काठमाडौं । गतवर्षको असारमा प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ केहि समय अघि युट्युबमा रिलिज गरियो । नेपाल बाहिरका दर्शकहरुको लागि १ महिना अघि युट्युबमा सार्वजनिक गरिएको चलचित्र दशैँको अवसरमा नेपालका दर्शकहरुको लागि भन्दै सार्वजनिक गरियो ।
दशैँमा दर्शकले युट्युबका चलचित्र हेर्न पाउँदा खुशी पनि भए । तर चलचित्रको बारेमा भने मिश्रित प्रतिक्रिया आएको छ । अधिकांशले चलचित्र सोचेको जस्तो नभएको प्रतिक्रिया दिएका छन् भने कतिपयले पुजा र पलको फ्यान भएकोले मात्र फिल्म राम्रो लागेको बताएका छन् । उसो त प्रदर्शनताका पनि समिक्षकले चलचित्रलाई राजाराम पौडेलको कमेडीले मात्र धानेको उल्लेख गरेका थिए ।
युट्युबमा राखिएको भिडियोमा कमिटेड राइडर नामक प्रयोगकर्ताले फिल्म झुर लागेको राजारामको कमेडी भने राम्रो लागेको बताएका छन् ।
आकाश नामक प्रयोगकर्ताले टीप्पणी गर्दै लेख्छन्, ‘कहानी दोहोरिएको अनुभव भयो ।’
कुसुम श्रेष्ठले चलचित्र सोचेजस्तो राम्रो नभएको लेखेकी छन् ।
चलचित्रको नकारात्मक सँगै सकारात्मक पनि प्रतिक्रिया प्राप्त भएका छन् । लक्ष्मण बिस्ट नामक प्रयोगकर्ताको टिप्पणी छ, ‘कति दामी मुभि पुजा र पलको ।’
दिक्षा थापा नामको प्रयोगकर्ताले हलमा गएर हेरेको भएता पनि अहिले पनि बारम्बार युट्युबमा हेर्ने गरेको उल्लेख गरेकी छन् ।
यस्तै अर्का प्रयोगकर्ता राम केसीले चलचित्रको गीतमात्र राम्रो भएको बताउँदै निर्देशन सुदर्शन थापाको कडा शब्दमा आलोचना गरेका छन् ।
आफुलाई सुशिला गुरुङ भनी चिनाउने प्रयोगकर्ताले लेख्छिन्, ‘खास भन्नुपर्दा फिल्म एकदमै झुर रैछ ।’
युट्युबमा सिर्जना घिसिङ नामक प्रयोगकर्ताले चलचित्र सोचको भन्दा राम्रो लागेको बताएकी छन् ।
दीपेश पराजुलीले चलचित्रकाको बारेमा टिप्पणी गर्दै लेखेका छन्, ‘मेरो २ घण्टा सत्यानाश ।’
यस्तै आफुलाई दीपक थापा भनी चिनाउने प्रयोगकर्ताले लेखेका छन्, ‘पुरै २ घन्टा २१ मिनेट ५ सेकेन्डमा डाक्टरको रोल मात्र मनपर्यो ।’ चलचित्रकमा डाक्टरको भुमिका राजाराम पौडेलले निभाएका छन् ।
१५ दिन अघि युट्युबमा सार्वजनिक गरिएको चलचित्रलाई अहिलेसम्म १५ लाख भन्दा धेरैपटक हेरिसकिएको छ । १७ सयभन्दा धेरै कमेन्ट आएको चलचित्रको भिडियोमा १९ हजार लाईक छ । सुदर्शन थापको निर्देशनमा बनेको चलचित्रमा सुदर्शन थापा र पुजा शर्माको लगानी छ । चलचित्रमा पल शाह, पुजा शर्मा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, मोहन निरौला, नविन मानन्धर, बिक्रम सेन लगायतका कलाकारहरुको अभिनय छ ।