काठमाडौं ।
मितिः २०७१ कात्तिक १६ गतेस्थानः प्रज्ञाभवनकार्यक्रमः आदिवासी जनजाति राष्ट्रिय आन्दोलन घोषणाआन्दोलन नेतृत्व गर्न तयार नेता पद्मरत्न तुलाधर मञ्चमै रोए
गुगल सर्चमा अक्सर पद्मरत्न तुलाधर रोएको यही समाचार बढी भेटिन्छन् ।
नेपाली राजनीतिमा बेलाबखत रुने नृता अरु पनि छन् तर पटकपटक रुने नेताको छवि भने तुलाधरकै बनेको छ । २०६२ अघि शान्तिवार्ताका लागि सरकारलाई दबाब दिन देशव्यापी नागरिक अभियान चल्यो । पद्मरत्न तुलाधर, दमननाथ ढुंगानालगायतका अभियन्ता देशभर सभा गर्दै हिँडे । जहाँ जहाँ पुगे, त्यहाँ पद्मरत्न रोएको सम्झनेहरु कम छैनन् । सम्बोधन गर्दागर्दै पद्मरत्न तुलाधरका आँखा रसाइहाल्थे । उनी रुँदै सम्बोधन सकाउँथे । आसय हुन्थ्योः ‘जनता यसरी नै रोइरहेका छन् । विद्रोही र सरकार वार्तामा आउनु पर्छ ।’
पद्मरत्न रोएको पहिलो घटना राष्ट्रिय पञ्चायतको हो । जनपक्षीय उम्मेदवार तुलाधर राष्ट्रिय पञ्चायतमा बोल्दाबोल्दै रुन थाल्थे । किन रोएको भनेर सोधिन्थ्यो । पद्मरत्नको जवाफ हुन्थ्योः बाहिर जनता पञ्चायतबाट आजित भएर यसरी नै रोइरहेका छन्, आजै बहुदल घोषणा गरौँ । बोल्न, लेख्न बन्द गरिएको पञ्चायतमा मान्छे नरोएर के गरोस्, अर्का जनपक्षीय नेता रुपचन्द्र विष्टको तर्क थियो ।
शान्ति सम्झौता, २०६३ ताका । सरकारका तर्फ गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षबाट तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सम्झौता भयो । यसपछि माओवादी सरकारमा आयो ।
लगत्तै एउटा कार्यक्रममा माओवादी र एमालेका नेता सँगै भए । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल अतिथि थिए । त्यहाँ वक्ता थिए पद्मरत्न । उनले भाषणमा भने, ‘तपाईंहरु पहिले मिलेका भए कांग्रेसको हातमा शासन नै जाने थिएन । देश यस्तो हुन्थेन ।’ पद्मरत्न फेरि रोए । अर्थात् पद्मरत्नको परिचय नै रुन्चे नेताको बन्यो तर सधैँ जनता र सुशासनका लागि रोए । एमालेइतरबाट चुनाव जित्ने एमाले नबन्ने, माओवादीलाई शान्तिपूर्ण वार्तामा ल्याउने तर माओवादी नबन्ने परिचय तुलाधरको अर्को सुन्दर गहना हो । यिनै नेता अधिकारवादी तुलाधर १८ कात्तिकमा ब्रेन ह्याम्रेजबाट महाप्रस्थान गरेका छन् । श्रद्धासुमन । भावपूर्ण श्रद्धाञ्जली ।