काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसँग पराजय भोगेको एक वर्षपछि नेपाली कांग्रेसले बोलाएको महासमिति बैठकसमेत निर्धारित समयमा हुन नसक्ने देखिएको छ । आवश्यक तयारी नपुगेकाले बैठक सार्ने तयारी भइरहेको छ भने नेताहरुको ध्यान चैँ १४ औँ महाधिवेशनतिर मोडिइसकेको छ ।
शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलो दल बनाएर मात्रै नेतृत्व छाड्ने उध्घोष गर्नु भयो । यसअघि पनि सभापति देउवाले कांग्रेसलाई पहिलो दल बनाएर मात्रै नेतृत्व छाड्ने बताउँदै आउनु भएको थियो । अर्थात्, स्वयम् पार्टी सभापति देउवालाई समेत महाधिवेशनको रन्कोले छोइसकेको छ ।
महामन्त्री शशांक कोइरालासहित तीन कोइराला नेता त आफूहरुबाटै सभापति बन्नेगरी तयारीमा जुटेका छन् । थुप्रै पटक छलफलपछि तीन नेताले सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि महाधिवेशन केन्द्रित गतिविधि शुरु गरिसकेका छन् । नेता पौडेलले गत महाधिवेशनमा सभापति देउवा प्यानलबाट महामन्त्री लडेका अर्जुन नरसिंह केसीलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न सार्थक बनाउन कसरत गरिरहेका छन् ।
https://www.youtube.com/watch?v=H7GOCke72Oo
१३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार कृष्णप्रसाद सिटौलाले पनि आफूलाई ‘सेफ ल्याण्डिङ’ हुनेगरी समीकरणको जोडघटाउ थाल्नुभएको छ । अन्य, नेताहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डाक्टर रामशरण महतलगायतका नेता पनि ‘क्लियर पोजिसन’ का खातिर दौडधूपमा जुटेका छन् । सभापति देउवा पोलका नेताहरु भने फेरि पनि देउवालाई नै सभापति दोहो¥याउने यत्नमै छन् ।
नेता सिटौलाको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेर सम्मानजनक मत ल्याएका युवा नेता गगन थापा खुलेर सभापति देउवाको विरोधमा उत्रिएको देखिएका छन् र अब विजित महामन्त्री हुने गरी उम्मेदवार बन्ने तयारीमा छन् । तर, यसपटक सिटौला सभापति नलड्ने अवस्थामा गगन थापा जसले महामन्त्री दिन्छन्, त्यही प्यानलमा पुग्ने अनुमान पनि छ ।