सुखिलाल चौधरी उयदपुर । तत्कालीन माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वका समय प्रहरी कारबाहीमा घाइते भएका द्वन्द्वपीडित घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाइरहेका छन् । जनयुद्धक्रममा २०५६ दशैँताका प्रहरी नियन्त्रणमा परी एकमहिना लामो कठोर यातना भोगेका लिमचुङबुङ–४ बलम्ताका ४१ वर्षीय टीकावीर राई घाउ बल्झेर सताउन थालेपछि उपचार र राहतको आसामा सदरमुकाम आएका हुन् ।
त्यसबेलाका द्वन्द्वपीडित धेरै जसोले राहत र क्षतिपूर्ति पाइसके पनि राईले राहत नपाएको गुनासो गरेका छन् । तत्कालीन बिद्रोही माओवादी शान्ति सम्झौतामा आएर पटकपटक सत्तामा पुगेर एमालेसँगको एकीकरण भइसक्दासम्म राई राहतबाटै वञ्चित मात्र भएका छैनन्, प्रहरीले दिएको यातनाको घाउ बल्झँदा उपचार खर्चसमेतको अभावमा छन् ।
त्यसबेला सेना प्रहरीकै दबाबमा बलम्ताबाट साविक भलायडाँडा गाविस–९, हाल उदयपुरगढी गाउँपालिका–७ मइन्टार सत्यवति बसाई सर्न बाध्य राईलाई इलाका प्रहरी कार्यालय कटारीले २०५६ को दशैँताका नियन्त्रणमा लिएर कठोर यातना दिएको उनी बताउँछन् । कटारी बजार गएका बेला पक्राउ परेका उनलाई हिरासतमा ३ दिन राखेर यातना दिइएपछि जिल्ला प्रहरी कार्यालय सिराहा लगेर थप २ दिन त्यस्तै यातना दिइयो ।
सिराहाबाट पुनः वडा प्रहरी कार्यालय लाहान अड्डासार गरेर २४ दिन त्यहाँ रातदिन अमानवीय यातना दिएपछि उनी सख्त घाइते बने । मरणासन्न अवस्थामा पुग्दा पनि उनलाई दोषी नभेटेपछि १ महिनाको दैनिक तारेखमा छाडिएको थियो । पीडित राईका अनुसार त्यसबेलाको प्रहरी यातनाबाट राईको दाहिने खुट्टाको पैतालाको हड्डी भाँचिएको थियो । रातदिन प्रहरीले ओरालो मुन्टो पारेर पैतालामा फलामे डण्डीले हिर्काउने तथा बेलाबेलामा करेन्ट लगाएर सताउने गरेको उनी बताउँछन् ।
पटकपटक रडले पैतालामा हिर्काउदा हड्डी भाँचिएको उनले तारेखमा छुटेपछि अस्पतालमा जचाउँदा पत्ता लागेको थियो । ‘यति धेरै पिट्थे कि बोल्न नसक्ने गरी सिथिल हुन्थेँ,’ राईले त्यसबेलाको यातना सम्झे, ‘बोल्नै नसक्ने गरी बेहोस भएपछि बल्ल छाडिदिन्थे, अनि होसमा आएको थाहा पाउनेबित्तिकै फेरि आएर पिट्थे ।’ लाहान प्रहरीका तत्कालीन निरीक्षक दीलिपकुमार चौधरी नेतृत्वको प्रहरीले पालैपालो कुट्ने गरेको र सुत्न र खान नदिएर अमानवीय यातना दिने गरेको उनको भनाइ छ ।
प्रहरीको यातनाबाट भाँचिएको हड्डी उपचार गर्न त्यसबेला १ सय ३० वटा सुई दिनुपरेको उनी बताउँछन् । तारेखमा छुट्नेबित्तिकै उनलाई अभिभावकले मेडिकल लगेर जचाउँदा पैतालाको हड्डी भाँचिएको एक्सरे रिपोर्ट आएपछि डाक्टरको सल्लाह अनुसार हड्डी जोड्ने सुई दिइएको उनले बताए ।
प्रहरी, अदालत र वकिललाई त्यसबेलाको झण्डै १ लाख रुपैयाँ खर्च ऋण काढेर अभिभावकले दिएको बाबु विक्रमानसिंह राई बताउँछन् । माओवादी कार्यकर्ता घरमा आएर खाना खाएको बहानामा प्रहरीले शंका लागी कारबाही गर्ने चेतावनी दिएपछि आत्मसमर्पण गर्न कटारी गएका बेला छोरालाई प्रहरीले पक्राउ गरी यातना दिएको उनको भनाइ छ ।
माइलो दाजु तुलसीकुमार राई जनयुद्ध सुरुताकादेखि नै पार्टीमा लागेर भूमिगत भएपछि राई परिवारलाई सेना प्रहरीले घरमै आएर दुःख दिने गरेको थियो । स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत त्यतिबेला २० वर्षका टीकावीर पार्टी के हो भन्नेबारे अन्जान थिए । पक्राउ परेर प्रहरी यातनाबाट घाइते भएपछि उनी पढाइ छाडेर राजधानीतिर पलायन हुनुपर्दा पढ्न नपाएर भविष्य अन्धकार भएको दाजु थमानसिंह बताउँछन् ।
उनी छुटेको एकवर्षपछि २०५८ मा दाजु तुलसी प्रहरी मुठभेडमा मारिएको खबर आए पनि अहिलेसम्म उनको लास पाइएको छ । दाजु त मारिए वा बेपत्ता पारिए, तर आफू घाइते भएर बस्नुपर्दा उनलाई ननिको लागेको छ । घाइते अवस्थामा छाडिएपछि उनी फेरि पक्राउ पर्ने डरले भागेर राजधानी गए, खाडी मुलुक भासिए । राज्यले द्वन्द्वपीडितलाई राहत र क्षतिपूर्तिको नाममा मोटो वितरण गरेको उनले सुनेको तर आफूले नपाएको बताए ।
१० वर्षे जनयुद्ध र त्यसपछिका बिभिन्न बिद्रोहका क्रममा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत वितरण गर्ने शान्ति समिति समेत भदौदेखि सरकारले विघटन गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले शान्ति समिति विघटन भइसकेकाले त्यस्ता पीडितलाई राहत कसरी दिलाउने भन्ने विषयमा स्पष्ट नियम नआइसकेको बताए ।
सरकारले कार्यदल बनाएर छुटेका पीडितलाई राहत दिलाउनेसम्मको कुरा सुनिए पनि आधिकारिक पत्र नआइसकेकाले यसबारे केही भन्न नसकिने सिडिओ कार्कीले बताए ।