खेम बमकाठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापित अन्ततः बर्खास्त गरिए । मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई हटाइछाडे । स्थापितका गतिविधिप्रति लामा समयदेखि रुष्ट मुख्यमन्त्री पौडेल उहाँलाई हटाउने–नहटाउनेबारे छलफल गर्न काठमाडौं आउनु भएको थियो ।
उहाँले प्रधानमन्त्री केपी ओली भेटेर मन्त्री स्थापितको गतिविधिबारे जानकारी गराउनुभयो । स्रोतका अनुसार, ओलीले मुख्यमन्त्री पौडेललाई पार्टीभित्र छलफल गरेर विचार गर्ने बताउनुभएको थियो । साथै, प्रधानमन्त्री ओलीले मन्त्री स्थापितलाई समेत केही नबोल्न भन्नुभएको थियो ।
स्थापित किन बर्खास्त ?
भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितले आफू बर्खास्त भएको जानकारी आएको बताए पनि अन्य विषयमा खुल्न चाहनुभएन । उहाँले पार्टीभित्र छलफल गरेरमात्रै आफ्नो प्रतिक्रिया सार्वजनिक गर्ने बताउनु भएको छ । प्रदेश नम्बर ३ का एक मन्त्रीले जनता समाचार डटकमसँग कुरा गर्दै मन्त्री स्थापितलाई दशैँअगाडि नै जिम्मेवारीमुक्त गराउने बिषयमा छलफल भएको बताउनुभयो । उहाँको कार्यशैलीलाई लिएर मुख्यमन्त्री पहिलेदेखि नै असन्तुष्ट रहेको ती मन्त्रीको भनाइ छ ।
प्रदेश नम्बर ३ का अधिकांश मन्त्रीले स्थापितले भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट गर्नुपर्ने धेरै योजना ओझेलमा पारेको आरोप लगाउँदै आएका थिए । ठूलो बजेट रहेको मन्त्रालय भए पनि मन्त्री स्थापितले कामै नगरेको उनीहरुको आरोप थियो । पटक–पटक मन्त्री स्थापितलाई सुध्रिन मुख्यमन्त्रीले सुझाव दिँदा पनि उहाँको कार्यशैलीमा कुनै परिवर्तन नआएको ती मन्त्रीले बताउनुभयो । मन्त्री स्थापितको अन्य मन्त्रीहरु शालिकराम जमरकट्टेल, कैलाश ढुंगेल र दाबा लामासँग कहिल्यै राम्रो सम्बन्ध हुन सकेन ।
यति छिट्टै बर्खास्तीको ‘डिसिजन’ कसरी ?
मन्त्री स्थापितलाई सुध्रिन धेरै मौका दिइएको थियो । जतिसुकै प्रयास गर्दा पनि उहाँको कार्यशैलीमा कुनै परिवर्तन आएन । प्रदेश नम्बर ३ मा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री डोरमणि पौडेल र स्थापितबीच विवाद भएको थियो । मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितको मन्त्रालयबाट हुने विकास निर्माणका काम नभएको र सुस्तता आएको बताउनुभएको थियो । तर, स्थापितले त्यसको जवाफ दिँदै बिना काममा आफूलाई आरोप नलगाउन भन्नुभएको थियो । मुख्यमन्त्री पौडेलले शान्त भएर आफ्नो कुरा सुन्नुपर्ने भन्दै बताए पनि स्थापित आक्रोशित मुद्रामा आउनु भएको ती मन्त्रीले जानकारी दिनुभएको छ ।
स्रोतका अनुसार स्थापितले मुख्यमन्त्री पौडेलमाथि गरेको व्यवहारप्रति मन्त्रीहरु रुष्ट भएका थिए । प्रमुख सचिवकै अगाडि मुख्यमन्त्रीलाई बेइजती गर्नु राम्रो नहुने भन्दै मन्त्रीहरुले स्थापितका विषयमा सोच्नुपर्ने बताएका थिए । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बसेको मुख्यमन्त्रीसहितको अनौपचारिक बैठकले स्थापित हटाउनुपर्ने विषयमा छलफल गरेको थियो । लगत्तै मुख्यमन्त्री पौडेल सोही सन्देश बोकेर काठमाडौं आउनु भएको हो । अन्ततः हेटौँडा नगरपालिकाका तत्कालीन मेयर रहेका मुख्यमन्त्री पौडेलले काठमाडौंका तत्कालीन मेयर स्थापितलाई ‘साइड’ लगाइदिनु भयो । प्रदेश सरकारमा बर्खास्तमा पर्ने मन्त्रीमा स्थापितले आफ्नो नाम लेखाएका छन् ।