सकेसम्म हिँडाईलाई महत्व दिनुस् । हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाहीँ अनेकपल्ट घोरिँदा पनि नआएका कुरा हिँडाईका क्रममा आउँछन् । पैतालाको रफ्तारले दिमागका बन्द चेपहरु खुल्छन्
ह्याप्पी राईटिङ लेखनमा रुची भएका मित्रहरु लेखनका लागि सुझाव मागिरहनुहुन्छ । त्यसैले मैले सामान्य १० वटा सुझाव बनाएको छु, आशा छ, काम लाग्दो नै होला । यदि कामलाग्दो लाग्यो भने धन्यवाद भन्न नर्बिसनु होला ।
१. सबैभन्दा पहिला ‘लेख्नु किन परेको ?’ भनेर सोच्नुस् ! कुनै लेखक र कृतिको चर्चाले यस्तो मनोभाव आएको हो भने यस्ले दुःख बाहेक अर्को केही दिँदैन । यदि साँच्चिकै मनैदेखि लेख्न मन लागेको हो भने चिन्ताको कुनै विषय छैन । पाउलो कोएलो भन्छन्, ‘हरेक मानिससित आफ्नो छिमेकीलाई भए पनि सुनाउने एउटा शानदार कथा हुन्छ । आफूसित पनि त्यस्तो कुनै कथा छ भने शुरुवात गरिहाल्नुस् ।
२. प्राडा डिपी भण्डारी भन्नुहुन्छ, ‘लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।’ शैली श्रमले बन्दैन । आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्न थाल्नुस् । आफूभित्रको सर्जकलाई पागलपन दिनुस् । लेख्दै जाँदा आफूले पढेका लेखक र कृतिभन्दा एकदमै फरक हुन थाल्यो भने नआत्तिनुस्, खुशी हुनुस्, तपाईं आफ्नो शैली निर्माण गर्दै हुनुहुन्छ ।
३. पुस्तकको पहिलो अध्याय नै महान लेख्छु भनेर सोच्न थाल्नु भयो भने सोच्दासोच्दे समय घर्किन सक्छ । मार्खेज भन्छन्, ‘पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ ।’ तर, मलाइ लाग्छ, ‘प्रायः पुस्तकले पहिलो हरफ बीचतिरबाट पाउँछ । लेख्दै गएपछि, जब पुस्तकले एउटा आकार पाउँछ, त्यति नै बेला, पहिलो अध्याय पनि पाउँछ ।’ धेरै लेखकहरु पहिलो खण्ड पुस्तकको बीचतिरबाट निकालेर अगाडि राख्छन् । त्यसैले शक्तिशाली शुरुवातको चिन्ता शुरुमै नगर्नुहोला ।
४. लेखिरहेका बेला आफ्नो लेखनीलाई कहिल्यै पनि अरु लेखकका प्रकाशित भइसकेका कृतिसित नदाँज्नुस् । किनभने, पहिलो ड्राफ्ट कमजोर नै हुन्छ । हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्छन् । ड्राफ्टलाई अनेकपल्ट पुर्नलेखन गरेर प्रकाशित गरिन्छ । त्यसैले अनेकपल्ट पुर्नलेखन गरेर छापिएका कृतिका अगाडि आफ्नो पहिलो लेखनी कमजोर नै लाग्छ ।
५. आफूले लेखिरहेका कुरा धेरैलाई सुनाउँदै नहिँड्नुस् । धेरैपल्ट सुनाउँदा सुनाउँदा त्यो विषय नै आफैँलाई पनि दिक्क लाग्न थाल्छ । र, कहिलेकाहीँ सुन्ने मान्छेको मुहारमा तपाईंले खाजेको उत्साह पनि नभेटिन सक्छ, जस्ले तपाईंलाई निरास बनाउन सक्छ । लेखिरहेको कुरा सुनाउँदै हिँड्नु भनेको प्रेसर कुकरबाट बाफ लिक हुनुजस्तै हो, जसले सिटी बज्दैन ।
हरेक पुस्तकले आधाआधी भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ
६. लेख्न सुरु गरेपछि, कहिले सकिएला भनेर नआत्तिनुस् । र, छोटो समयमै सक्छु भनेर कस्सिनु भयो भने केही हप्ता जाँगर त आउला, तर थकान र दिक्क लाग्ने हुनुथाल्छ । जब रफ्तार रोकिन्छ, फेरि शुरुवात गर्न असाध्यै गाह्रो हुन्छ, गाडीको इञ्जिन झ्याप्प बन्द भएर मेसिन जाम भएजस्तो । त्यसैले हरेक दिन लेख्नुस्, तर थोरै थोरै लेख्नुस् । प्रायः लेखकहरु दिनमा २५० शब्ददेखि १ हजार शब्द लेख्छन् । कापीमा हो भने एकदुई अनुच्छेददेखि तीनपन्नासम्म । हारुकी मुराकामी हजार शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तीन पन्ना । सगरमाथा चढ्नेहरु दर्गुदैनन् तर एक–एक कदम गरेर चुचुरोमा पुग्छन् ।
७. लेखनमा सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासनबिनाको प्रतिभा फक्रिन सक्दैन । हरेक दिन लेख्छु भनेर वाचा गर्नुस् र त्यो वाचालाई पूरा गर्नुस् । चौबीस घन्टामा आफूलाई पायक पर्ने कुनै एकघन्टा छुट्याउनुस् । र, त्यो समयमा मूड चलोस्, या नचलोस्, लेखिरहनुस् । केही पनि फुरेन भने आफ्नै नाम नै भए पनि लेखिरहनुस् । बिस्तारै तपाईंले छुट्टाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ ।
८. किताब एकतिहाईसम्म लेख्दा आफैँलाई पनि बारम्बार लागिरहन्छ, म के सही कथा र शैलीमा हिँडिरहेको छु ? लाग्छ, ‘हरेक पुस्तकले आधाआधी भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ ।' र, प्रायः लेखकहरु बीचतिरबाट निस्केको भाषा र शैलीलाई फेरि अगाडिबाट मिलाउँदै ल्याउँछन् ।
९. दिनदिनै लेख्दा आउने समस्या के हो भने अघिल्लो दिनको जस्तो भावना र ऊर्जा अर्को दिन नहुनसक्छ । आज के बाट शुरु गरौँ भनेर लामो समय टोलाउनु पर्ने हुन्छ । त्यसैले अघिल्लो दिन मनमा आए जति कुरा सबै नलेख्नुस् । अलिकति भोलिलाई बाँकी राख्नुस् । भोलि मनको बाँकी कुरा लेख्नु भयो भने अरु आफैँ थपिँदै जाने सम्भावना हुन्छ । संगीतको शौखिन हुनुहुन्छ भने एउटा संगीतको फोल्डर बनाउनुस् । हरेकदिन त्यही फोल्डर सुन्दै लेख्ने गर्नुस् । मलाइ लाग्छ, ‘तपाईंले सधैँ सुनिरहेको संगीत पुस्तकको ब्याकग्राउन्ड म्युजिकजस्तो हुँदै जान्छ । जब संगीत सुन्नुुहुन्छ–संगीतले नै कथाको संसारमा पुर्याइदिने सम्भावना पनि हुन्छ ।’
१०. स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ नै, लेखनमा पनि झन् महत्व नै हुन्छ । खानपिन र हिँडडुलमा ख्याल राख्नुस् । खानाको गड्बडी र कम शारीरिक अभ्यासले ग्यास्टिक जस्ता रोग निम्त्याउछन् । पोलिरहेको छाति वा पेटले अक्षर गोडमेल गर्न गाह्रै हुन्छ । सकेसम्म हिँडाईलाई महत्व दिनुस् । हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाहीँ अनेकपल्ट घोरिँदा पनि नआएका कुरा हिँडाईका क्रममा आउँछन् । पैतालाको रफ्तारले दिमागका बन्द चेपहरु खुल्छन् भन्ने मलाइ लाग्छ ।
दिनदिनै लेख्दा आउने समस्या के हो भने अघिल्लो दिनको जस्तो भावना र ऊर्जा अर्को दिन नहुनसक्छ । आज के बाट शुरु गरौँ भनेर लामो समय टोलाउनु पर्ने हुन्छ । त्यसैले अघिल्लो दिन मनमा आए जति कुरा सबै नलेख्नुस् । अलिकति भोलिलाई बाँकी राख्नुस् ।
बुद्धि सागरको फेसबुकबाट