टिप्पणी–रामान
काठमाडौं । अल्जाइमर्स नै त भएको छैन होला, नियमित जचाउने हाम्रो बानी पनि छैन । तर अक्सर हामी एउटा कुरामा सबैको आचरण ठ्याक्क मिल्छ, त्यो हो, कुरामा लठ्ठ पर्ने, अनि झट्ट बिर्सने ।
जस्तोः २०७२ वैशाख १२ को भूकम्पले काठमाडौं कति आहत थियो, हामीले बिर्सियौँ । बानेश्वरको संसद भवन र टुँडिखेलमा पाल हालेर रात काटेको बिस्यौँ । धरहरा बिर्सियौँ । काठमाडौँका कयौँ अवशेषमा अझै थुप्रै हराइरहेका, गाडिएका लाश बिर्सिसक्यौँ । टेको हालेको घरमा हामी रमाइरहेका छौँ ।
यतिमात्रै होइन, हामीले नेपाली कांग्रेसका सभापति सुशील कोइराला बिस्यौँ । भूकम्पपीडितको दुःखको जिन्दगी बिर्सियौँ । दिवंगत भएको एक वर्षमै प्रकाश दाहाल बिर्सियौँ, जेबी टुहुरे बिर्सियौँ । जनयुद्धको सारथि रहेको सेनच्याङ सांस्कृतिक समूहका क्रान्तिकारी गीतहरु बिर्सियौँ ।
लाग्छ, बिर्सनुमै मजा छ जिन्दगीमा ।
यस्तैमा एउटा बिर्सिइएको घटना थियोः झलनाथ खनाल सरकारका ऊर्जामन्त्री गोकर्ण विष्ट । गुल्मीका गोकर्ण विष्टको राजनीति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली संस्थापक अध्यक्ष रहेको युवा संघ नेपाल (तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल) बाट चम्केको हो । नेपाली युवा आन्दोलन र पार्टीलाई बलियो बनाउने काममा ओली स्वयम्ले स्थापना गरेको संस्थामा विभिन्न पद सम्हाल्दै अध्यक्ष हुँदै सांसद बनेका गोकर्ण विष्ट राष्ट्रिय छविमा लोकप्रिय तत्कालीन एमालेका केही नेतामा अग्रपंक्तिका हुन् ।
युवा संघमा हुँदा उनले भारतले नेपाली भूमि छेउछाउमा गरेको थिचोमिचो, बाँध बाँध्ने कामविरुद्ध १६ सांसद लगेर विरोध गर्ने काममा राष्ट्रियताको फेरो बाँधेका थिए । यिनै विष्ट झलनाथ खनाल सरकारमा ऊर्जामन्त्री बने । उनले विद्युत् महसुल नतिर्नेलाई ‘तारो’ बनाए । आफैँ गएर लाइन काटे । जतिखेर गोकर्ण विष्ट विद्युत्को लाइन काटिरहेका थिए, उनका साथी, समकालीन र अब्बल दर्जाका बुद्धिजीवी भन्नेहरु चैँ कुरा काटिरहेका थिए । विद्युत् प्राधिकरणका खरदार सुब्बाले गर्ने काम मन्त्रीले गरेर अतिरिक्त लोकप्रियता हासिल गर्न खोज्यो भनेर । ती अब्बल दर्जाका मनुवाहरुलाई थाहा थियो, कर्मचारीले समयमा काम नगरिदिँदा लोकतन्त्रमा दलहरु लगातार ‘फेल’ भइरहेका थिए ।
सरकार लामो समय टिक्न पाएन । राजनीतिक छिनाझप्टीमा सरकार खुर्मुरियो । अर्को सरकार बन्दा पनि मन्त्रीमा ‘गोकर्ण विष्ट’ दोहोरिएको हेर्न जमात चानचुने थिएन । तर जनताले चाहेर मन्त्री बन्ने मुलुक होइन यो, प्रधानमन्त्रीले चाहेर मन्त्री हुने मुलुक थियो । विष्टको पालो हत्पत्ति आएन । आउँदा अर्कै मन्त्रालय प¥यो । मन्त्री छाडेका दिन गोकर्ण विष्टले विद्युत् प्राधिकरण र सरकारी सुविधाका कुनै ‘सयल’ आफ्ना आगामी राजनीतिमा ‘मयल’ बनाउन चाहेनन् । त्यसैले उनले लाइन काट्दा भन्दा मन्त्रीको अवधि सकिएपछि ‘ट्याक्सी’ चढेर घर जाँदा अरु लोकप्रियताका जामामा पुरिए । वाह मन्त्री होस् त गोकर्ण विष्ट जस्तो !
यिनै गोकर्ण विष्ट दोस्रोपटक प्रधानमन्त्री भएका केपी ओली सरकारमा श्रम तथा वैदेशिक रोजगार मन्त्रालयमा थुपारिए । विष्ट युवासंघमै हुँदा पटकपटकका राष्ट्रिय सम्मेलनमा एजेन्डा बनेको युद्ध र निरंकुश राजतन्त्रको चपेटामा देश पर्दा वैदेशिक रोजगारीका नाममा युवाको किनबेच, मानव बेचबिखनको चंगुल । अझ विष्टकै पार्टीका संगठित सदस्यहरुको कब्जामा वैदेशिक रोजगारीको मान्छे कारोबार । ‘वडामा पनि चुनाव उठेको अनुभव नभएकाहरुको नजर’मा हरतरहले संसदीय क्षेत्रमा स्पातिलो बनेर अविजित विष्ट ‘डेन्जर जोनका पात्र’ भनेर चर्चा गरिनु ।
वैदेशिक रोजगारी, वार्षिक ५ लाख विदेशिने, ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नाममा गाउँका दाजुभाइ खसीबोकासरह बेचेर ‘गोटा गनेर’ कमिसन खाने वैदेशिक रोजगार व्यवसाय चलाउने र परिआउँदा सत्तामा पुग्न गोकर्ण विष्टकै पार्टी सदस्यता लिने र चन्दा दिनेहरुले पनि विष्टलाई ‘डेन्जर जोन’को भिरबाट खङार्न कन्दनी खुस्कने गरी बल गरे । तर विष्टले गरेका फास्ट ट्र्याक निर्णय, मलेसियासँग भएको सम्झौताले विष्टको राजनीतिक उडान अरु आकाशिएको छ । ‘डेन्जर जोन’का चर्चाकारहरु चोकतिर विलीन भएको छ । उनीहरुको राजनीति त अनिश्चित बनेकै छ ।
अनि मलेसियामा रोजगारीमा अब जो कोही योग्य जान सक्नेछन् । ५८ सयमा मलेसिया जान सक्ने बनाइदिने गोकर्ण विष्टको प्रगतिशील कदमले डेन्जर जोनको खेती गर्नेहरुलाई आत्घात नहोस् । किनभने गोकर्ण विष्टले राष्ट्र र युवाका लागि काम गरेका हुन् । वडामा नउठेकाहरुको के भन्छन्, सुन्ने, उत्तर दिने विष्टको आदत र चाह छैन । हिजो बिजुलीका लाइन काट्दाकाट्दै ट्याक्सी चढेर घर गएका गोकर्ण विष्ट नेपाली राजनीतिमा फेरि एकपटक ‘बाघसवारी’मा कमब्याक भएका छन् । फेसबुक र ट्विटरमा मात्रै लोकप्रिय अरु कति नेताहरु, वडामा जित्ने मत नभएका बलशाली सचिवालयका सल्लाहकाहरु, अब त गोकर्ण विष्टलाई ‘वेल डन गोकर्ण’ भनेर ट्विट गर्नुहोस्, किन ढिकुरे छाति, भंगेरे चित्त ?