लक्ष्मण शर्मा पोखरा । भिम सार्की र रोहन मुस्ताफाको उत्कृष्ट ब्याटिङ तथा सोमपाल कामी र बिपिन कार्कीको किफायती बलिङले पीपीएल क्रिकेटमा बुटवल ब्लास्टर्सले लगातार दोस्रो जीत निकालेको छ । घरेलु टिम पोखराविरुद्व बुटवलल ३३ रनले विजयी भयो ।
टस जीतेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । १ सय ५१ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको घरेलु टिम पोखरा १ सय रनमा नै रोकियो । गतिलो शुरुवात गरेको पोखराका मध्यक्रमका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यान कुशल भूर्तेल र आसिफ सेखको विकेट पतन पछि पोखराको विकेट झर्ने क्रम रोकिएन् । कुशल ९ रन बनाएर आउट हुँदा आसिफ २० रनमा नै आउट भए । पोखराका लागि सर्वाधिक रन आसिफले बनाएको २० रन नै भयो । तेस्रो र पाँचौ नम्बरमा आएका रविन्द्र सिंह र शरद भेषवाकरले क्रिज सम्हाल्ने प्रयास गरे पनि त्यो प्रयास सफल हुन सकेन् । रविन्द्र ११ रनमा आउँट हुँदा शरद १९ रनमा पेभिलियन फर्किए । बिनोद भण्डारी ६ रनमा आउट भए । पोखराका मोहम्मद नाभिले ११, रसिद खानले १०, रोहित पौडेल २ र मेहबुव आलम १ रनमै आउट भए । बिक्रम भुषाल ८ रन र ललितनारायण राजवंशी ९ रनमा नटआउट रहे ।
पहिला ब्याटिङ गरेको ब’टवलका लागि भने शुरुवात सुखद रहन सकेन पहिलो ओभरमा एक रन मात्र जोडेको वुटवलको दोस्रो ओभरमा नै विकेट गएको थियो । दोस्रो ओभरमा बुटवलका चिराग सुरी ५ रनमा आउट भए । अर्का ओपनर सागर पुनको प्रदर्शन पनि आज सम्झन लायक हुन सकेन । उनी १० बलमा २ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बुटवलका रोहन मुस्ताफाले बुटवलको पारी सम्हाले । मुस्ताफाले ४५ रनको योगदान गरे । ३५ बलको सामना गरेका मुस्ताफाले ३ चौका र २ छक्का प्रहार गरेका थिए । बुटवलकाभिम सार्कीले आज उत्कृष्ट पारी खेल्दै ४६ बलमा ५४ रन बनाए । सार्कीले ३ छक्का र २ चौका हाने । सोमपाल कामीले ८ बलमा २२ रन, सिद्वान्त लोहनीले १३ रनको योगदान दिए । प्रकाश केसी शून्य रनमा आउट हुँदा शंकर राना १ रनमा अविजित रहे ।
पोखरा राइनोजका मोहम्मद नाभिले ३ विकेट हात पारे । ४ ओभर बलिङ गरेका नाभिले २० रन खर्चे । मोहम्मद आलम, शरद भेषवाकर र ललितनारायण राजवंशीले समान एक एक विकेट लिए । पोखराका लागि रसिद खान महँगो साबित भए । ४ ओभर बलिङ गरेका खानले बिना विकेट ३८ रन दिए । यसअघि आजै भएको पहिलो खेलमा एक्स्पट धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । १ सय ८३ रनको चुनौतीका साथ मैदानमा उत्रेको विराटनगर १६.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि सुनिल धमलाले २१, भारडिातय खेलाडी एन्रोइ सुविक्सनले १८, मोहम्मद जाइदले १९ रन बनाए । विराटनगरका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । धनगढीका डान लोरेन्सले ३ तथा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । कमलसिंह ऐरी र रोविन क्षेत्रीले एक एक विकेट लिए । यसअघि ब्याटिङ गरेको धनगढीका लागि पीडी ट्रेगोले ५३ रनको योगदान दिए । कप्तान दिपेन्द्रसिंह ऐरिले २९, सन्दीप जोरा १२ रनमा आउट भए । सौरभ खनालले ४१ रनको बिष्फोटक पारी खेले । खनालले १३ बलमा २ चौका र ५ छक्का हाने । विराटनगरका जीतेन्द्र मुखियाले ४ विकेट लिए । मुखियाले ४ ओभर वलिङ गरेर ४९ रन दिए । विराटनगरका सुनिल धमला, सन्दीप लामिछाने, किशोर महतो, पीडि ट्रेगो र मोहम्मद जाहिदले समान एक एक विकेट लिए ।