संयोग नेपालकाठमाडौं । हास्य कलाकार शुरवीर पण्डितलाई धेरैले ‘दारी बा’ भनेर चिन्छन् । अधिकांशलाई त उनको वास्तविक नाम नै थाहा छैन । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट ‘दारी बा’ को परिचय बनाएका शुरवीर विगत लामो समयदेखि नेपाली कलाकारितामा सक्रिय छन् ।
राजधानीको बुढानिलकण्ठमा बस्ने शुरवीरलाई टेलिभिजनको पर्दामा हेर्दा जति सामान्य देखिन्छन् बाहिर पनि उस्तै सरल छन् । सबैसँग नरम भएर बोल्नु उनको पहिचान र गहना हो । हरेक वाक्यमा ‘हजुर’ मिसाएर बोल्ने शुरवीरलाई नेपाली कला क्षेत्रमा मन नपराउने सायदै होलान् । तर उनको व्यक्तिगत जीवनमा उनकै श्रीमतीले मन पराइनन् ।
कुरा २०४० सालको हो । वैशाख महिनामा धुमधामका साथ शुरवीरको विवाह भयो । तर विवाह भएको दुई महिना बित्न नपाउँदै अग्नि साक्षी राखेर भित्र्याएकी श्रीमतीले उनलाई छाडिन् । पहिलो श्रीमतीले छाडेको २ वर्षसम्म विवाह नगरी बसेका शुरवीरले त्यसपछि अर्को विवाह गरे । दोश्रो विवाह भने पहिलोजस्तो धुमधाम भएन । शुरवीरले दोश्रो विmवाह कान्छीमायासँग सुटुक्क गरे ।
एक अन्तर्वार्तामा शुरवीरले पहिलो श्रीमतीले छाड्नुको कारणबारे बताएका छन् । आफ्नो पहिलो श्रीमतीलाई शुरवीरले दूरदर्शीको संज्ञा दिएका छन् । ‘उहाँ एकदमै दूरदर्शी हुनुहुँदो रैछ,’ पहिलो श्रीमतीबारे टिप्पणी गर्दै शुरवीर भन्छन्, ‘२ महिनासम्म मलाइ अध्ययन गनुभयो, योसँग जिन्दगी बिताउँदा रमाइलो हुदैँन भन्ने लागेछ क्यारे, त्यसपछि छाड्दििनुभयो ।’ शुरवीरका ३ छोरी र १ छोरा छन् । जसमध्ये २ छोरीको विवाह भइसक्यो भने बाँकी २ पढ्दैछन् ।
शुरवीर घरपरिवारप्रति गैरजिम्मेवार भएको उनी आफैँ स्वीकार्छन् । ‘म त एकदमै गैरजिम्मेवार छु, घरव्यवहारबारे मलाइ थाहा नै हुदैँन,’ छोरा के बनोस् भन्ने प्रश्नको जवाफमा शुरवीर भन्छन्, ‘छोरो अशल नागरिक बनोस्, तर म जस्तो गैरजिम्मेवारचाँहि नबनोस् ।’ अचेल शुरवीर घरपरिवारलाई जानकारी दिएर मात्र बाहिर निस्कन्छन् । सकेसम्म जिम्मेवार बन्ने प्रयास गर्छन् ।
शुरवीर पण्डित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा काम गरिरहेका छन् । उनी ‘मेरी बास्सै’को साथमा अन्य चलचित्र र टेलिचलचित्रहरुमा पनि विभिन्न भूमिकामा देखिन्छन् । यस्तै उनी विभिन्न विज्ञापनमा पनि देखिन्छन् । पहिला रेडियो नेपालको शनिबार प्रसारण हुने नाटकमा पनि शुरवीर पण्डितको उस्तै लोकप्रियता थियो ।