काठमाडौं । नेपालमा विकास भएका वैध तथा अवैध सञ्चारमाध्यम, विकसित हुँदै गएको सामाजिक सञ्जालबाट कसैबारे टिकाटिप्पणी, रिसिइबी साट्नु पछिल्लो समय सामान्य बन्न थालेको छ । कसले कसलाई कसरी प्रहार गर्ने हो, सामाजिक सञ्जालमा पोष्ट गरिन्छन् र खिल्ली उडाइन्छ । पीडित व्यक्ति प्रहरी (अपराध महाशाखा) कहाँ निवेदन लगेर जान्छन् र त्यहाँको जवाफ हुन्छसः यस्ता घटना हामीले होइन, अदालतमा दर्ता गराउनुपर्छ भन्दै कुरा टारिन्छ ।
नागरिकले यस्ता समस्यालाई दिनानुदिन खेप्दै आएका छन् । कतिपय घटना त्यतिकै गुमनाम भएका छन् त कति नियामक निकायकै बेवास्ताका कारण समस्या भोग्दै आएका छन् । कुनै पनि मानिसलाई सामाजिक सञ्जालमा गरिने गालीगलौज, चरित्र हत्याले उसको मानसिक र सामाजिक प्रतिष्ठामा असर पुगेको हुन्छ । विभिन्न बहानामा निर्दोषसमेत यसको शिकार बन्ने गरेका छन् ।
प्रसंग, प्रधानमन्त्री केपी ओलीसँग जोड्न खोजेका छौँ । प्रधानमन्त्री ओली सोमबारदेखि आफ्नो स्वास्थ्यमा आएको खराबी कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत हुनुहुन्छ । धपेडी र दशैँको टीकामा व्यस्त बन्नुभएका उहाँलाई संक्रमणले विभिन्न समस्या देखिएका छन् । श्वासप्रश्वासमा समस्यादेखि शरीरमा चिनीको मात्रा समेत असन्तुलन भएको देखिन्छ । पछिल्लो समय उहाँको उपचारमा संलग्न डा. अरुण सायमीले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको स्वस्थ्यमा ८० प्रतिशत सुधार आइसकेको बताउनु भएको छ ।
उहाँले आजै गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरुसँग अस्पतालमै बोलाइ सरकारका कामहरु निरन्तर गर्न निर्देशन समेत दिनुभएको छ । स्वास्थ्य अवस्था कमजोर भएकै मौकामा सामाजिक सञ्जालमा आएका यी अभिव्यक्तिलाई हेर्ने हो भने समाज कति अराजक भइसकेछ भन्ने भान हुन्छ ।
यतिसम्मकी, प्रधानमन्त्री ओलीको तथाकथित निधनसम्मका पोष्ट हेर्दा लाग्छ, हाम्रो सोच कतिसम्म गिर्न थाल्यो । सूचनामा फड्को मारेको नेपालका लागि यी चुनौति सावित भएका छन् । देशको सर्वोच्च पदमा आसिन व्यक्तिलाई यतिसम्म भनिन्छ, लेखिन्छ भने आम सर्वसाधारणको हालत के होला ? अराजकता र छाडा प्रवृत्ति अन्त्य गर्न सामान्य कारबाही कम हुनसक्छ । यसका लागि पनि सोच्ने बेला भएको छ ।
सामाजिक सञ्जालमा प्रस्तुत सामग्री हामीले यहाँ प्रकाशन गर्न सकेनाैँ ।