काठमाडौं । प्रदेश ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले दुव्र्यवहारको अभियोग लगाएर शुक्रबार मन्त्रीबाट बर्खास्त गर्नु भएको हो ।
मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अन्तरगतको अधिकार प्रयोग गरी स्थापितलाई मन्त्रीबाट बर्खास्त गर्नुभएको हो । मुख्यमन्त्ती पौडेलले मन्त्री स्थापितले आफूलाई पटक पटक अपमान गरेको आरोप लगाउनु भएको छ ।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकमा समेत स्थापितले आफूलाई दुव्र्यहार गरेको मुख्यमन्त्री पौडेलको भनाई छ । स्रोतका अनुसार मन्तिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन नै परेको थियो ।
मन्त्रिपरिषद्र चर्काचर्कीपछि मुख्यमन्त्री पौडेल स्थापितलाई मन्त्रीबाट हटाउन बिहिबार काठमाडाैं आउनु भएको हो । मुख्यमन्त्री पौडेल काठमाडौं आउना साथ अस्पताल पुगेर स्थापितलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्ती के.पी ओलीसँग अनुमति माग्नु भएको थियो ।
तर प्रधानमन्त्री ओलीले यसमामा पछि पार्टीमा सल्लाह गर्ने भन्दै टार्नु भएको थियो । स्थापितलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीले तत्कालै अनुमति नदिएपछि मुख्यमन्त्री पौडेलले त्यसको लागि महासचिव विष्णु पौडेलको सहारा लिनुभयो ।
महासचिव पौडेलले स्थापितलाई मन्त्रीबाट हटाउन आग्रह गर्नुभयो । तर पनि प्रधानमन्त्री ओलीले स्थापितलाई हटाउन चाहनु भएको थिएन । त्यसपछि मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितलाई मिलाएर लैजाने सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले दुबै पक्षलाई मिल्ने योजना बनाइरहेको बेला पौडेलले मुख्यमन्त्रीको अधिकार प्रयोग गरेर स्थावितलाई मन्त्रीबाट हटाउनु भएको हो । नेपाल कम्युनिष्ट पार्टीभित्र निकै बलियो मानिएका र ओली निकट भनेर चिनिएका स्थापित मन्त्रीबाट बर्खास्त भएपछि त्यसले पार्टीमा ठूलै तरङ्ग ल्याउने स्थिति देखिएको छ ।