमा गरिएको यात्रा र त्यसबाट प्राप्त अनुभव र अनुभूतिको हो । वास्तवमा यो ग्रीसमा दोस्रो यात्रा हो । यो यात्रा विविध कारणले विशेष रहयो । अझ भनौँ, आजसम्म भ्रमण गरेको २९ राष्ट्रको यात्रा भन्दा पृथक र सार्थक यात्रा हो । अघिल्लोपटक यात्रामा देख्न, भोग्न र सिक्न नपाएका विषय धेरै देख्न, भोग्न र सिक्न अवसर पाएँ । तर त्यो नै भने पर्याप्त र सम्पूर्ण कुरा होइन । मानव सभ्यताको प्राचीन इतिहास मात्र होइन राजनीति, प्रजातन्त्र र गणितको समेत इतिहासको केन्द्र हो ग्रीस । प्लेटो र शुकरात जस्ता महान राजनीतिक तथा दर्शनशास्त्रीको देश हो यो । गणितीय सूत्रका जन्मदाता पाइथागोरस जस्ता गणितज्ञ विद्वानको जन्मथलोसमेत हो ग्रीस ।
अझ हामीजस्ता खेलाडी तथा प्रशिक्षकका लागि त महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो । ग्रीसकै ओलाम्पियाबाट सर्वप्रथम ओलम्पिक खेल शुरूवात भएको थियो । आजको आधुनिक ओलम्पिक त्यसैको विकसित संस्करण हो । युनानी युद्धकला प्यान्क्रेसनको जन्मथलो पनि ग्रीस नै हो । जुन खेल प्राचीनताका ओलम्पिकमा खेलाउने गरिन्थ्यो र अहिले विश्वसम्पदा खेलका रूपमा सूचीकृत छ । रोडेस नगरपालिकाको सहयोगमा आयोजित एमएमए विश्वकपमा सहभागिताका लागि आयोजक संस्था एक्स्ट्रिम गेम्स अर्गानाइजेसनको निमन्त्रणामा नेपालले इतिहासमै पहिलोपटक २०१८ मे ६–९ मा एमएमएको अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइयो । मेरो नेतृत्वमा खेलाडी सूर्य बुढाथोकी र मसहितको २ सदस्यीय टोलीले प्रतियोगितामा नेपालको राष्ट्रिय ध्वजाका साथ सहभागिता जनाएका थियौँ । हाम्रो देशको पहिलो सहभागिता नै भए पनि खाली हात फर्कनु परेन । मेरो खेलाडी त्यसमा पनि पहिलोपटकको फाइटमै पनि तृतीय स्थान हासिल गर्दा मेरो त हर्षको सीमा नै थिएन ।
धेरै पटकको प्रयासपछि मुस्किलले मे को ५ तारिख काठमाडौंबाट ग्रीस प्रस्थानका लागि टिकट मेको ४ तारिख साँझ मात्र पाइएको थियो । राति ९ बजे उडेको हामी चढेको इत्तेहाद एयरलाइन्सको जहाज पौने ४ घण्टाको उडान पश्चात मे को ५ तारिख मै अबुधावी इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्यो । हाम्रो टिकटको समय तालिकाअनुसार अर्को ४ घण्टा त्यही बिताउनु पर्ने भयो । तर अबुधावीमा बिताएको समय भने पहिलेको भन्दा भिन्न र नौलो भयो । मलाइ त के लाग्दथ्यो भने हाम्रा नेपाली युवा खाडी मुुलुकमा अत्यन्तै जोखिमपूर्ण काममा गएका हुन्छन् र त्यस्तै मात्र काम गर्छन् । तर अबुधावीको एयरपोर्टमा ट्रान्जिटमा बिताएको ४ घण्टाको दौरानमा ६ जना नेपालीसँग कुराकानी गरिसकेपछि मेरो कल्पना पनि मिथ्या सावित हुन पुग्यो । तिनीहरू मध्ये एकजना बहुराष्ट्रिय कम्पनीको खाने कुरा म्याक्डोनाल्ड बर्गरको सुपरभाइजर, एकजना किलनिङको सुपरभाइजर, एकजना इत्तेहाद एयरलाइन्सकै अफिसर, एकजना बहिनी डयुटी फ्रीको परफ्युम पसलको क्यासियर र दुईजना सामान्य स्टाफका रूपमा कार्यरत थिए । यसले एकखालको गर्वभाव पैदा ग¥यो । मैले पूरै समय उहाँहरूसँग पालैपालो गफिँदै बिताएँ । गफिँदै जाने क्रममा भोक लागेपछि नजिकैको म्याकडोनाल्ड बर्गर पसलबाट बिहान पाँच बजे बर्गर र कफी किनेर खाएँ । कफी आधा बाँकी नै थियो । यतिकैमा सेक्युरिटी चेक र बोर्डिङका लागि लाइन बस्न सूचना जारी भयो । हामी दुवै सूचना र उद्घोषणबमोजिम लाइनमा उभियौँ । अबुधावीबाट उडेपछि झण्डै ४ घण्टाको यात्रापछि ग्रीसको एथेन्स पुगियो । रोडेस ग्रीसको एउटा टापु त्यो पनि टर्कीको छेउछाउँको ठाउँ भएकाले एथेन्सबाट पनि एक घण्टा उड्नु पर्यो । प्रतियोगिता आयोजकको गाडी चढेर हामी फालिराकिस्थित होटलतिर हुँइकियौँ । गाडी चालक पानायोतिस पनि खेलाडी नै भएकाले ठट्यौली पारामा गफ शुरू भयो । मान्छे मजाका र खुलेरै कुरा गर्ने भएकाले ३० मिनेटको दूरीको यात्रा पनि ३ मिनेटमै सकिएको महसुस भयो ।
रिसोर्टमा पुग्नेबित्तिकै पानायोतिसले दुई युवती एलेना र नतासासँग परिचय गराइदिए । दुवैले हात मिलाइ भनिन्, ‘यहाँलाई रोडेसमा स्वागत छ ।’ दुवैलाई धन्यवाद दिँदै कार्यक्रमतालिका मागेँ । शुरूबाट झण्डै ६ महिनादेखि कार्यालयबाट नियमित सम्पर्क र समन्वय गर्ने केटी एलेना नै रहिछिन् । उनी त प्रतियोगिताका लागि अन्तरराष्ट्रिय समन्वयकर्ता थिइन् । प्रतियोगिताका प्राविधिक कामबाहेक व्यवस्थाप्रक्रिया जिम्मेवारी एलेनाले नै लिइरहेको देखेँ । अर्की बहिनी नतासा मेरो छोरी उमेरकी रहिछे । साह्रै हसिली, फरासिलो नतासा पनि कम क्षमताकी होइनन् । सबै विदेशी सहभागीसँग प्रत्यक्ष भेटेर सम्पूर्ण प्रशासनिक कार्य उनले नै गरेकी थिइन् । जे होस् सिधा भन्नु पर्दा, उनीहरूको कार्यशैली, क्षमता र कुशलताबाट अत्यन्तै प्रभावित भइसकेको थिएँ । उनीहरूबाट केही सिकेको छु । त्यतिखेर मनमनै लाग्यो कि, यस्ता लगनशील, समर्पित र इमानदार सहयोगीको साथ पाए त मै पनि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भव्य र सफलतापूर्वक सम्पन्न गर्न सक्छु । कोठामा पुगेर फ्रेस भई निर्धारित ठाउँमा आउँदा दुवै केटी एउटा औपचारिक पहिरनमा सजिएर पाको मान्छेसँगै हामीलाई कुरिरहेको थियो । उनीहरू नजिक पुग्नेबित्तिकै एलेनाले सर हि इज आवर प्रेसिडेन्ट भनेर परिचय गराइन् । हेलो भनेँ । उसले हेलो आई एम जर्ज भन्यो । एकआपसमा हात मिलाउँदै अंकमाल गर्यौँ ।
प्रतियोगिताको खाका र तालिकाबारे हल्का जानकारी दिएपछि कार्यक्रमपुस्तिका हस्तान्तरण गरे । हामी बारमा छिर्यौं । जहाँ हामी जस्ता विभिन्न देशबाट आएका खेलाडी, प्रशिक्षक र अफिसियलको स्वागतार्थ कार्यक्रम गरिएको रहेछ ।कार्यक्रममा सहभागी हुने क्रममा आयोजक कमिटीका पदाधिकारी र विदेशी साथीसँग परिचय र भिजिटिङ कार्ड आदानप्रदान भयो । जर्जले तिमी के पिउन चाहन्छौ भनेर सोधेपछि ‘बियर’ भनेँ । विदेश यात्रामा मनपर्ने पेय बियर नै हो । त्यसमा पनि धाराबाट थापेर खाने बियर खास मन पर्छ । अष्ट्रेलियाबाट फर्केपछि धाराबाट थापेर बियर पिएको पहिलो हो । सहकर्मी खेलाडीले जुस मात्र पिए । कार्यक्रम पुरै गीत, संगीत र नाचले गुञ्जायमान बन्न थाल्यो । तर लामो यात्राका कारण महसुस भइरहेको थकानका कारण हामी एक घण्टापछि नै रात्री भोजतर्पm लाग्यौँ । खाना खाइसकेपछि कोठामा पल्टेको त एकै निद्रामा रात कटेछ ।
खेलाडी भाइ नुहाएर तयार भइसकेपछि दुवै ब्रेकफास्ट लिन रिसोर्टको रेष्टुरेण्ट (डाइनिङ) तर्फ लाग्यौँ । ब्रेकफास्ट खाएर सिद्धिन के लागेको थियो, एलेनाजीले रोडेस प्यालेस होटलतिर जाने बताइन् । र, ठूलो पर्यटक बसमा चढाएर हामी लगायत ४० जनाको टोली निर्धारित ठाउँतिर लिएर गइन् । दुई महिना पहिला पाँचतारे होटलमा बस्ने निर्णय र फारम पठाएकाहरू, रसिया र बेलारूसका ४५ खेलाडीको समूह त्यही होटलमा बसेका रहेछन् । हामीले चारतारे होटलमा बस्ने निर्णय दिएकाले हामीलाई एभिता सन रिसोर्टमा राखे । रोडेस प्यालेसमा पुगेर मिटिङ र फोटो सेसनमा सरिक भयौँ । लगत्तै आयोजकले हामीलाई प्रतियोगिता हुने स्थलमा लगे । आयोजकले रंगशाला भने पनि प्रतियोगिता स्थल भने कभर्ड हल मात्र थियो । जहाँ एकै पटक ६ वटा रिङमा खेल सञ्चालन गर्न सकिन्थ्यो । हामी पुगेको केही मिनेटमै कार्यक्रमको भव्य उदघाटन समारोह शुरू भयो । हामी पनि हाम्रो राष्ट्रिय झण्डा र प्लेकार्डसहित मार्चपास गर्नेतिर लाग्यौँ । मार्चपास सकिएर लाइनमा उभिइरहँदा हाम्रो राष्ट्रिय गान बज्यो । राष्ट्रिय झण्डासहित उभिएका हामी राष्ट्रिय गानसँगै गर्वले प्रपूmल्लित बन्न पुग्यौँ ।
उद्घाटन समारोहपश्चात् खेलाडीको तौल, नाप र स्वास्थ्य जाँच गराएँ । खेलतालिकाअनुसार मे ८ मा मात्र मेरो खेलाडीको खेल्ने पालो परेको हुँदा हामी दुई भाइ रिसोर्टतिर फर्कियौँ । कोठामा कपडा फेरेर समुन्द्री तट (किनार) तिर घुम्न निस्कियौँ । समुन्द्री छाल देख्नेबित्तिकै पौडी खेल्न आत्तुरी लाग्ने अनौठो स्वभाव छ मेरो । यसैकारण समुन्द्री किनारातिर घुम्न औधी मन पराउँछु । डुल्दै जाने क्रममा नांगो समुन्द्री बीचमा पुगेँ । जहाँ पुरै नांगो मान्छेबाहेक जान पाइँदैन । धन्न साँझ ५ बजिसकेको भएर कोही पनि भेटिएनन् र निस्फिक्री घुम्न पाइयो । एकछिन दुई भाइबीचमा पश्चिमेली गोराको अनौठो स्वभावबारेमा कुराकानी भयो । अष्ट्रेलियामा तीनवर्ष घुमिसकेको हुनाले त्यो नांगो बीच कुनै नौलो लागेन । सूर्य भाइले घुमौँ न भनेपछि पुगेको मात्र हो ।
मे को ८ तारिख अर्थात हाम्रो खेल हुने दिन । हामी दुवै बिहानको खाजा खाइ सिधै प्रतियोगितास्थलतिर हानियौँ । चाडैँ हिँडेकाले निर्धारित समय भन्दा आधा घण्टा नै चाँडो पुग्यौँ । खेलाडीको वार्म अप शुरू भयो । प्रतियोगिताको दोस्रो खेल नेपाल र ग्रीसबीच भएको थियो । नेपालतर्पmबाट प्रतिस्पर्धा गर्ने खेलाडी सूर्यबहादुर बुढाथोकी ग्रीसका खेलाडीसँग केही मिनेटमा नै पराजित भयो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा ग्रीसकै अर्का प्रतियोगीलाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न पुगे । तेस्रो स्थान मात्र हासिल गर्दा पनि हामीमा खुशीको सीमा रहेन । किनकी नेपालले एमएमएको च्याम्पियनसीपमा भाग लिएको यो नै पहिलो पटक हो । त्यसमा पनि मेरो नेतृत्वमा भाग लिएको खेलाडीले जित्नु भनेको मेरो खेल जीवनको एउटा महत्वपूर्ण उपलब्धी हो । हाम्रो जितमा खुशी हुँदै नेपाल मुवा संघका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक गणेश लाल कक्षपतिले हामीलाई बधाई दिए ।
त्यसपछि हामी सिधै रोेडेसको मुख्य बजार शहर भ्रमण र अवलोकनमा निस्कियौँ । ३० मिनेटको बस यात्रापछि रोडेसको केन्द्र भाग पुग्यौँ । भ्रमणका दौरान केहीले हामीलाई कहाँबाट आएको भनेर सोध्दा गर्व र सानका साथ बुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालबाट आएका हौँ भनेँ । उनीहरू छक्क पर्दै भने, ‘वाउ, आर यु फ्रम नेपाल, आइ लभ नेपाल, आ लाइक टु भिजिट नेपाल ।’ भनेँ, ‘यु आर मोस्ट वेलकम इन आवर स्मल बट ब्युटिफूल सिटी ।’ उनीहरूका अनुसार रोडेसमा अहिलेसम्म कोही पनि नेपालीले भ्रमण गरेका रहेनछन् । यतिकैमा एउटा चित्रकारसँग भेट भयो । फुटपाथमा अरूको अनुहारको दुरूस्त चित्र कोरेर बिक्री गिरी गुजारा चलाउदै आएका तिनीचाहिँ नेपालका केही ठाउँ घुमिसकेका व्यक्ति परिन् । नेपाल राम्रो देश भएको र २०७२ सालको भूकम्पले नेपालको महत्वपूर्ण, ऐतिहासिक र पर्यटकीय ठाउँ नष्ट भएकामा दुःख लागेको सुनाइन् । हामी नेपाली भएकाले उसले ५०% छुटमा हाम्रो पोटे«ट बनाइदिने प्रस्ताव समेत भयो । तर समय अभावका कारण उनलाई केवल धन्यवाद दिई बिदा भएर हिँड्यौँ । साह्रै भोक लागेपछि हामी एउटा रेस्टुरेण्टमा खाना खान छिर्न मात्र लागेको थिएँ, गणेश कक्षपति गुरू मुवा थाइको प्रतियोगिता समापन गरेर हामीलाई खोज्दै टुप्लुक्क आइपुगे । सँगै खाना खायौँ । अघि नै ३ घण्टा घुमिसकेको भए पनि उहाँको अनुरोधमा साथ दिँदै फेरि एक घण्टा दोहोर्याएर घुम्यौँ । साँझ पर्न थालेकाले रिसोर्ट तिर फर्कियौँ ।
९ मेमा विभिन्न देशका एमएमए प्रतिनिधिबीच बैठक र पत्रकार सम्मेलन रोडेस नगरपालिकाको हलमा भयो । दुवै कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएँ । बैठकमा नेपालमा अगामी नोभेम्बरमा अन्तरराष्ट्रिय मिक्स मार्शल आर्ट प्रतियोगिता गर्न लागेको र सबैको सहयोग र सहभागिताका लागि अनुरोध गरेँ । सबैले सहमति जनाउँदै ताली बजाएर मेरो प्रस्ताव समर्थन गरे । सोहीराति आयोजक समितिले हाम्रो बिदाइका लागि बिदाइ समारोह र ककटेल पार्टी आयोजना गरयो । समारोहमा हामी दुई भाई जमेर लाग्यौँ । विभिन्न देशका एमएमए प्रतिनिधिसँग हल्का ड्रिंक्स लिँदै अनौपचारिक छलफलमा जुटेँ । सूर्य भाइ जुस खाँदै नाचगानतिर लागे । राति १० बजिसकेको र भोलि बिहान ९ बजेको यात्राका लागि चाँडै विमानस्थल पुग्नुपर्ने र त्यसका लागि आवश्यक तयारीमा जुट्नुपर्ने भएकाले हामी १० बजे नै खाना खाएर कोठातिर लाग्यौँ ।
भोलिपल्ट मे १० का दिन बिहान बे्रकफास्ट नै नखाई हामी रिसोर्टबाट सिधै एयरपोर्ट प्रस्थान गर्यौँ । एयरपोर्ट पुग्ने बित्तिकै हामीले पानायोतिसलाई बिदाई अंकमाल गर्दै फेरि भेट्ने बाचासाथ बिदा भयौँ । एक घण्टा चाँडै पुगेकाले चेक इन हुन त्यति नै समय कुर्नुप¥यो हामीले । बिहान नौ बजे हामी एथेन्सका लागि उड्यौँ । किन हो किन हाम्रो प्लेन त पहिला भन्दा १५ मिनेट अगाडि नै एथेन्स एयरपोर्टमा अवतरण गर्यो । मसँगै प्लेनमा यात्रारत खेलाडी सूर्य बुढाथोकी र मुवाथाइ प्रशिक्षक अबुधावी हुँदै काठमाडौं जान प्लाइट ट्रान्सफरतिर लागे । म थप ५ दिनका लागि एथेन्समै रहने गरी आगमन कक्षबाट बाहिर निस्क्यौँ । त्यसपछि अझ स्वतन्त्र र खुला भएको महसुस हुन थाल्यो । विदेश यात्राका बेला गोरेजस्तै खुला र स्वतन्त्र भएर हिँड्नु त मेरो विशेषता हो । जोकोही सँग खुलेर बोल्ने, राम्रो व्यवहार गर्ने स्वभावका कारण यात्रामा धेरै साथी पाउने गरेको छु । विदेश यात्रामा जसले परिवेश र त्यहाँको सामाजिक रहनसहन, संस्कृति र वातावरणसँग घुलमिल हुने र रम्ने गर्दछ, उसले पूरै मनोरञ्जन र आनन्द प्राप्त गर्दछ । तब मात्र उसको भ्रमण र यात्रा सफल र सार्थक हुन पुग्छ । मेरो सिद्धान्त पनि यही हो । तसर्थ म हरेक वैदेशिक यात्रामा नाचगान, हाँसखेल गरी भरपूर मनोरञ्जन लिने गर्दछु । विदेशमा संकुचित र साँघुरे हुनु हुँदैन, यसले यात्रा नै खल्लो बनाउँछ । (बाँकी अर्को भागमा)